नेपाल र नेपालीको विशिष्टता बचाऔं

२२ बैशाख २०७१, सोमबार मा प्रकाशित

नेपाल हिन्दू राष्ट्र नभएकै दिनदेखि गोवध सामान्य जस्तै हुन थालेको छ । त्यसअघि तत्कालीन नेपालको संविधान २०४७ ले गाईलाई राष्ट्रिय जनावर स्वीकार गरेको थियो र गोवंशको हत्या प्रतिबन्धित थियो । तर अहिले न हिन्दू राष्ट्र रह्यो, न २०४७ को संविधान नै, न त नयाँ संविधान आउन सक्यो । यस्तो समय राजनीतिको भाषामा संक्रमणकाल भनिएला र सबै अवस्थाहरु त्यसकै पुच्छरमा टाँसेर सामान्य ठान्ने मानसिकताको विकास गरिएको छ ।
संसारमा कैयौ इस्लाम राष्ट्र छन् भने कति इसाई वा बौद्ध, सिन्तो जस्ता धर्महरु संविधानले स्वीकार गरेकाहरु पनि छन् । नेपालमा २०६३ साल अघिसम्म विश्वको एक मात्र हिन्दू राष्ट्रको परिचय बोकेको स्वतन्त्र राष्ट्रका रुपमा थियो । दोस्रो जनआन्दोलनको परिणामसँगै भएको राजनीतिक परिवर्तनका नाममा मुद्दा नै नभएको धर्म निरपेक्षताको पगरी बाँधेर भएको एउटा परिचय र विशिष्टता ठूला राजनीतिक दल भनिने र तिनका शीर्ष नेताहरुले कसै प्रभुहरुलाई बुझाए ।
धर्म निरपेक्षताको नाममा मुलुकलाई अहिले इसाईकरणको तीब्र दौडमा उभ्याइएको छ । इसाई धर्म प्रचारकहरु लोभ, लालच र त्रास बाँडेर सोझा, निर्वल, निमुखा र निर्धन नेपालीलाई धर्म परिवर्तन गर्ने पेशेवर नाइके बनेर गाउँ–गाउँ छिराइएका छन् । त्यही निरपेक्षताका आडमा गोवंशमाथि आक्रमण र हत्यासम्मको अपराध गरिँदैछ । अझ शहर बजारहरुमा ‘मासु–मासु नै हो’ भन्ने प्रचार गरेर नेपालीको आस्था विटुल्याउन स्थानीय होटल व्यवसायीहरुले पनि सहयोग गरिरहेका छन् ।
नेपालमा प्रतिबन्ध गरिएको गोमांश सीमावर्ती भारतीय बजारबाट नेपाल भित्र्याउने र ठूला होटलहरुमा सस्तोमा बेचेर आर्थिक लाभ लिन पल्किएका व्यापारीहरुले इमान बेचेकै कारण गोमांशका व्यापारी तथा आयातकर्ताहरु पल्किन थालेका छन् । त्यसको पछिल्लो उदाहरण काँकरभिट्टा नाकाबाट नेपाल भित्र्याइँदै गरेको गोमांश चारआलीमा चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको मासुको परिमाण रहेको छ । काँकरभिट्टाबाट बिर्तामोड ल्याइपुर्याउन लागेको दुई क्वीन्टल गोमांश प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
प्रचलित कानूनले गोमांशको आयातमा प्रतिबन्ध लगाए पनि शहरी क्षेत्रमा यसको व्यापार भइरहेको सूचना सञ्चार क्षेत्रले समय–समयमा सार्वजनिक गर्दै आएको छ । तर यसको आायत रोकिएको छैन र तस्करहरु हतोत्साहित पनि भएका छैनन् । यस्तो अवस्थाले सीमा क्षेत्रमा रहेका क्वारेन्टाइन पोष्टहरु निरर्थक मात्र बनिएका छैनन् होटल र पसलबाट मासु खरिद गर्नेहरु असुरक्षित बन्दै गएका छन् ।
हिन्दू मान्यता अनुसार बर्जित गोमांश अरुहरुका लागि बर्जित हुन सक्छ । खासगरी इसाई धर्मावलम्बीहरुले चेतना, धन र सिपमा पछि पारेका सोझा नेपालीलाई फकाइ–फुल्याई धर्म परिवर्तन गराउने र हिन्दू धर्मले बर्जित गरेको आचार तथा बस्तुहरुलाई स्वीकार्न लगाई हिन्दूत्व माथि आक्रमण गरिरहेको गतिलो प्रमाण बनेको छ – गोमांश बरामदको घटना । यसतर्फ सम्बद्ध निकाय समयमै सचेत नहुनेले भने नेपाल र नेपालीको विशिष्टता धरासायी हुन समय लाग्दैन । logo-of-purwanchal

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here