स्वामी प्रपन्नाचार्य काले राई को अवसान

१९ भाद्र २०७२, शनिबार मा प्रकाशित

kale rai copy Untitled-1 copyवि.स. १९८० मंसीर ८ गते पाँचथर लालीखर्क बरडाँडामा बाबु धुम्बे राई (खड्गबहादुर) र आमा दिलमाया राइनीका कोखबाट जन्मनु भएका स्वामी प्रपन्नाचार्य ‘काले राई’ बाबाको वि.स. २०७२ भदौ ४ गते ९२ बर्षको उमेरमा काठमाडौं मृगस्थलीस्थित उहाँकै निवास धर्मशालामा निधन भएको छ । मेरो उहाँसितको पहिलो भेट शनिश्चरे माविमा वि.स. २०३६ मा भएको हो । त्यो बेला उहाँको प्रशिद्ध पुस्तक ‘बेदमा के छ ?’ भन्ने छापिएको थियो र त्यही किताब विक्री वितरणको सिलसिलामा उहाँ हाम्रो स्कूलमा आउनुभएको रहेछ । तत्कालीन प्रधानाध्यापक मोहन जोशीले मलाई त्यो किताब हेरेर पुस्तकालयमा किनेर राख्न भन्नुभयो । मैले त्यसै गरें । किताबबाट उहाँको परिचय भयो । त्यसपछि उहाँ आफ्नै धुनमा हिंड्नुभयो । पछि उहाँसित मेरो दोस्रो भेट वि.स. २०४० असारमा पथिक कवि लक्ष्मीप्रसाद आचार्य र पं. गुरु छविलाल पोखरेलद्वारा भयो । त्यो बेला उहाँहरु हाल मेचीनगर नगरपालिका बडा नं. १२ जोरसिमलमा मेरा दाजुहरुका घरमा मलाई भेट्न आउनुभएको रहेछ । मैले मेरा माइला दाजु लक्ष्मीप्रसादका घरमा उहाँहरुलाई भेटें । मेरा जेठा दाजु हरिप्रसाद र माइला दाजु लक्ष्मीप्रसादले उहाँहरुको राम्रो सत्कार गर्नु भयो । उहाँहरु दुई दिन हाम्रा माइला दाजुका घरमा बस्नुभयो । माइली भाउजू धनकुमारीले पकाएको भात हामी सबैले एउटै लहरमा बसेर खायौं । उहाँहरुले धेरै धार्मिक र नैतिक व्याख्याहरु गर्नुभयो । गाउँका केही व्यक्तिहरु पनि भेला भए । हाम्रो ठूलो आँगनमा उहाँले नैतिक प्रवचन दिनुभयो । ‘जात, पात, भात केही होइन । हामी सबै मानव एकै हौं’ भन्ने महत्वपूर्ण प्रवचन दिनुभयो । त्यहाँ राई बाबाको परिचय गराउँदै पं. छविलाल पोखरेलले भन्नुभएको थियो– ‘उहाँ चार वेदका व्याख्याता बैदिक सनातन हिन्दू धर्मका ज्ञाता एवम् ठूला समाज सुधारक हुनुहुन्छ ।’
त्यो दिन राई बाबाले नेपालीहरुका धर्म, संस्कृति, इतिहास र परम्पराका बारेमा विषद व्याख्या गर्नुभएको थियो । अहिले हामी आदरणीय विद्वान सत्यमोहन जोशीलाई ‘संस्कृतिविद्’ भन्दछौं । राई बाबा उहाँभन्दा एक सिँढीमाथि संस्कृतिविद्, इतिहासविद् र बेदका मर्मज्ञ हुनुहुन्थ्यो’ भन्ने मैले ठानेको छु ।
त्यो दिन उहाँहरु ‘किराँतेश्वर’ नामक पत्रिका निकाल्ने सन्दर्भमा पूर्व घुम्ने सिलसिलामा मलाई भेट्न आउनु भएको रहेछ । मैले पनि सक्दो सहयोग गर्ने वचन दिएँ । पछि उहाँकै प्रधान सम्पादकत्वमा ‘किराँतेश्वर’ पत्रिका निकाल्नु भयो । त्यसमा मेरो पनि ‘नेपाली संस्कृति’ नामक लेख छापिएको छ ।
स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ ?’ भन्ने पुस्तक अत्यन्त महत्वपूर्ण र उच्च कोटीको पुस्तक हो । त्यस बाहेक उहाँले थुप्रै पुस्तकहरु लेख्नुभएको छ । उहाँले ‘किराँत’को इतिहास खोजपूर्ण तरिकाले लेख्नुभएको छ । उहाँ किराँतहरु मूलतः आर्य नै हुन् भन्नुहुन्थ्यो । कसैले प्रमाण खोज्दा उहाँ हाँसेर भन्नुहुन्थ्यो– प्रत्यक्ष किं प्रमाणम् भन्दै ‘भृृङ्गी ऋषि को थिए ?’ भनेर प्रतिप्रश्न गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘इमासिंह चेम्जोङले किराँतहरुको इतिहास त लेखेका छन् तर अलि बङ्ग्याएर लेखेका छन् । उनी अंग्रेजी भाषाका विद्वान हुनाले र क्रिस्तानहरुका संगतले गर्दा त्यसो भएको हुन सक्छ । हामी किराँतहरु हिमाल पारी मंगोलियातिरबाट वा दक्षिण पूर्व बर्मातिरबाट आएका जाति होइनौं ’ उहाँ यी कुरा प्रमाणिकताका साथ भन्नुहुन्थ्यो । उहाँ योगी नरहरिनाथको भनाइ– ‘थरि, थानी र रैथानी स्थानीयै छौं सबै जना’ लाई शतप्रतिशत स्वीकार्नु हुन्थ्यो । त्यस्तै उहाँको विचार पं. छविलाल पोखरेल र पथिक कवि लक्ष्मीप्रसाद आचार्यसित गर्न मिल्थ्यो । उहाँहरुले राई बाबासित मिलेर धरानमा राई बटुकहरुलाई बैदिक विधि अनुसार उपनयन संस्कार गराउनुभयो । ब्रह्म गायत्री मन्त्रद्वारा दीक्षित गराउनुभयो । त्यो कार्य देखेर हाम्रा समाजका पुरातन पन्थीहरु, पुराण पन्थीहरु रिसाए । उहाँको ठूलै आलोचना गरे । तर उहाँले त्यस्ता कुराको बास्तै गर्नुभएन । उहाँ सम्पूर्ण नेपाली समाजलाई ज्ञान दिलदासको जस्तो जस्मनि सन्तपरम्परामा ढाल्न चाहुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नो मार्गमा विचलित हुनुभएन । राई बाबा भन्नुहुन्थ्यो– ‘सम्पूर्ण संस्कारका मानवहरु मनुका सन्तान हुन् । स्थान विशेषले, काम विशेषले कालो, गोरो, गहुँगोरो, अग्लो, होचो, थेप्चो, चुच्चो, नेप्टो व्यक्तिहरु हुन सक्छन् । तर, त्यसको मूल एउटै हो ‘मनु’ । जस्तो हिमाल पानीको मुहान हो । तर, सम्पूर्ण हिमाल क्षेत्रबाट निस्कने पानीको एउटै स्वाद हुँदैन । स्थान अनुसारका खनिजमा मिसिएर भिन्नभिन्न स्वाद हुन्छ । त्यस्तै हो हामी पृथ्वीका मानवहरु ।’ अझ बेदको कुरो भन्दै थप्नु हुन्थ्यो– ‘माता मे पृथ्वी, पुत्रोहं पृथ्वीव्य ।’
उहाँ साह्रै सरल स्वभावको व्यक्ति हुनुहुन्थ्यो । उहाँ भन्ने गर्नुहुन्थ्यो– हामी साह्रै गरीब परिवारका मानिस हौं । मैले सानैदेखि बाबु आमासित काम गरें । आमाले मलाई ‘काले’ भन्नुहुन्थ्यो । मलाई आमाले राखेको यही नाम प्रिय लाग्छ । मैले बाबु र गाउँलेहरु सित भारी बोकेर धरानबाट नुन खेपे ढाकरमा । झापा शनिश्चरेबाट, इलामबाट नुनका ढाकर बोकियो । कहिले दार्जीलिङबाट ढाकरमा कपडाको भारी बोकियो । त्यति गर्दा पनि खान पुग्दैनथ्यो । दुःख सुख जीवन वित्दै थियो । एक पटक म पाँचथर रविमा आफन्तको घरमा काम सघाउन बसेको थिएँ । त्यी बेला दामोदर खतिवडा नामका एक व्यक्ति रविमा आए । तिनले संस्कृत पढ्न इच्छा राख्नेहरुलाई काशी बनारसमा लगेर लाउन, खान, बस्न दिएर संस्कृत पढाई दिने कुरो गरे । म उनैसित गएँ । उनले मलाई काशीमा लगेर रामानुज सम्प्रदायका गुरु त्रिदण्डि स्वामीका जिम्मा दिए । त्रिदण्डि स्वामीले मलाई दीक्षा दिएर, दीक्षित गरेर मेरो नाम रामकृष्ण प्रपन्नाचार्य राखिदिनुभयो । त्यो बेला मेरो उमेर ३० बर्ष पुगेको थियो । त्यस दिनदेखि म मेरी आमाको प्यारो ‘काले’ प्रपन्नाचार्य भएँ । तीनै गुरुको आश्रममा पढ्दै गएर मैले ‘बेदमा के छ ?’ भन्ने विषयमा विद्यावारिधि गरें ।’
त्यसपछि उहाँ नेपाल फर्कनु भयो । राष्ट्रप्रेमले उहाँलाई नेपाल फर्कायो । नेपाल फर्केपछि उहाँ समाज सुधारको कार्यमा लाग्नुभयो । उहाँले धरानका पं. छविलाल पोखरेलको साथ पाउनुभयो । पछि राष्ट्रगुरु योगी नरहरिनाथसित सम्पर्क भयो । उहाँ योगीसँगै काठमाडौं पशुपति क्षेत्र मृगस्थली बस्न थाल्नुभयो । उहाँको विद्वत्वको कीर्ति सबैतिर फैलिन थाल्यो । त्यसैले उहाँलाई तत्कालीन राजसभा स्थायी समितिको सदस्यमा मनोनित गरियो । त्यसै समयमा उहाँले विश्वका विभिन्न राष्ट्रहरुको भ्रमण गर्नुभयो । विश्वरभर उहाँले बैदिक ज्ञानको प्रचारप्रसार गर्ने मौका पाउनुभयो । विश्वले पनि उहाँलाई चिन्यो । उहाँ बैदिक बाङ्मयलाई विश्वमा चिनाउने मध्ये एक हुनुभयो । उहाँ हामी नेपालीहरुका धार्मिक संरक्षक हुनुहुन्थ्यो । उहाँ बैदिक सनातन धर्मका परिपोषक हुनुहुन्थ्यो । उहाँ किराँत कुलको कुलदीपक हुनुहुन्थ्यो । उहाँ पूर्वीय संस्कृति दर्शनका व्याख्याता हुनुहुन्थ्यो । उहाँ बैदिक बाङ्मयका विसारद हुनुहुन्थ्यो । उहाँ नेपाली समाजलाई बेदको माध्यमद्वारा एउटै ठाउँमा जोड्ने कडी हुनुहुन्थ्यो । यस्ता सन्तको निधनबाट राष्ट्रलाई र बौद्धिक जगतलाई अपुरणीय क्षति भएको छ ।
कालले हाम्रा ठूल्ठूला धार्मिक व्यक्तित्वलाई क्वाप्प–क्वाप्प पार्दैछ । राष्ट्रगुरु योगी नहररिनाथलाई क्वाप्प पा¥यो अनि आज फेरि डा. स्वामी प्रपन्नाचार्यलाई क्वाप्प पा¥यो । यसरी हाम्रा विद्वत शिरोमणिहरु सिद्धिदै जाँदा हाम्रो नैतिक धरातलमै ठूलो पहिरो गएझैं भएको छ । तर के गर्नु ? प्रकृतिको नियम स्वीकारेर रहनुपरेकै छ । यस दुःखद् घडीमा हाम्रा समाजका महान महर्षि डा. स्वामी प्रपन्नाचार्य (काले राई) प्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।
तुतवारी, झापा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here