सम्पत्तिमा महिलाको बढ्दो स्वामित्व

२९ मंसिर २०७२, मंगलवार मा प्रकाशित

झापाका महिलामा सम्पत्तिको स्वामित्व बढ्दै गएको पाइएको छ । सरकारको नयाँ नीतिले महिलाको स्वामित्वमा पैतृक सम्पत्ति जुट्न सहज बन्दै गएको हो । महिलाको नाममा जग्गा पास गर्दा भू–वनावटका आधारमा नगरपालिकामा दर्ता गर्दा पच्चीस प्रतिशत, गाविसमा तीस प्रतिशत छुट दिने व्यवस्था छ । यसअघि पैतृक सम्पत्ति पुरुषको नाममा मात्र हुन्थ्यो भने अहिले महिलाको नाममा जग्गा दर्ता गर्ने र गराउने प्रचलन बढ्न थालेको छ ।
भूमिसुधार व्यवस्था विभागका अनुसार केही वर्षअघिसम्म महिलाका नाममा जग्गा रजिस्ट्रेशन दर्ता गर्नेको संख्या २५ प्रतिशतभन्दा थिएन । अहिले त जग्गा धितो राख्ने, बन्धक राख्ने, रोक्का गर्नेलगायतमा ४० प्रतिशत महिला रहेका छन् । विभागको तथ्यांकमा पछिल्लो तीन आर्थिक वर्षमा देशभर कूल १ अर्ब १२ करोड १७ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जसमा महिलाले मात्रै २ करोड २४ लाख ८ हजार ४ सय ६१ रुपैयाँ छुट पाएका छन् । झापामा बितेको वर्ष कूल पास भएका जग्गा मध्ये २५ प्रतिशत महिलाको नाममा भएको तथ्यांकले देखाएको छ । यो अघिल्ला वर्षको भन्दा उल्लेख्य वृद्धि भएको अवस्था हो । यसले सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको पुष्टि गर्छ ।
दोस्रो जनआन्दोलन र संविधानसभाको निर्वाचन तथा ल्याएको परिवर्तनसँगै नयाँ संविधानमा भएको व्यवस्था बमोजिम आज हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएको छ । मुलुकको सर्वोच्च पद ‘राष्ट्रपति’ तथा सभामुखमा समेत महिला पुग्नुले जनसंख्याको हिसाबले आधा बढी हिस्सा ओगटेका महिला अधिकार सम्पन्न बन्दै गएको महशुस गर्न थालेका छन् । यसअघिसम्म दोस्रो दर्जाको नागरिकको रुपमा रहेको भन्दै महिलाले अधिकारका लागि आवाज उठाउँदै आएका थिए । सबै क्षेत्रमा समान सहभागितासँगै सम्पत्तिमा पनि समान अधिकार एवम् हक आजको आवश्यकता हो । दम्पत्तिबीच सम्पत्तिमा समान हक । अझ महिलाको नाममा राखिने सम्पत्तिले उनीहरुको आत्मविश्वास बढेको पाइन्छ, यसले परिवारमा पनि सकारात्मक बातावरण निर्माणको भूमिका खेलेको छ । कतिपय अवस्थामा यसले विकृति पनि जन्माएको छ । यद्यपि महिलालाई समान हक दिएर आत्मबल बढाउन सम्पत्तिको स्वामित्व महिलामा बढ्नु सकारात्मक पक्ष हो । सरकारले पनि महिलाका नाममा जग्गा पास गर्दा छुट दिने व्यवस्थाले अझ सहज भएको छ । तर यो व्यवस्था बारे अझै पनि अधिकांश ग्रामीण तथा सहरिया महिला समेत अनविज्ञ छन् । यस बारे सचेतनाको पनि उत्तिकै खाँचो छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here