प्रदुषण नियन्त्रण गर्न स्वयम् लागौं

५ पुष २०७२, आईतवार मा प्रकाशित

ट्राफिक प्रहरीले ध्वनि प्रदुषण नियन्त्रणका लागि अभियान चलाए पनि प्रभावकारी हुन नसकेको सम्बद्ध स्रोतले जनाएको छ । मानवीय क्रियाकलापकै कारण पृथ्वीको तापमान बढ्दै जलवायु परिवर्तनको प्रतिकूल असर भोग्न तयार रहनुपर्ने अहिलेको अवस्थामा विश्व समुदाय प्रदुषण नियन्त्रणको अभियानमा जुटेको छ । यही बेला भौतिकताको उपभोग गरी सुख बटुल्ने होडले नेपाली समाज प्रतिकूलता सृजना गर्न कस्सिएको छ । यसकै परिणाम हो नेपालका सुगम क्षेत्रमा यातायातको बढ्दो चाप ।
एकातिर निजी सवारी जोडेर परनिर्भरता बढ्दैछ भने अर्कातिर मुद्राको बहिर्गमनले दरिद्रता बढाउँदैछ । उत्पादन बिनाको उपभोगले निम्त्याएको आर्थिक संकट र परनिर्भरतासँगै बढेको प्रदुषणको अवस्था त झनै कहालिलाग्दो छ । यसै क्रममा ट्राफिक प्रहरीले ध्वनि प्रदुषण नियन्त्रण गर्न ‘प्रेसर’ हर्न प्रयोग नगर्न अनुरोध ग¥यो । विद्यालय, अस्पताल लगायतका केही क्षेत्रहरुलाई हर्न निषेधित तोकिएको छ तर सवारी चालकहरुले त्यसको पालना गरेका छैनन् । यसले पार्ने असरका बारेमा अनभिज्ञ र लापर्वाही गरिँदा उत्पन्न असरलाई नाप्ने कुनै इकाई नै छैन ।
मानव स्वास्थ्य र भविष्य हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसको रक्षाका लागि स्वयम् सचेत हुनुपर्छ । यस्तो सचेतता जनताको अभिभावक भएका कारण सरकारले त्यसपछि सरोकारी निकायले, चालकले र प्रत्येक नागरिकले देखाउनुपर्छ । ध्वनि प्रदुषणबाट उत्पन्न हुने समस्याको निधान गर्न प्रथमतः हर्न नियन्त्रण, सडकको स्तरोन्नति र ट्राफिक चेतना प्रवाह गर्न जरुरी छ । ‘मन्द विष’ जस्तो प्रदुषणको समस्याबाट मुक्त हुन ट्राफिक प्रहरीसँगै यातायात व्यवस्था विभागले सक्रिय उपस्थिति जनाउन ढिला गर्नु हुँदैन ।
त्यसो त ध्वनि प्रदुषण उत्पन्न गर्ने कारक तत्वभित्र पुराना गाडीको सञ्चालन पनि एउटा हो । यसका लागि राष्ट्रिय नीति आवश्यक छ र कार्यान्वयनमा इमान्दारिता त्यत्तिकै जरुरी छ । सँगसँगै जनघनत्व बढी भएका ठाउँ, बजार तथा शहरहरुमा बायु, जमिन तथा जल प्रदुषण पनि त्यत्तिकै समस्या बनिएको छ । खास गरी मेची अञ्चलकै केन्द्रका रुपमा रहेको बिर्तामोड नगरपालिका र त्यसको पनि बिर्ताबजारदेखि बिर्तामोड चोकसम्मको क्षेत्र नेपालकै उत्कृष्ट प्रदुषित क्षेत्रमा पर्ने होडमा छ । यहाँको जीवन जस्तै रहेको अन्धुवा खोला यहाँका तथाकथित भद्रहरुको ‘डम्पिङ साइड’ बनिएको छ भने विर्ताबजार खण्डको सदरमुकाम जोड्ने सडक बर्षैदेखि भत्किएर धुलोको आकाश बनिँदा स्थानीयवासी मात्र होइन सो सडक भएर हिंड्ने हजारौं यात्रुहरुले भोग्नु परेको पीडा न सडक विभागले, न स्थानीय प्रशासन न त जिल्ला प्रशासन कार्यालयले अनुभव गरेको छ ।
यी सबै खाले प्रदुषण र अव्यवस्थाका विरुद्ध अब स्थानीय युव ा तथा सचेत नागरिकले अग्रसरता देखाउनुपर्छ । स्वस्थ र शान्त जीवन बाँच्न पाउने जनताको नैसर्गिक अधिकारको रक्षा स्वयम्ले नगरेसम्म न सरोकार राख्ने संस्था विउँझन्छ न त सरकारी निकायको ध्यानाकृष्ट हुन्छ । अधिकारको उपयोगका लागि अग्रसरता नदेखाउँदासम्म ‘चुप लाग्ने’ सरकारलाई पनि जनताको आक्रोश र विद्रोह ‘निन्द्रा भङ्ग’ गराउने औषधि हुन्छ भन्ने विर्सनु हुँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here