जिम्मेवारी बोध गर

७ पुष २०७२, मंगलवार मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालयले आइतवार झापाका सरकारी कार्यालयमा गरेको आकस्मिक अनुगमनमा २१ कार्यालयका ६३ कर्मचारी अनुपस्थित भेटिए । कतिपय कार्यालयका त प्रमुख, अधिकृतहरु नै उपस्थित नभएको, त्यसमा पनि उपस्थित कतिले कार्यालय समय पालना नगरेको, तोकिएको पोशाक नलगाएको, हाजिरी खाता अनियमित देखिएको तथ्य पनि सार्वजनिक भएको छ । काज स्वीकृत नगराई काजमा जाने, कार्यालयको काम भनेर बाहिर जाने तर निजी काम र मोजमस्तीमा पनि रमाउने कर्मचारी भेटिने गरेको छ । यसले कर्मचारीमा बढ्दो मनोमानी, गैरजिम्मेवारी प्रष्ट गरेको छ भने सेवाको प्रभावकारिता पनि छर्लङ्ग भएको छ ।
समयमा नआउने, समयसम्म नबस्ने, सेवा दिन आनाकानी र ढिलासुस्ती गर्ने, अतिरिक्त लाभको अपेक्षा गर्ने, फेसबुक र मोवाइलमा कार्यालय समयमा व्यस्त रहने, पोशाक नलगाउने, अनुशासन र मर्यादा भंग गर्ने प्रवृत्ति कतिपय कर्मचारीमा बढेको छ । कतिपय कार्यालयमा कर्मचारी कार्यालयको बार्षिक बजेट र कार्यक्रममा कमिशन खोज्ने, भागवण्डा गर्ने, लक्षित कामका लागि दिएको बजेटबाट कमिशन असुल्ने, आफ्ना–आफन्त र मोटो कमिशन दिनेलाई मात्र खरिद, विक्री, ठेक्कापट्टा दिने, ठेक्कामा कर्मचारी नै अदृष्य पार्टनर बस्ने, प्रवृत्ति पनि उत्तिकै देखिएको छ । कतिपय जग्गा प्लटिङ, व्यापारमा व्यस्त भेटिन्छन् । कतिपय मदिरापान, अनैतिक सम्बन्धमा लिप्त भेटिन्छन् । हाकिमलाई खुशी पारे जे गर्न पाइन्छ भन्ने प्रवृत्ति पनि मौलाएको छ । यसबाट कर्मचारी सेवा प्रति जिम्मेवार होइन जसरी पनि पैसा कमाउने, मोज गर्ने र निजी कामप्रति प्राथमिकता साथ बफादार भेटिएका छन् ।
सबै कर्मचारी खराब हुँदैनन् । असल कर्मचारीको असल कामको सही मूल्यांकन भएन भने पनि खरब मार्ग र निराशातर्फ अग्रसर गराउँछ । असल र अनुशासितलाई प्रोत्साहित, पुरस्कृत गर्दा तथा खराबलाई दण्डित गर्दा खराबी घटेर, हटेर राम्रो बढेर जान्छ । कर्मचारीमा सेवक हुँ भन्ने भावना बढ्छ, जसबाट सेवाप्रतिको जिम्मेवारी बोध भई सेवा प्रभावकारी बन्छ । सेवाग्राहीले सहज र छिटो, छरितो प्रभावकारी सेवा पाउनु कानूनी शासन र लोकतन्त्रको अनुभूति गर्नु हो । यसतर्फ सरोकारवाला निकायका प्रमुख तथा सबै कर्मचारीले आफ्नो कर्तव्यबोधका साथ नागरिकले तिरेको करबाट तलब लिएर सेवामा खटिएको जिम्मेवारी इमान्दार भएर निर्वाह गर्नुपर्छ । अनुशासन, विधि र नैतिकता तोडिदै गएको अहिलेको स्थितिप्रति गम्भीर बन्नुपर्छ । मुलुकको बर्तमान अवस्थालाई पनि दृष्टिगत गरी अहिले सबै कर्मचारीको हृदयमा इमान्दारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here