नेपालको सुदुर पूर्व ताप्लेजुङ ताङखुथुमको सुनटापुदेखि झापाको खयरबारीसम्मको भौगोलिक परिवेशमा समेटिएको कथावस्तु । कथाकी मुख्य नायिका रहेकी सुमैना । कथा पतिको प्रसङ्गमा घरी आसाम पुग्छ त कहिले आफ्ना छोराहरुको प्रसङ्गमा इलाम, धनकुटा, इटहरी, काठमाडौं हुँदै पश्चिम नेपालको भौराहीको जिल्ला प्रहरी कार्यालयतिर पनि फन्को मार्दै गर्छ । पुस्तक प्रकाशनताका पचास, पचपन्न पुगेकी भनिएकी सुमैना राजा महेन्द्रको राज्यभिषेकसँगै २०११÷१२ सालतिर जन्मिएको अनुमान हुन्छ । जेठो छोरो डिल्लु पाँच वर्ष नपुग्दै टुहुरो हुनु, कान्छो छोरो भवानी गर्भे टहुरो भएर जन्मिनु, बुहार्तनको टोकेसो खप्न नसकेर गाउँको पुच्छरमा झुप्रो हालेर गुजारा चलाउन थाल्छिन् सुमैना । अत्यन्त दुःख गरेर दुई छोराहरु हुर्काउछिन् । जेठो छोरो प्रहरीमा भर्ती भएपछि कान्छो भवानीलाई जेठो दाजुले नै सँगै राख्दै पढाउँछ । पञ्चायत कालको अन्तिम वर्षतिर इलाममा जेठाले जागिर खाँदै कान्छालाई क्याम्पस पढाउन थालेदेखि जनयुद्ध हुँदै बृहत शान्ति सम्झौतासम्मको राजनीतिक घटना र चपेटाको परिवेशमा उपन्यासको समाप्ति भएको छ । यथार्थतामा प्रहरीमा जागिर खाँदै सहीसम्मको दर्जामा पुगेको जेठो छोरा डिल्लुको लास हेलिकप्टरले घरमा झारी दिनु, एमएसम्म पढेको कान्छो घरमा आउनु जानु त कता हो कता खबरकै टुङ्गो नहुनु जस्ता घटनाक्रमले सुनटापुमा अति दुःख गरेर बनाएको घर र चलाएको गुजारामा पनि खौलैखौला परेपछि मन थाम्न नसक्ने यथार्थता अनि ठाउँ छोड्नै पर्ने परिस्थितिले झापाको खयरबारीमा ल्याएर बिसाउन बाध्य बनाएको पाइन्छ ।
नेपाली परम्परा, संस्कार, अनि पञ्चायतको अन्त्य, अन्त्य तिरको समयदेखि जनयुद्ध र द्वन्द्वपछिको बृहत शान्ति सम्झौतासम्मको राजनीतिक परिवेशलाई मुख्य रुपमा र तत्कालीन सामाजिक परिवेशलाई सहायक रुपमा लिएर यस उपन्यासको कथावस्तुको स्रोत बनाइएको पाइन्छ । सासु, आमाजुसहितको संयुक्त परिवार र त्यसबाट उत्पन्न परिस्थिति, कालले मर्छ जिब्रालाई दोष भन्ने उखान जस्तै सुमैनाका लोग्ने परदेश गएका समयमा मर्छन् तर दोष सुमैनामाथि लगाइन्छ, पोइ टोकुई भनिन्छ । जो होचो उसैका मुखमा घोचो भन्ने उखानलाई चरितार्थ पारिन्छ । जहीं, तहीं पढ्ने सुविधा नभएको र पढाउन पनि त्यति सजिलो नभएका कारण दाजु डिल्लीले प्रहरीको जागिर पाएर इलाम खटिएपछि एसएलसी उत्तीर्ण गरेको भाइ भवानीलाई पढाउन आफूसँगै इलाम क्याम्पस लैजान्छ । क्याम्पसमा प्रजातान्त्रिक र प्रगतिशील बहस चल्नु, नारा, जुलुस र भाषणवाजी हुनु स्वभाविकै हो । सत्ता र सरकारको पक्षमा रहनु प्रहरीको दायित्व भयो भने बुझेर, विश्लेषण गरेर एउटा राजनीतिक धार समाउनु विद्यार्थीको परिस्थिति बन्यो । विस्तारै विस्तारै नङ र मासुको सम्बन्धमा हुर्किएका दाजुभाइ डिल्लु र भवानीका बीचमा विपरित ध्रुवीय परिस्थति बढ्न थालेको मात्र होइन उत्तरी र दक्षिणी पोल नै बनायो । इलामबाट दाजुको सरुवा पश्चिम नेपालतर्फ भयो भने भाइले बीएसम्मको पढाइ पूरा गरेर काठमाडौंमा एमए अध्ययन गर्न पुग्यो । पढ्दै गरेको भवानी एकाएक भूमिगत हुन गयो भने हवल्दार, असई हुँदै सहीसम्म बढुवा भएको दाजु डिल्लीलाई पूरै प्रहरी विभागले नै शंकाको आँखाले हेर्न थाल्यो । पाउनु यातना पायो, हुँदा–हुँदा ज्यान नै गुमायो । कारण भाइ भवानी नै ठानिएको थियो । उता भाइले सबै माया मारेर मुक्तिका लागि जति नै लडे पनि पार्टी केन्द्रीय तहले जहिल्यै शंका मात्र गरिरह्यो कारण दाजु डिल्लुलाई बनाइयो । हुँदा, हुँदा विवाहपछिको जम्मा एकरात त्यो पनि श्रीमती प्रतिमाको अनुरोधमा तेह्रथुमको वसन्तपुरकी तामाङ्नी दिदीको घरको मझेरीमा बिताएको भवानीले भोजपुर हान्ने जिम्मेवारी पाएको थियो । आमा सुमैनाले यो ठाउँमा बस्न मन लागेन, बरु भाउजु शशीसँगै झापा गएर उनीहरुसँगै बस्ने, फागुन १५ गते बसाईं जाने भन्दा त्यस समयमा भवानीले घरमा आउँछु भनेको थियो । तर भवानी आउन नपाएको कुरा प्रतिमाले एक रात हतारमा आएर बताइन् । सुमैनाले आफ्नै किसिमले बसाईं सारिन् । भवानी सामान लिन धरानतर्फ आएको समयमा पक्राउ परेको खबर उसकै पहाडको गाउँको र पार्टीको साथी तिलहाङले आफ्नी आमा साइली सुब्बिनीलाई धरानको घरमा पुगेर बताउँछ र झापामा गएर उसकी आमालाई सुनाइ दिन अनुरोध गर्दछ । तिलहाङकी आमा भवानीकी आमालाई भेट्न जान्छिन् तर खबर भन्न सक्तिनन् । यद्यपि भवानीले खानसम्मको पिटाई खाएर दुखद् निधन भएको खबर भवानीको परिवारमा आइसकेको हुन्छ ।
अर्म, पर्म गर्दा समेत आँखा गाड्ने र मौका छोप्न खोज्नेहरुसँग डटेर लड्नु एउटी नेपाली महिलाले भोग्नु परेका दर्दनाक यथार्थताको सजीव चित्रण यस त्रिवेणी आमा उपन्यासमा पाइन्छ भने जस्तोसुकै आपद्सँग बुद्धि र साहस दुवै प्रयोग भएको एक बीरङ्गणाको उपस्थिति छ । खेतको व्याड बनाएर च्वान साहिलोलाई वीऊ हान्न बोलाए पछि राति भात खाएर पनि घर जानुको सट्टा त्यहीं सुत्छु भन्दै कर गरेपछि अनेक छाडा घोचपेच गर्ने च्वान साइलालाई सुमैनाले बुद्धि लगाएर माइजुआमा कहाँबाट साथी खोजीदिने भनेपछि फटाफट बाटो लाग्नु, भवानी र प्रतिमालाई टीका लगाई दिएको केही समय पछि खोज्दै आएका सैनिकहरुले जवरजस्ती गर्न लागेपछि चिच्याउँदै जाइलागे पछि गाउँलेहरु भेला भएर सेना पछि हट्नु जस्ता धेरै, धेरै उदाहरणहरु पाइन्छन् । लोग्ने नभएकी महिलाले भोग्नुपरेका दुःख र झिक्नुपरेको साहसको नमूना मान्नु पर्दछ त्रिवेणी आमा उपन्यासलाई ।
यस उपन्यासले २०४५÷४६ साल ताका क्याम्पसमा हुने गरेका विद्यार्थी संगठनहरुका भाषण, नारा र जुलुसलाई तात्कालीन मञ्चमा नै उभ्याए झैं छर्लङ पारेको पाइन्छ भने जनयुद्धमा भूमिगत रहेका कमरेडहरु कसरी जोखिम मोलेर काम गर्दथे भन्ने पनि स्पष्ट गरिएको पाइन्छ । बाबु आमाले नलाग भन्दा भन्दै पनि लागेकाहरुको उदाहरण तिलाहाङलाई लिन सकिन्छ भने एउटै घरबाट पनि दुईधारमा लाग्नु परेको उदाहरण डिल्लु र भवानीबाटै पुष्टि भएको छ । जनयुद्धमा पनि आफ्नो पक्षलाईमाथि लैजाने र अर्को पक्षलाई पछार्ने तर्क गरिन्थे र बैठक बस्दथे भन्ने स्पष्ट पार्दै धनकुटा हिलेमा सम्पन्न बैठकबाट प्रष्ट्याइएको पाइन्छ । जनयुद्धमा कार्यकर्ताको जिम्मेवारी थपघट गरिन्थ्यो । बढुवा वा घटुवा पनि हुन्थ्यो र सरुवा पनि गरिन्थ्यो भन्ने स्पष्ट गरिएको पाइन्छ । जनयुद्धमा नेपाली जनता दोहोरो मारमा परेका थिए भन्ने कथाले जताततै अगाडि सारेको पाइन्छ । प्रहरीभित्र पनि आफूले फाइदा लिएर सोझा साथीलाई फसाउने, षड्यन्त्र गर्नेहरुको कमी थिएन भन्ने स्पष्ट पार्न भौराही प्रहरी कार्यालयको एसपीले डिल्लुलाई थर्काएको घट्ना नै काफी छ ।
हाम्रा समाजमा गरिखाने मानिसलाई भड्काउनेहरुको पनि कमी छैन भन्ने स्पष्ट पार्दै सुमैनाले छोरी झैं राखेकी मीनालाई विद्यालयबाट फर्किंदा आफ्नै सासूले समेत अनेक कुरा गरेर मीनालाई बेचैन बनाएको घटना उल्लेख छ । समाजमा महिलाले नै महिलाको दुःख बुझ्न सकिरहेका छैनन् । दुःख पाएकी महिलालाई सहानुभूति राख्दा समेत सौतेनी आँखाले हेर्न छोडिएको छैन भन्ने घिमिरे गुरुले सुमैना बसाईं जाँदा आफ्नी श्रीमतीसँग दुःख व्यक्त गरेकोमा अनेक भनाइ खानु हाम्रा समाजको चरित्र झल्किएको पाइन्छ ।
यस उपन्यासले महिलाका तीन रुप बुहारीको, आमाको र सासूको भूमिकामा एकातर्फ सफल ढङ्गले उतारिएको पाइन्छ भने अर्कातर्फ एउटै आमाका तीन रुप राज्यपक्षकी आमा, विद्रोही पक्षकी आमा र घरका परिवारकी आमाको व्यवहारमा सफल ढङ्गले उभ्याइएको हुँदा त्रिवेणी आमा शीर्षक सार्थक भएको पाइन्छ । प्रसङ्ग आउनासाथ नेपाली उखान टुक्काहरुको भरपुर प्रयोग गरिएको, पात्रानुसार थेगो, लय र स्थानीय भाषाको प्रयोग गरिएको, मुख्यरुपमा नेपालको पूर्वी पहाड ताप्लेजुङ, तेह्रथुम, सुनसरी हुँदै झापासम्मको आञ्चलिकतामा फैलिएको, २५ अंकको कथावस्तुमा मूलरसमा करुण रसले भरिएको, फ्लासव्याक शैलीमा लिखित त्रिवेणी आमा उपन्यास प्रगतिशील एवम् सुखान्त उपन्यास मान्नु पर्दछ । साझा प्रकाशन ललितपुरबाट २०६६ सालमा प्रकाशित भएर पनि चर्चामा नल्याइएको त्रिवेणी आमा उपन्यास पञ्चायती व्यवस्थाको अन्तिम कालदेखि जनयुद्धपछिको बृहत शान्ति सम्झौतासम्को सामाजिक तथा ऐतिहासिक ऐना हो । जनयुद्धकै समयमा पनि सहरमा बसेकाहरुले बुझ्न नभ्याएको गाउँले जनजीवन बुझ्न र अब जन्मेकाहरुलाई तात्कालीन सामाजिक परिवेश बुझाउन यस उपन्यास सफल छ । आख्यानकार पुण्य खरेलका साहित्यिक आख्यानहरु त्रिवेणी बगेझैं नै सललल बगिरहुन्, शुभकामना राख्न चाहन्छु ।
पुस्तकः त्रिवेणी आमा, उपन्यासकारः पुण्य खरेल ।
विधाः उपन्यास, पेज २२२, प्रकाशन, साझा प्रकाशन ।
संस्करण पहिलो २०६६, मूल्य रु. २६५ । –
त्रिवेणी आमालाई नियाल्दा
११ पुष २०७२, शनिबार मा प्रकाशित
प्रतिकृया व्यक्त गर्नुहोस् ।