‘कथाकी पात्र’भित्रका कथा र पात्रहरु

1 (1)

[सुरञ्जन घिमिरे]
६०को दशकदेखि कथा लेखनमा सक्रिय रहेका स्रस्टा हुन् सुबिन भट्टराई । उनका कथामा विशेषत प्रेमका कुराहरु पाइन्छन् । भावनात्मकता,भावुकता,कलेज पढ्ने युवा–युवतीका रोमान्टिक गफगाफ र उनीहरुको आपसी प्रेम कथाभित्रका अनेक अन्तरद्वन्द्वहरुलाई आफ्नो कथाको विषयवस्तु बनाउन उनी सिपालु छन् । उनले आफ्ना कथाहरुमा सरल कथानक र रोचक विषयहरु उठाएका पाइन्छन् । मुलुक ठूलो राजनीतिक खुड्किलाहरु पार गरेर आजको समयसम्म आइपुगेसँगै नेपाली समाजका विविध जातजाति र वर्ग समुदायहरुबाट आ–आफ्ना पहिचान र मौलिकता पोखिएका पछिल्ला चरणका नेपाली कथाहरुका बीचमा ‘कथाकी पात्र’का कथाहरुको मोहडा अर्कैतिर फर्केको भान पर्छ । त्यसो त प्रेम मान्छेको अपरिहार्य र अनिवार्य तत्व र मान्छे समाजको अधिकारी र प्रतिनिधि रहेकाले उनका यी कथाहरु पनि मान्छे र समाजबाट टाढा भाग्न सकेका छैनन् । चाहे ‘औडाहा’ शीर्षक कथाको ‘म’ पात्र होस् वा ‘बूढो र पिज्जा’ शीर्षक कथाको ‘बूढो’ पात्र होस् । उनीहरु नेपाली समाजकै पात्रहरु लाग्छन् । सुबिनका कथाहरु पढ्दै जाँदा कतै पारिजातको ‘शिरीषको फूल’को ‘वासना’ पाइन्छ भने कतै वी.पी.को ‘दोषी चस्मा’ र ‘सिपाही’ कथाको छनक पाइन्छ । यी कथाहरुमा पात्रहरु बोल्ने,खेल्ने र चल्ने समय अघि उनीहरुले गर्ने हाउभाउहरुमा लेखक सचेत देखिएका छन् । जस्तोः
‘ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ,बडो सतर्कतासाथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे’ (पृष्ठ ०१) । यो अनुच्छेदमा प्रयोग भएको विशेषण ‘खुत्रुक्क’ ले रोचकताका साथ कथा सुरु गरिदिएको छ । त्यस्तैः
‘गाउँमा कतै भोजभतेर छ र त्यहाँ मासु पाक्दैछ भन्ने कुरा चाल पाएको खण्डमा बूढो घरमा भात लगायतका खानेकुरा ग्यास्ट्रिक रोक्ने गरी मात्र खान्थ्यो’ (पृष्ठ १८१) । यहाँ ‘ग्यास्ट्रिक रोक्ने गरी’ भन्ने मिथक नवीन प्रयोगका साथ आएको छ । लेखकमा रहेको विज्ञान विषयको ज्ञानका कारण यस्ता ‘वैज्ञानिक’ मिथकहरु उनका कथामा पाइन्छन् । यसलाई उनको ‘पहिचान’ मान्न सकिन्छ । र,उनले नेपाली साहित्यलाई दिएको योगदान पनि ।kathaki patra (1)
कथालेखनको प्रारम्भिक काल रहेकाले पनि हुनसक्छ उनका केही कथाका केही वाक्यहरु भने तुलनात्मक रुपमा बोझिला र झञ्झटीला देखिन्छन् । ‘तीन कथा’ शीर्षकको कथा(पृष्ठ १२४) मा– ‘उसको यस किसिमको व्यक्तित्वलाई उसको खानदानी,रहनसहन,खानपान र चिकित्सकीय स्वास्थ्य सचेतनाको परिणतिका रुपमा मूल्याङ्कन गरिन्थ्यो’ यो वाक्य पढ्नमा झञ्झटीलो त छदै छ साथै ‘निमेष’ नामको एउटा पात्रको सामान्य व्यक्तिगत परिचय दिन यति अप्ठ्यारो वाक्यको प्रयोगले पाठकहरु अल्मलिन पनि सक्छन् ।
प्रेम विषयमा सबैले गीत,गजल,सायरी,कथा र उपन्यासहरु लेखिरहेको परिप्रेक्ष्यमा यी लेखकले घृणालाई विषय बनाएर पनि कथा लेखेका छन् । यो नेपाली कथाहरुको इतिहासमा सम्भवतः अपवाद हो । ‘घृणा’ कथामार्फत उनले प्रेम मात्र होइन हामीलाई घृण गर्ने मान्छे पनि चाहिन्छ भन्ने सन्देश दिएका छन् । यस संग्रहमा अक्षर प्रयोगका हिसाबले सबभन्दा छोटो कथा– ‘भ्रम या सत्य’ हो भने–‘नदी किनारको प्रेम’ कथा सबैभन्दा लामो छ ।
सबै कथाहरु प्रथम पुरुष ढाँचामा लेखिएका छन् । मनोवैज्ञानिक पक्षको सुक्ष्म विश्लेषण साथै यी कथाहरुमा लेखकले आफ्नो मौलिक स्वच्छन्दता पस्किएका छन् । ‘औडाहा’,‘औडाहा–२’,‘मन परेको साथी’,‘अन्तराल’,‘अर्काकी स्वास्नी’,‘तिमी मलाई किन प्रेम गर्छौ ?’,‘बिहेको निम्तोमा’,‘“मान्छे,आफू कहाँ हो ?”’,‘भ्रम या सत्य ?’,‘बर्बादी’,‘तीन कथा’,‘देहरादुन एक्सप्रेस’,‘अपसोस’,‘घृणा’,‘कथाकी पात्र’,‘बूढो र पिज्जा’,‘भगाइहरु’,‘मन नपरेको साथी’ र ‘नदीकिनारको प्रेम’ गरी जम्मा उन्नाइस वटा कथा रहेको प्रस्तुत किताबको नाम यसै भित्र रहेको पन्धौँ नम्बरको कथाबाट राखिएको छ । जुन कथामा लेखकले विवाहित पुरुषको सबैभन्दा नजिकको मित्र र सहयोगी आफ्नी अर्धाङ्गिनी हुन् भन्ने विचार प्रस्तुत गरेका छन् । कथामा ‘म’ पात्रलाई एकरात एउटा कथा लेख्न मन लाग्छ तर कथाका लागि उसले कुनै पात्र नै भेट्दैन । ‘म’ पात्रलाई यस कुराले नरम्रोसँग सताउँछ । अन्त्यमा उसले आफ्नो कथामा आफ्नै पत्नीलाई पात्रको रुपमा सामेल गराउँछ । यसरी बनेको ‘कथाकी पात्र’ कथाबाट यो किताबको गरिएको नामाकरण शीर्षक आफैले जिज्ञासापूर्ण बनेको छ । ‘कथाकी पात्र’ प्रेम विषयमा नयाँ शैलीका कथाहरु पढ्न चाहने सम्पूर्ण पाठकहरुका लागि उपयोगी छ भन्न सकिन्छ । ०६७ साल चैतमा पाँचपोखरी बुक स्टोरले छापेको यो किताब ०७० साल भदौमा फाइन प्रिन्टले नयाँ आवरणसहित पुनप्र्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com