आचारसंहिता पालना गर

 

पत्रकार आचारसंहिताको उल्लंघन बढ्दै गएको र आचारसंहिता पालनामा सबै इमान्दार भएर लाग्नुपर्ने सम्बन्धित क्षेत्रका जानकारहरुले औंल्याएका छन् । प्रेस काउन्सिल नेपालले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार आचारसंहिता अन्तरक्रियामा उल्लंघनको अवस्था र अबको दायित्वबारे गहन मन्थन भयो । अरू पेसाको जस्तै पत्रकारिताको पनि आचारसंहिता छन् । राज्यको चौथो अङ्गको रूपमा स्वीकारिएको यो पेसाकर्मीले आफ्नो आचारसंहिताभित्र बसेर काम गर्छ भने आमनागरिक सुसूचित हुनुका साथै जनमानसमा यो पेसाप्रतिको सम्मान पनि बढ्छ । पत्रकारिता पेसा पूर्ण स्वतन्त्र हुनुपर्छ तर स्वतन्त्रताको अर्थ अनियन्त्रित र अराजक भने पक्कै होइन । स्वतन्त्रताको नाममा कसैको चरित्र हत्या, अमर्यादित भाषाको प्रयोग, आधारहिन समाचारको सम्प्रेषणले सिंगै पेसाको साख घटाउँछ ।
सञ्चारमाध्यमबाट आचारसंहिता उल्लंघन भएका विषयमा काउन्सिलमा उजुरी बढ्दो मात्रामा रहेको छ । पत्रकारितामा वस्तुनिष्ठ, सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषणको अभाव छ । सञ्चारमाध्यमले राजनीतिक पूर्वाग्रहको आधारमा समाचार सम्प्रेषण गर्ने, समाचारमा पक्षहरुको भनाइ नराखी असन्तुलित सामग्री सम्प्रेषण गर्ने, विज्ञापनलाई समाचार र समाचारलाई विज्ञापन बनाउने, एउटा सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन अर्को सञ्चारमाध्यमले गर्ने, खण्डन गराउन विभिन्न पक्षलाई सञ्चारकर्मीले नै उकास्ने जस्ता प्रवृत्ति पछिल्लो समय पत्रकारिता क्षेत्रमा बढेको छ । महिलाका विषयमा सामग्री सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्ने आवश्यकता छ । महिलाबारे चरित्र हत्या हुनेगरी समाचार आउँदा सम्बन्धविच्छेदको अवस्था समेत निम्तिएको घटना छन् । त्यस्तै विभत्स तस्वीर प्रकाशन प्रशारण गर्ने, कसैको चरित्र हत्या हुनेगरी सञ्चारकर्मीले सामुहिक रुपमै समाचार सम्प्रेषण गर्ने त कुनै समाचार सामुहिक रुपमै लुकाउने प्रवृत्ति पनि बढेको कार्यक्रममा बताइयो ।
त्यस्तै, समाचार कपिपेस्ट गर्ने प्रवृत्ति, भाषाले निम्त्याएका समस्या, सेल्फसेन्सरसिपको अवस्था, दलको प्रचारमा सञ्चारकर्मी र सञ्चारमाध्यम अग्रसर हुने, सामाजिक सञ्जालमा सञ्चारकर्मी र पत्रकारिता पेशाको गरिमा खस्कने गरी स्टाट्स तथा कमेन्ट गर्ने प्रवृत्तिले पनि पत्रकारिताको मूल्यमान्यता र आचारसंहितामा चुनौति थपेको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा धेरै आचारसंहिता बने तर कुनै पनि आचारसंहिता प्रभावकारीरूपले लागू भएको देखिँदैन । नेपाली पत्रकारिताले आफ्नो यात्राको एकसय वर्ष पूरा गरिसकेको र दर्जनौं आचारसंहिता बनिसकेको अवस्थामा पनि नेपालमा पत्रकारिता एउटा मर्यादित पेसाको रूपमा स्थापित हुन नसक्नु दुःखद् पक्ष हो र यस पेसासँग सम्बन्धित सबैको ठूलो कमजोरी पनि हो । पीडितको उजुरीको आधारमा सम्बन्धित सञ्चारमाध्यमको ध्यानाकर्षण गराउँदा काउन्सिललाई समेत कतिपय सञ्चारमाध्यमले बेवास्ता र अटेर गरेको अवस्था छ । यस्तो अवस्था आउनु दुःखद् र मर्यादित पत्रकारिताको बाधक हो । काउन्सिल नैतिक पाठ सिकाउने निकाय मात्र भए पनि आचारसंहिता उल्लंघन गर्ने र काउन्सिलको निर्देशन नमान्ने सञ्चारमाध्यमलाई वर्गीकरणमा रोकी सरकारी सेवा–सुविधाबाट वञ्चित गर्नुका साथै सञ्चारकर्मीलाई प्रेस प्रतिनिधिपत्र, पत्रकार महासंघ लगायतका संस्थाको सदस्यता खारेजीको सिफारिस गर्न सक्ने जनाइएको छ । आचारसंहिता पालना गरे मात्र पत्रकारिताको मूल्य, मान्यता र गरिमा उच्च हुन्छ । सत्य, वस्तुनिष्ठ र सन्तुलित समाचार सम्प्रेषण्मा ध्यान दिन जरुरी छ । सञ्चारकर्मी र सञ्चारमाध्यमले पेशागत मर्यादा र आत्मसम्मानलाई ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com