भुस्याहा कुकुर नियन्त्रण गर

कुकुरलाई प्राणीमध्येको सबैभन्दा इमान्दार, नुनको सोझो गर्ने, कर्मनिष्ठ र सहयोगीका रुपमा लिइन्छ । पौराणिक कथा अनुसार होइन धार्मिक दृष्टिले पनि अझ चेतनाका हिसाबले कुकुर मानव जातिसँग निकट रहेको छ । मानिसले गर्न नसक्ने कतिपय काम गर्न समेत कुकुरकै सहयोग लिनुपर्ने परिस्थितिका बीच झापा अर्जुनधारा नगरपालिकाका बासिन्दा त्यसकै पीडाले आहात बनिएको समाचार सार्वजनिक भएको छ । यसले ‘हुँदा धेर, नहुँदा बेर’ भनाइलाई चरितार्थ पनि गरेको छ ।
सुरक्षाका दृष्टिले सबैले कुकुर पालेकै हुन्छन् । ‘स्वान निद्रा’को विशेषताका कारण घरको रेदखेद र सुरक्षा हुने हुँदा ग्रामीण जीवनमा कुकुर अपरिहार्य जस्तै हुने गरेको छ । तर, यो विशेषता र अपरिहार्यता सधै र सबैका लागि समान नहुन सक्छ । जथाभावी डुली हिंड्ने भुस्याहा कुकरमा यी विशेषता हुन्नन् र तिनले समस्या पनि ल्याइदिने गरेका छन् । मानिसले आफूले खटनमा पालेका कुकुरलाई नियमित स्वास्थ्य जाँच र उपचार गर्छन् र तिनको पीडा आम मानिसले त्यति भोग्नु पर्दैन तर छाडा अनि भुस्याहा कुकुरमा फैलिने रेवीजको संक्रमण भने भयावह हुन्छ ।
कसैको दायित्वभित्र नपर्ने यस्ता कुकुरबाट सर्ने रेवीज नामको सरुवा रोगले अर्जुननधाराका, मदनपुर, जुकेखाडी, भाङबारी, क्षेत्रका बासिन्दा त्रसित मात्र छैनन् आफ्नै पनि ज्यान जाने खतराले पिरोलिएका छन् । त्यस्ता भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने पहिलो दायित्व स्थानीय निकायको हो तर त्यही निकाय जनप्रतिनिधिविहीन भएका कारण समस्याप्रति उदासिन देखिएको छ । यद्यपि यसको नियन्त्रण गर्नु भनेको छाडा कुकुरलाई मार्नु हो र कुनै पनि जीवको बाँच्न पाउने अधिकार कुण्ठित गर्न पाइँदैन तथापि यी दुबै अवस्थाबाट सुरक्षित हुन तिनको वंशवृद्धिमा नियन्त्रण गर्नु आवश्यक छ ।
बितेको तीन सातामै रेवीज संक्रमित कुकुरको टोकाइबाट ५२ वटा घरपालुवा चौपाय घाइते भएका छन् । ति मध्ये चारवटा मरिसकेका छन्, घाइते पशु चौपायलाई जोगाउन सकिएन भने किसानको लाखौं मूल्यका वस्तुभाउ मर्ने निश्चित छ र अझै कति फैलिने हो त्यसको लेखाजोखा गरिएको छैन । भौतिक वस्तुको क्षतिभन्दा भयावह अवस्था रेवीज त्रासले दिने मानसिक पीडाले उत्पन्न हुन्छ । शहर बजारतिर छाडा कुकुरको आतंक हुन्छ नै तर त्यहाँ स्थानीय निकायको सजगता पनि हुन्छ । पशु चौपाय पालिएका पनि हुँदैनन् । त्यसैले पशु अधिकारको समेत रक्षा गर्दै छाडा चौपाया नियन्त्रण गर्न आवश्यक पहल ग्रामीण क्षेत्रमै बढी देखाउनु पर्छ । तत्कालको समस्या भ्याक्सिनभन्दा पनि संक्रमित कुकुरको पहिचान र नियन्त्रणमा पहल हुनुपर्छ । अनि घाइते पशुको उपचार गर्दै सबै छाडा कुकुरलाई बन्ध्याकरण गरेर भोलि हुनसक्ने त्रासबाट आम मानिसलाई जोगाउनु पर्छ । यसतर्फ सबै स्थानीय निकायको ध्यान केन्द्रीत होस् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com