झापामा विश्व सिमसार दिवस

२० माघ २०७४, शनिबार मा प्रकाशित

सुरुङ्गा, जिल्ला वन कार्यालय झापाको आयोजनामा झापामा सप्ताहव्यापी विश्व सिमसार दिवस शुरु भएको छ ।
सुरुङ्गास्थित जामुनाबारी सामुदायिक वन एवम् जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सांस्कृतिक भवनमा एक कार्यक्रमका वीच प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख एवम् सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रीय सदस्य राजेन्द्रकुमार पोखरेलले औपचारिक रुपमा सिमसार दिवसको शुभारम्भ गरे । विश्व सिमसार दिवस मनाउने क्रम १९७१, फेब्रुअरी २ देखि शुरु भएको हो ।
यस पटकको विश्व सिमसार दिवसको नारा ‘शहरको दीगो विकासका लागि सिमसार’ रहेको छ । झापाका सिमसार संरक्षण तथा व्यवस्थापन गर्ने सामुदायिक वन उपभोक्ता समूहहरुको संयोजनमा शुक्रवार सम्पन्न उक्त कार्यक्रममा वक्ताहरुले सिमसार संरक्षणले जैविक विविधता संरक्षण, वन्यजन्तु संरक्षण, गरिबी न्यूनीकरण, रोजगारी सृजना जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताए ।
कार्यक्रममा कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाईं, कनकाई सामुदायिक वन समूहका पूर्व अध्यक्ष एवम् वार्ड नं. ३का अध्यक्ष रूद्रप्रसाद चिमरिया, कनकाई नगरपालिका वार्ड नं. २का अध्यक्ष एवम् कनकाई नगरपालिकाका वन, वातावरण तथा भूमि समितिका संयोजक परशुराम गिरी, सामुदायिक वन उपभोक्ता महासंघ झापाका संस्थापक अध्यक्ष केदारप्रसाद गिरी, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, सेक्टर वन कार्यालय सुरुङ्गाका सहायक वन अधिकृत एकराज दाहाल, कालिका सामुदायिक वन समूहका अध्यक्ष योगेश भट्टराई लगायतले मन्तव्य राखेका थिए । झापामा हाल १ दर्जन भन्दाबढी सामुदायिक वनले सिमसार संरक्षण र व्यवस्थापन गर्दै आएका छन् । कार्यक्रममा जिल्ला वन कार्यालय झापाका अधिकृत देवेन्द्र उप्रेतीले औचित्यसहित स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा सुकेडाँगी सामुदायिक वन समूहका नवनिर्वाचित अध्यक्ष भक्तबहादुर पौड्याल, विशाल सामुदायिक वन समूहका अध्यक्ष इन्द्रलाल पुरी, हातेमालो वन समूहका अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रजापति वन समूहका अध्यक्ष सूर्यकुमार थापा, हलुवागढ वन समूहका अध्यक्ष चक्र तामाङ, जामुनावारी वन समूहका पूर्व अध्यक्ष रूद्रबहादुर बोहोरा, जनप्रतिनिधिहरु घनश्याम मैनाली, नरादेवी मगर लगायतको आतिथ्य रहेको थियो । जामुनावारी वन समूहका अध्यक्ष ख्यामराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम सोही वन समूहकी सचिव मनिता राईले सञ्चालन गरेकी थिइन् ।
वीरता जेसीजले आफ्नै भवन निर्माण गर्ने
बिर्तामोड, वीरता जेसीजले एक करोड रुपैयाँको लागतमा आफ्नै भवन निर्माण गर्ने भएको छ ।
जेसीजले शुक्रबार पत्रकार सम्मेलन गर्दै बिर्तामोड नगरपालिका–२मा ३ कठ्ठा जमिनमा आफ्नै भवन निर्माण गर्ने जानकारी दिएको हो । जेसीजका पूर्व अध्यक्षहरुले उपलब्ध गराएको ३ कठ्ठा जमिनमा दुई बर्षभित्र भवन निर्माण गरिसक्ने जनाएको छ । सामुदायिक भवनसहितको कार्यालय स्थापना गर्ने लक्ष्यका साथ आइतवार भवनको शिलान्यास गरिने वीरता जेसीज २०१७ का अध्यक्ष सञ्जु भारतीले बताए ।
पूर्व अध्यक्षहरु राजकुमार पोखरेल, शेखर ढकाल, सुरेश वंशल, प्रमेशराज कर्णिकार, शिवकुमार अग्रवाल र पूर्व उपाध्यक्ष ओमभक्त प्रसाईले संयुक्त रुपमा बिर्तामोड–२को कछ्छुवारीमा गरमकालीको मन्दिरसहित ३ कठ्ठा जमिन उपलब्ध गराएको वीरता जेसीजका तालिम संयोजक एकराज गिरीले बताए ।
वीरता जेसीज स्थापनाकालदेखिका अध्यक्षलगायत पूर्व जेसीजहरुको बिशेष लगानी हुने साथै बिभिन्न निकायबाट आर्थिक सहयोग संकलन गरी २ बर्षभित्रमा एकतले सामुदायिक भवन निर्माण गरिने अध्यक्ष भारतीले बताए । जग्गादाता शिवकुमार अग्रवालका अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै सर्वसाधारणको सुबिधाका लागि भवनको आवश्यकता महशुस गरी जेसीजलाई जग्गा प्रदान गरिएको छ । भवन निर्माणपछि २ नम्बर वडावासीलाई सामुहिक कार्यमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ । वर्तमान कार्य समितिका अध्यक्ष भारतीको नेतृत्वमा भवन निर्माण समिति गठन गरी कार्य प्रारम्भ गरिएको जनाइएको छ ।
व्यक्तित्व बिकास र सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको वीरता जेसीजले सन् २०१७ मा १९ लाख रुपैयाँ संकलन गरी धुर्मुससुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरिसकेको छ भने यसैबर्ष झापाका बाढीपीडितलाई समेत राहत बितरण गरेको छ । त्यस्तै दुर्घटना न्यूनीकरणका लागि चालकहरुलाई चेतनामूलक अभियान समेत सञ्चालन गरेको थियो ।
जेसीजको अधिवेशन आगामी मंगलबार बिर्तामोडमा गरिने तालिम संयोजक एकराज गिरीले बताए । पत्रकार भेटघाटमा निवर्तमान अध्यक्ष सजेश शिवाकोटी, पूर्व अध्यक्षहरु शेखर ढकाल, प्रमेश राजकर्णिकार लगायतले भवन निर्माणको आवश्यकता बारे जानकारी गराएको महासचिव जीवन खड्काले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here