पानीट्याङ्कीमै ठगिन्छन् धेरै नेपाली

२२ माघ २०७४, सोमबार मा प्रकाशित

नरेन्द्र ढकाल
झापा, उपचार गर्ने नाममा भारतका विभिन्न शहरहरुमा नेपालीहरु ठगिने गरेको खुलेको छ ।
झापासँग सीमाना जोडिएका भारतीय शहरहरुमा अवैध रुपमा सञ्चालनमा आएका क्लिनिकहरुले नेपालीहरुलाई ठग्ने गरेको पाइएको छ ।
भारतका पानीट्याङ्की, शिलगढी, नक्सल लगायतका स्थानमा छ्याप्छयाप्ती खुलेका क्लिनिकहरुले नेपाली बिरामीहरुलाई विभिन्न रोग निको पार्ने भन्दै ठगी रहेका हुन् । पायल्स, फिस्टुला, फिसर लगायतका रोगको उपचार बिना अप्रेशन गर्ने भन्दै उनीहरुले नेपाली मिडियाको प्रयोग गरी तथा नेपालमा एजेण्टहरु खटाएर भ्रम छर्दै लुट मच्चाइरहेको खुलासा भएको हो ।
झापाको बाह्रदशी गाँउपालिका–२ राजगढका काजीबहादुर भण्डारीलाई भारतको पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनिकले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उपचार शुरु गरेका थिए । तर, उनले उपचार गरे पनि उनको रोग निको नभएको तथा दिसा घर नै साँघुरो भएपछि उनी झन समस्यामा परेका थिए । किस्ताबन्दी रुपमा रकम असुली गर्ने यस्ता क्लिनिकहरुमा रकम गएको पत्तै नपाएका नेपालीहरुले ४०औं हजार खर्च गर्दा पनि रोग निको नभएपछि उनीहरुले आफू ठगिएको थाहा पाएको बताएका छन् । उपचार ग्यारेन्टी, निको नभएमा सम्पूर्ण रकम फिर्ता गर्ने लगायतका भ्रामक प्रचार गरेर उनीहरुले ठगी गर्ने गरेको खुलासा भएको हो । पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनिकले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उनले उपचार शुरु गरेका थिए ।
रोग निको नभएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा उपचार गराइरहेका भण्डारीले अहिले आफ्नो रोग निको हुँदै गएको बताएका छन् । हस्पिटलले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतको पानीट्याङ्कीमा आफू ठगिएको बताएका थिए । भण्डारीको उपचार सुधार उन्मुख भए पनि उनको दिसा चुहिने समस्या भने यथावत रहन सक्ने उनको उपचारमा संलग्न डा. रोहित यादवले बताए । उनले भारतमा दैनिक ५–१० जना बिरामीहरु ठगिने गरेको भन्दै नेपालका मिडियाहरुले यो विषयलाई उठान गर्न जरुरी रहेको उल्लेख गरे ।
पानीट्याङ्कीमा रहेको माँ पाथीभराक्लिनिकले उपचार गर्न नसकेर रोग निको नभए उपचारमा लाग्ने सम्पूर्ण खर्च फिर्ता गर्ने आश्वासन दिएको तर अर्को समस्या देखाउँदै पन्छिने गरेको भण्डारीले बताए ।
विभिन्न गलत विज्ञापन गरेर नेपालीहरुलाई ठगी गर्ने गरेको भन्दै बिरामी भण्डारीले कारबाहीको माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै बीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पैसाको भरमा यस्ता अनर्गल प्रचार नगर्न सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेका छन् ।
उपचारमा संलग्न डा. यादवले नेपालीहरुलाई भ्रममा पारेर रोगलाई जटिल बनाइरहेको बताएका छन् । उनले पायल्सको उपचार इञ्जेक्सनमार्फत गर्ने पुरानो पद्धति भए पनि अब उक्त पद्धति बन्द भइसकेको छ । तर, भारतको पानीट्याङ्कीमा रहेका झोले डाक्टरहरुले यस्तो गलत उपचार गरिरहेका छन् ।
कार्यकारी निर्देशक प्रसाईले पानीट्याङ्कीमा उपचार गरेर रोग झन जटिल बनेका बिरामीहरु बीएण्डसी हस्पिटलमा महिनामा २०देखि २५ जनासम्म आउने गरेको बताए । उनले यस्तो भयावह अवस्था हुँदा समेत भ्रममा परेर धेरै नेपालीहरु ठगिने गरेको दावी गरेका छन् ।
पानीट्याङ्कीमा रहेको चाँदसी क्लिनिक, शान्ति पायल्स क्लिनिक, न्यूपाथीभरा क्लिनिक, माँ पाथीभरा क्लिनिक लगायतका दर्जनौं क्लिनिकहरुले नेपालमा दलालीहरु प्रयोग गरेर प्रचार गरिरहेको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताए । उनले यस्ता दललको लोभलालचमा नफस्न सबैसँग आग्रह समेत गरेका छन् ।
बीएण्डसी हस्पिटलमा अत्याधुनिक उपकरण तथा दक्ष चिकित्सक भएकाले अब कुनै पनि बिरामीले भारत तथा अन्य कुनै पनि स्थान जानु नपर्ने जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । केही समय अघि मात्रै झापाकै शिवसताक्षी नगरपालिका–१० जयनारायण योगीलाई भारतको पानीट्याङ्कीमा रहेको माँ पाथीभरा क्लिनिकले पायल्स रोग निको पार्ने ग्यारेन्टी गरेपछि उपचार गरे पनि उनको अवस्था जटिल बनेपछि आफू ठगिएको थाहा पाएका थिए । उनले पनि बीएण्डसी हस्पिटलमा नै उपचार गरेर रोग निको पारेको भन्दै पत्रकार सम्मेलन मार्फत नै भारतमा आफू ठगिएको घटना सार्वजनिक गरेका थिए ।
उनले इलाका प्रहरी कार्यालय काँकरभिट्टा, जिल्ला प्रशासन कार्यालयमा आफू ठगिएको भन्दै निवेदन समेत दर्ता गराएको थिए । उनले जिल्ला प्रशासन कार्यालयमा तीन सय १५ नम्बरमा निवेदन गर्दा गराएको जानकारी दिएका गराएका थिए । निवेदन दर्ता भए पनि उनको विषयमा प्रशासनले चासो नदिएको पाइएको छ । दैनिक नेपालीहरु ठगिने गरेका घटनाहरु बढ्दै गएका बेला झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त, निवेदनको विषयमा तत्काल आवश्यक छानविन गरी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले प्रशासनले कानूनको अवज्ञा गर्नेलाई कानूनको दायरामा ल्याउने भन्दै भ्रम फैल्याएर ठगी गर्नेहरुको विषयमा निगरानी बढाउने बताएका छन् ।
यसैबीच नेपालका केही सञ्चार माध्यमले समेत आवश्यक कानूनी प्रक्रिया पूरा नगरी जथाभावी रुपमा विज्ञापन प्रशारण गर्दा धेरै नेपाली सर्वसाधारणहरु ठगिने गरेको भन्दै यो विषयमा स्थानीय प्रशासनले अब निगरानी बढाउनुपर्ने बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले बताएका छन् ।
यसैबीच हस्पिटलले क्यान्सरका रोगीहरुको पनि सफल शल्यक्रियामार्फत उपचार भइरहेको जनाएको छ । झापाको कनकाई नगरपालिका–७की ६५ वर्षीया दिलकुमारी सुब्बाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको डा. यादवले बताएका छन् । उनका अनुसार सुब्बाको स्तनमा भएका स–सानो गाँठो क्यान्सरको रुपमा भएका त्यसलाई फ्यालिएको छ । उनले आफ्नो उपचार बीएण्डसी हस्पिटलमा सफल रुपमा भएको भन्दै खुशी ब्यक्त गरेकी छन् । हस्पिटलले क्यान्सर रोगीलाई लक्षित गरेर छुट्टै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने तयारी स्वरुप भवन निर्माण कार्यलाई तीब्रता दिएको छ ।

भद्रपुर, माघ २१। चार दिनदेखि झापाको भद्रपुरस्थित चन्द्रगढी बिमानस्थलमा हवाई सेवा अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् ।
हवाई सेवा अबरुद्ध भएपछि यात्रुहरु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् । काम विशेषले जानैपर्ने हवाई यात्रुहरु वैकल्पिक यात्रा गर्न बाध्य भएका छन् । सेवा अवरुद्ध हुँदा दैनिक एक हजार यात्रु प्रभावित बनेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए ।
काठमाडौं–भद्रपुर–काठमाडौ दैनिक ८देखि १० वटा बिमानले यस बिमानस्थलबाट सेवा दिँदै आएको छ । चारदिनदेखि झापामा मौसम खराबीका कारण बिमान सेवा अवरुद्ध भएको कार्यालय प्रमुख चुडालले बताए ।
‘यस विमानस्थललाई ५ किलोमिटर भिजिविलिटी आवश्यक पर्छ’– उनले भने– ‘अहिले शीतलहर नहँुदा पनि विमान सेवा सञ्चालन गर्न सकेका छैनौं, आकाशमा हेज मिस्ट जस्तो कुहिरो लागेको कारण २ किलोमिटर मात्र भिजिविलिटी छ, जसले गर्दा बिमान सेवा सञ्चालन गर्न समस्या परेको छ’– उनले भने ।
‘यस विमानस्थलमा विराटनगर विमानस्थल जस्तो आधुनिकस्तरको प्रविधि जडान नहुँदा समस्या छ– उनले भने– बिराटनगरमा १६०० भिजिविलिटी भए पनि हवाई सेवा सञ्चालन हुन्छ । हवाई सेवा सञ्चालनका लागि चर्को घाम, हावा वा पानी पर्नुपर्छ अनि मात्र सेवा सञ्चालन हुन सक्छ– उनले थपे ।
यति, सौर्य, श्री एयरलान्सको दुई÷दुई वटा, बुद्ध र नेपाल एयरलान्सको एक÷एक वटा बिमान रद्द भएको छ । बिमान सेवा अवरुद्ध भएपछि हवाई यात्रुहरुले आफ्नो आवश्यकता अनुसार विराटनगर बिमानस्थल वा अन्य वैकल्पिक यात्रा गर्दै आइरहेको बुद्ध एयरलान्यस भद्रपुर शाखाका कर्मचारी उद्धव घोषले जानकारी दिए ।
‘बिमान रद्द भएको खण्डमा यात्रुका टिकटलाई रिफण्ड गरिन्छ वा सञ्चालन भएको अवस्थामा टिकट मिलाएर उडान भराइन्छ– उनले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here