‘झापा गोल्डकपमा दैनिक ६ हजार दर्शक’

१९ फाल्गुन २०७४, शनिबार मा प्रकाशित

तेस्रो झापा गोल्डकपको तयारी कहा  पुग्यो ?
– तेस्रो झापा गोल्डकपको सम्पूर्ण पूरा भएको छ । यही फागुन १९ गतेबाट २८ गतेसम्म बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा देशकै उत्कृष्ट क्लबहरु तथा भारतको समेत चर्चित क्लबको सहभागितामा प्रतियोगिता हुँदैछ । यो हामी सबैको शान र पहिचानको कार्य हो । दैनिक छ हजार दर्शकले हेर्नसक्ने प्यारापिट र अगाडि कुर्सी राखेर अन्तर्राष्ट्रियस्तरको खेल मैदान तयार छ । फुटबलका फ्यानहरु गोल्डकपको व्यग्र प्रतीक्षामा हुनुहुन्छ । त्यो प्रतीक्षाको घडी अब लगभग सकिएको छ । अहिलेसम्मकै व्यवस्थित गोल्डकपको तयारीमा हामी छौं ।
कति बजेटको हो यो गोल्डकप ?
– गोल्डकप सम्पन्न गर्नका लागि करिब एक करोड खर्च हुने हाम्रो अनुमान छ । खेलका लागि एक करोड ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएका छौं ।
उक्त रकम कसरी र कहाबाट जुटाउनु हुन्छ ?
– हामीले विभिन्न कर्पोरेट हाउस, संस्थापक सदस्यता नवीकरण र नयाँ सदस्यता वृद्धि नै आर्थिक स्रोत जुटाउने हाम्रो दरिलो माध्यम हो । विभिन्न कर्पोरेट हाउसबाट उनीहरुको उत्पादन बजारीकरणका लागि हामी प्रोत्साहन गर्छौं भने स्थानीय तह, नगरपालिका र गाउँपालिकासँग पनि हामी आर्थिक स्रोतका लागि सहयोग माग्छौं । यसपटक हामीले व्यक्तिगत रुपमा कसैसँग पनि आर्थिक सहयोग मागेका छैनौं । हाम्रो आफ्नै दुई सय ५० जना संस्थापक सदस्यहरु रहेका छन् । अन्य सदस्यहरु बनाउने कार्यक्रम पनि हामीले राखेका छौं । सदस्यको नवीकरणको लागि पाँच हजार रुपैयाँ लिन्छौं र दम्पत्तिलाई नै टिकटको व्यवस्था गर्छौैं र खेल अवधिभर उहाँहरुले खेल हेर्न सक्नुहुन्छ । हामी उहाँहरुलाई गोल्डकपको टि–सर्ट पनि उपलब्ध गराउँछौं र उहाँहरुलाई खेल हेर्न आउँदा छुट्टै प्यारापिटको व्यवस्था हुन्छ र चियापानीको समेत व्यवस्था मिलाएका छौं ।
खर्चको सूची के छ नि ?
– प्रतियोगिता सम्पन्न गर्न विभिन्न शीर्षकमा खर्च हुन्छ । टिम व्यवस्थापन, सुरक्षा व्यवस्थापन, खेल मैदान व्यवस्थापन, पुरस्कार लगायतका विषयमा खर्च हुन्छ ।
पुरस्कारको राशि मोफसलकै बढी हो त ?
– पक्कै पनि मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो यो । प्रथम हुने टिमलाई हामी नगद १२ लाख ५१ हजार, ट्रफी, प्रमाणपत्र र दोस्रो हुनेलाई छ लाख प्रदान गर्छौं । त्यस्तै प्रत्येक दिन म्यान अफ दि म्याचले नगद २५ हजार प्राप्त गर्छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल प्रदान गरिने छ भने झापा ११बाट उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डसहित एक थान मोटरसाइकल प्रदान गर्ने हाम्रो सोच छ ।
टिकटको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
– प्रतियोगिता हेर्न यसपटक हामीले कसैलाई पनि पासको व्यवस्था गरेका छैनौं । टिकट दर पनि न्यून छ । एक सय, दुई सय र तीन सय मात्र रहेको छ । सबैले यसपटक टिकट काटेर खेल हेरिदिनुभयो भने प्रतियोगिता सञ्चालन गर्न हामीलाई पनि सहज हुन्छ । हामीले सदस्यका लागि एकखाले टिकट, स्पोन्सरका लागि अर्को र अन्यका लागि नर्मल टिकटको व्यवस्थापन गरेका छौं ।
उद्घाटनको तयारी कस्तो छ ?
– प्रदेश नं. १का मुख्यमन्त्री शेरधन राईद्वारा प्रतियोगिताको उद्घाटन गराउने छौं । नृत्य लगायत रोचक प्रस्तुतिका साथ प्रतियोगिता उद्घाटन गर्छौं । गत वर्षभन्दा प्रतियोगितालाई भव्य र सभ्य बनाउने हाम्रो सोच छ ।
कति दर्शक आउने अपेक्षा छ यहाको ?
– दैनिक छ हजार दर्शकले प्रतियोगिता हेर्न सक्नुहुन्छ । नौवटा खेल सम्पन्न गर्दा मोटामोटी हामीले ५० देखि ६० हजार दर्शकले प्रतियोगिता हेर्ने अपेक्षा गरेका छौं ।
बढी दर्शक जुटाउने के छ योजना ?
– प्रचारप्रसार नै हाम्रो दर्शक जुटाउने मुख्य स्रोत हो । बढीभन्दा बढी प्रचारप्रसार गरेर यसपटक धेरैभन्दा धेरै दर्शक जुटाउन लागेका छौं । पत्रपत्रिका, एफएम, टेलिभिजनसहित सामाजिक सञ्जालमार्फत् पनि दर्शक जुट्छन् भन्ने हामीले अपेक्षा गरेका छौं । हाम्रा सबै सदस्यहरु दर्शक जुटाउने काममा लाग्नुभएको छ ।
अघिल्लो वर्षभन्दा यस वर्ष के फरक छ ?
–यसवर्ष हामीले व्यवस्थित रुपमा प्रतियोगिता सम्पन्न गर्न खोजेका छौं । फुटबल खेललाई हामीले विद्यालयस्तरदेखि नै लैजानुपर्छ भन्ने सोचका साथ प्रत्येक विद्यालयका विद्यार्थीहरुलाई प्रतियोगिताको अवलोकनका लागि व्यवस्था मिलाएका छौं । ४० वटा विद्यालयका एकदेखि दुई गाडी बिद्यार्थी दैनिक आए भने विद्यार्थीले पनि खेलको महत्व बुझ्छन् भन्ने हाम्रो अपेक्षा छ । व्यवसायिकतातर्फ खेलकुदलाई लानका लागि हामीले यसवर्षबाट झापा ११का सम्पूर्ण खेलाडीहरुलाई अनुबन्ध गर्न शुरु गरिसकेका छौं । अन्तर्राष्ट्रिय स्तरको खेल मैदान भएकाले बढीभन्दा बढी दर्शक आएर प्रतियोगिता हेर्छन् भन्ने हाम्रो अपेक्षा छ । खेल हेर्नका लागि हामीले व्यवस्थित प्यारापिट, कुर्सीको व्यवस्थापन गरेकाले बढीभन्दा बढी दर्शकले यसपटक सहज रुपमा फुटबल हेर्न सक्नुहुनेछ ।
आर्थिक पारदर्शितालाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
– आर्थिक पारदर्शिता महत्वपूर्ण पाटो हो । अघिल्लोपटक बचेको रकमलाई हामीले बैंकमा राखेका छौं । अब पनि हामी त्यसरी नै कति आम्दानी भयो र कति खर्च भयो त्यो सार्वजनिक गरेर बचेको रकम बैंकमा राख्छौं । जसले झापा गोल्डकप गर्ने बिस्तारै आफ्नै कोषको व्याजबाट पुग्न सकोस् भन्ने अपेक्षा छ ।
तेस्रो झापा गोल्डकप कस्तो होस् भन्ने परिकल्पना गर्नुभएको छ ?
– झापा गोल्डकप सभ्य र भव्य बनाउने भन्ने हाम्रो उद्देश्य हो । झापा गोल्डकप झापालीहरुको चिनारीको रुपमा होस् । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पहिचान गर्न सकोस् भन्ने म चाहन्छु । गोल्डकप सफल बनाउन सम्पूर्ण झापाबासी लाग्नुहुन्छ भन्ने मैंले अपेक्षा पनि गरेको छु । एकसय रुपैयाँको टिकट काटेर भए पनि प्रतियोगिता हेरिदिउँ र प्रतियोगिताको अवलोकन गरेर हामीलाई हौसला प्रदान गर्न म आग्रह गर्न चाहन्छु । शान्त र सौहार्दपूर्ण वातावरणमा गोल्डकप गरेर झापालीहरुको पहिचान दिलाउन हामी लागीपरेका छौं । आएका राष्ट्रिय क्लवहरुलाई पनि स्वागत सम्मान गरौं भन्न चाहन्छु ।
खेलाडीलाई अनुबन्धन गर्न शुरु गर्नुभएको छ, कति जनालाई गर्नुहुन्छ ?
– हामीले झापा ११का दुईजनालाई अनुबन्धन गरिसकेका छौं । सबै खेलाडीलाई अनुबन्धन गर्ने हाम्रो सोच हो । तर, चाँडै नै हामी दश जना खेलाडीलाई यसवर्ष अनुबन्ध गर्छौं । असार मसान्तसम्ममा अनुबन्धन भइसक्छन् । यसबाट अब झापाका खेलाडी झापाकै टिममा गोलबद्ध हुने अपेक्षा छ ।
झापा गोल्डकपको संस्थागत विकासका लागि के छ योजना ?
–विधिवत रुपमा संस्थागत विकासका लागि दर्ता प्रक्रियालाई अगाडि बढाइरहेका छौं । फुटबलका पारखीहरुलाई र संस्थागत सदस्य र सदस्यता बिस्तार नै यसको मुख्य भूमिका रहन्छ । फुटबललाई रुचाउने सबै महानुभावलाई समेटेर हामी अघि बढ्छौं । उहाँहरुले नै वार्षिक रुपमा दिएको सहयोगबाट नै संस्था अघि बढ्छ । एक करोडको अक्षयकोष राखिनेछ र यसबाट झापा ११का खेलाडीको वृत्ति विकासका लागि पनि सहयोग हुनेछ । हामीले उद्योग, व्यवसाय, संघ–संस्था तथा स्थानीय निकायहरुसँग सहयोग लिएर खेलाडीहरु अनुबन्धन गर्ने कार्यहरु गरेका छौं । त्यसले खेलाडीहरुलाई व्यवसायिकतातर्फ उन्मुख गराउँछ । भोलिको दिनमा यसले झापा जिल्लाभरिका खेलहरुलाई व्यवस्थापन गर्न समेत सहयोग पुर्याउँछ ।
                                                                                                                                           प्रस्तुतिः सुरेन्द्र भण्डारी

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here