सरकारले पीडा नसुनेपछि वगरमै खेती

झापा, फागुन २३। झापाको मध्यभाग भएर बग्ने कनकाई र विरीङ नदीको कहर प्रत्येक वर्ष झापालीका लागि महंगो हुन्छ ।
वर्षायाम शुरु भएसँगै कनकाई र विरीङ नदीले यहाँको हजारौं बिगाह खेती योग्य जमिन कटान गर्दै बगरमा परिणत गर्ने गरेको छ । झापा धान खेतीका लागि उर्वर मानिएको जिल्ला हो । नदी कटानकै कारण हजारौं बिगाह जमिन बगरमा परिणत हुने गरेपछि स्थानीयले हरेक वर्ष नदी नियन्त्रणका लागि सरकारलाई गुहार्दै आएका छन् । तर, सरकारले उनीहरुको कथा÷व्यथा नसुनेपछि आजित बनेका कृषकले अहिले बगरमै खेती गर्न शुरु गरेका हुन् ।
कनकाई नगरपालिकाको मण्डल वस्तीका कृषक अहिले विरीङ नदीको बगरमा सामुहिक रुपमा खेती गर्दै आएका छन् । हरेक वर्ष आउने बाढीले भएको जमिन कटान गर्दै बगरमा परिणत गरेपछि उनीहरुले बगर खेती शुरु गरेका हुन् ।
सरकारले नदी नियन्त्रणका लागि ठोस् रणनीति तयार गर्न नसक्दा मण्डल वस्तीका सर्वसाधारण मात्रै होइन जिल्लाका ३ सय ८६ परिवार वगर खेतीमा अश्रित रहेको जिल्ला कृषि विकास कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । कनकाई, विरीङ, कमल, रतुवा र मेची नदी किनारका लगभग ५ हजार हेक्टर जमिन वगर खेतीका लागि उपयुक्त भए पनि अहिले यहाँको १ सय ३५ हेक्टर क्षेत्रफलमा बगरेखेती हुँदै आएको छ ।
गतवर्ष झापामा वगर खेतीबाट १६ वटा कृषक समूहले १ करोड ७० लाख ५२ हजार सात सय ४९ रुपैयाँको कारोवार गरेका थिए । वगरमा काँक्रा, लौका, फर्सी, खरवुजा, करेला जस्ता कृषिजन्य बस्तुको खेती गरिएको र त्यसबाट कृषकले मनग्ये आम्दानी गरेको बताइएको छ ।
हेल्भेटास नेपाल र फरवार्ड नेपालको प्रतिवेदनमा उल्लेख भए अनुसार तराईको पूर्व मेचीदेखि पश्चिम महाकाली नदीसम्म ७८ हजार हेक्टर बगर सेतो वालुवा भएकाले बगरखेतीका लागि योग्य भए पनि हालसम्म एक हजार तीन सय हेक्टर क्षेत्रफलमा मात्रै बगर खेती हुँदै आएको छ ।
कृषकलाई पम्पसेट
जिल्ला कृषि विकास कार्यालय झापा र कनकाई नगरपालिकाले मण्डल वस्तीका कृषकलाई सिञ्चाइका लागि पम्पसेट वितरण गरेको छ ।
नगरपालिकाको वाड नम्वर ५मा पर्ने मण्डल वस्तीका कृषकलाई बगर खेती गर्न सहज होस् भन्दै पम्पसेट वितरण गरिएको हो । नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा आयोजित समारोहकाबीच एक सय २० जना कृषकका लागि समूह बनाएर १२ थान पम्पसेट वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय झापाका कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com