अन्तर्राष्ट्रिय महिला दिवसको सार्थकता

आज विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो अंग्रेजी पात्रो अनुसार ८ मार्चमा विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
श्रमिक नारी दिवसका नामले समेत यो दिवस परिचित छ । विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्षको सम्झना गर्ने दिन हो यो । सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि.सं. १९७५ देखि मनाइँदै आएको छ । यो दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो । १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यससमय यसको प्रमुख ध्येय महिलाहरुलाई मताधिकार दिनु थियो, त्यस समय कतिपय देशमा महिलाहरुलाई मत दिने अधिकार थिएन ।
१९१७ मा रसियाका महिलाहरुले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । यो हड्ताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यी दुई दिनमा केही फरक छ । जुलियन क्यालेन्डर अनुसार १९१७को फेब्रुअरीकोे अन्तिम आइतबार २३ फेब्रुअरीमा पथ्र्यो जब कि ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यससमय धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालिएको इतिहास पाइन्छ ।
आधुनिक विश्वमा अब महिलामाथिका सबैखाले विभेद अन्त्य गरी समान अधिकार र व्यवहार अहिलेको आवश्यकता बनेको छ । समान अधिकारका लागि महिलालाई सिप र स्वरोजगारको जरुरी छ । महिलाको श्रमको उचित मूल्य पाउनुपर्ने, स्वस्थकर वातावरण र सामाजिक सुरक्षा हुनुपर्ने, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनुपर्ने आवाज आज पनि उठिरहेको छ । पछिल्लो समयमा महिलाले सार्वजनिक क्षेत्रमा पनि प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, समान प्रतिनिधित्व हुनुपर्ने जस्ता कुरामा पनि बहस चल्न थाल्यो र महिला अधिकार ज्वलन्त बहसको विषय बन्यो र अधिकार स्थापित हुँदै गयो । महिला अधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाको व्यवहारमै कार्यान्वयन अहिलेको आवश्यकता हो । महिलालाई हरेक ठाउँमा सहभागिता गराउन सकेमात्र महिलाहरुले सही अर्थमा फड्को मार्छन् र यस्ता दिवसको पनि सार्थकता हुन्छ । यस दिवसलाई सार्थक बनाउन मूलतः अवसरबाट बञ्चित महिलालाई विकास र अवसरको मूल धारमा ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com