रेडक्रस झापा देशकै उत्कृष्ट


झापा, फागुन २५ । मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ४४ औं जिल्ला सभाको अधिवेशन शुक्रबार शुरु भएको छ ।
संस्थाको परिसरमा आयोजना गरिएको अधिवेशनको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले समुद्घाटन गरे ।
नेरेसो झापा जिल्ला सभापति लोकराज ढकाललको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि कानूनमन्त्री कार्कीले नेपाल विभिन्न किसिमका विपद्को जोखिममा रहेको मुलुक भएको उल्लेख गर्दै विपद् जोखिम न्युनिकरणमा रेडक्रसले गर्दै आएको कामको प्रशंसा गरे । उनले ०७२ मा गएको विनाशकारी भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापना कार्यमा रेडक्रसकर्मीले देखाएको अग्रसरता अनि बाढीपहिरो, आगलागीजस्ता आपतकाली विपत्ति र द्वन्द्वको समयमा निर्दोष नागरिकको सुरक्षा र मानवाधिकार रक्षाका लागि रेडक्रसले खेल्दै आएको भूमिका सराहनीय रहेको बताए ।
शाखाका मन्त्री कृष्णकुमार मैनालीले सञ्चालन र उपसभापति मित्रदेव काफ्लेले स्वागत गरेको समारोहमा शुभकामना व्यक्त गर्दै कानूनमन्त्री कार्कीले १ नं प्रदेश सरकार कानून निर्माणमा जुटिरहेको जानकारी दिँदै विपद व्वस्थापनसम्बन्धी कानून निर्माण गर्दा रेडक्रसको सुझाव र सहयोगको अपेक्षा गरिएको पनि उल्लेख गरे ।
रेडक्रसलाई सहयोग पुर्याउने संघ–संस्था तथा व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको समारोहमा सभापित ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै वर्तमान कार्यसमितिले आफनो चारवर्षे कार्यकालमा गरेका महत्वपूर्ण सेवामूलक कार्यको विवरण प्रस्तुत गरेका थिए ।
जिल्ला शाखा, रेडक्रस विर्तामोड उपशाखा, दमक उपशाखा र बी एण्ड सी टिचिङ हस्पिटलमा रक्तसञ्चार सेवा, दमक उपशाखा र माईधार कोटीहोममा सर्पदंश उपचार सेवा, कनकाई नदीमा बाढीको पूर्व सूचना केन्द्र, एम्बुलेन्स सेवाजस्ता मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको रेडक्रस झापाले एकीकृत विपद् उत्थानशील कार्यक्रम, विभन्न तालिम प्रशिक्षण, आयआर्जनमूलक तालिम–प्रशिक्षण, सरसफाईसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको सभापति ढकालले जानकारी दिए ।
प्रतिवेदन अनुसार आ. व. ०७३÷०७४ मा शाखाले एक करोड २० लाख ४० हजार ४९ रुपैयाँ आम्दानी र एक करोड ४ लाख ४३ हजार ५७८ खर्च भएको छ भने आ. व. ०७४÷०७५ का लागि एक करोड ८९ लाख १४ हजार ६०३ रुपैयाँबराबरको बजेटको अनुमान गरिएको कोषाध्यक्ष बद्रीबहादुर कार्कीले जानकारी दिए ।
समारोहमा प्रदेशसभा सदस्यमा मनोनित सांसद रेडक्रसकर्मी ओमप्रकाश सरावगी र मेचीनगर नगरप्रमुख रेडक्रसकर्मी विमल आचार्यलाई विशेष सम्मान गरिएको थियो भने जिल्लामा सबैभन्दा बढी रक्त संकलन गरी रेडक्रसलाई सहयोग पुर्याएकोमा मारवाडी सेवा समिति विर्तामोड, युवा रेडक्रस सर्कल इलाम बहुमुखी क्याम्पस र नेपाल बहुउद्देश्यीय सहकारी संस्थालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो भने सडक सुरक्षा कार्यक्रमका स्वयम्सेवकहरुलाई सम्मान प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी, जिल्लाभरिबाट तीनवडा उत्कृष्ट उपशाखालाई नगदसहित पुरस्कृत गरिएको थियो ।
आउँदो चैतदेखि स्वर्ण महोत्सव मनाउने तयारी गरिरहेको झापा रेडक्रस देशकै उत्कृष्ट रेडक्रसको रुपमा स्थापित भएको शुभकामना मन्तव्य प्रकट गर्ने वक्ताहरुले व्यक्त गरेका थिए । प्रमुख अतिथि कार्की, झापा क्षेत्र नं ३ का प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, जिल्ला समन्वय सति झापाका अध्यक्ष सोमनाथ पोर्तेल, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, मेची अञ्चल अस्पताल विकास समिति अध्यक्ष राम कट्टेल, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय कोषाध्यक्ष भक्त खवासलगायते शुभकामना व्यक्त गरेका थिए ।
नयाँ कार्यसमिति चयन गरिँदै
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको वर्तमानकार्यसमितिको चावर्षे कार्यकाल सकिएको छ । १५६ जना सभासद रहेको शाखामा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया पनि शुरु भइसकेको निर्वाचन समितिका संयोजक इलाम जिल्ला रेडक्रस शाखाका सभापति देवी गौतमले जानकारी दिए । उनका अनुसार शनिबार उम्मेद्वारी मनोनयन दर्ताको कार्यक्रम रहेको उनले जानकारी दिए । कार्यसमितिको सभापतिमा शुक्रबारसम्म आकांक्षी कोही नदेखिएकोले वर्तमान सभापति लोकराज ढकालले नै सर्वसम्मत दोहोर्याउने संभावना देखिएको छ भने सदस्यमा आकांक्षी धेरै देखिएकोले सदस्यमा चुनाव हुने संभावना रहेको छ । यद्यपि, सबै पदाधिकारी सर्वसम्मत गर्ने प्रयत्न अन्तिमसम्म रहने सभापति ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com