झापा र आर्मी दुवैले यसबर्षको उपाधि चुम्ने दावी

बिर्तामोड, फागुन २६। झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैले यसबर्षको उपाधि चुम्ने दावी गरेका छन् । आइतबार पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कढा मेहेनत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् । उनले आर्मी सशक्त टीम भएपनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए । प्रशिक्षक कटवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पुर्ती गर्न बिश्वास श्रेष्ठलाई यसैबर्षदेखि अनुबन्धन गरेकाले खेल जित्ने दावी गरेका छन् ।
झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।
आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागि खेलाडी रहेका छन् । झापाको टीम सशक्त रहेको भएपनिे यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावी समेत थापाले गरेका छन् । आर्मीले यसबर्ष देशका बिभिन्न स्थानमा भएका गोल्डकपमध्ये ६ वटा गोल्डकपको उपाधि जितेको छ ।
आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो बर्ष अतिरिक्त समय थपिनुपर्ने बताए । निर्धारित ९० मिनेको खेलमा बराबरी भए सिधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।
झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले बिभागीय टीम नेपाल पुलीस र मनाङ मस्र्याङदी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com