सडकमै रात बिताउँछन् बालबालिका

सुरेन्द्र भण्डारी
बिर्तामोड, फागुन २८। झापाका मुख्य बजारका सडकमा गाँस, बास र कपासको खोजीमा भाँैतारिने ५०–६०को हाराहारीमा बालबालिका छन् ।
विभिन्न उमेर समूहका भए पनि उनीहरुको मुख्य काम मागेर खानु हो । माग्दा नपाइए चोरी गर्नु उनीहरुका लागि कुनै नौलो कुरा होइन । उनीहरु के खान्छन्, कसरी खान्छन्, के लगाउँछन्, के ओढ्छन् र कहाँ सुत्छन्, अनि कहाँबाट आए यत्तिका धेरै बालबालिका ? त्यसको कसैलाई चासो छैन ।
सडक बालबालिकाका रुपमा चिनिएका उनीहरुलाई समाजका लव्धप्रतिष्ठित व्यक्तिले नै ‘खाते’ उपनामले बोलाउँछन् । ८ वर्षदेखि १५ बर्ष उमेर समूहका एकै नासे बालबालिका बजार क्षेत्रमा यत्र–तत्र भेटिँदा पनि सम्बन्धित निकाय, स्थानीय सरकार भने अझै बेखबर छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले सडक बालबालिका व्यवस्थापन गर्न ‘सडक बालबालिका उद्धार संरक्षण तथा व्यवस्थापन मार्गदर्शन २०७२’ जारी गरेको छ । तर, जारी मार्गदर्शन कागजमै सीमित हुँदा १६ बर्षमुनिका बालबालिका बाँच्ने झिनो आशा बोकेर सडकमा दिनहुँ भौंतारिरहेका छन् ।
अन्तर्राष्ट्रिय कानून अनुसार १८ वर्ष भन्दा मुनिकालाई र नेपालको कानूनले १६ बर्ष भन्दा मुनिका व्यक्तिलाई बालबालिका भनेको छ । २०६८को जनगणना अनुसार १६ वर्ष भन्दा मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको झण्डै ४० प्रतिशत छ । १८ वर्ष मुनिका भने ४४ प्रतिशतभन्दा बढी छन् । ती मध्ये विद्यालय उमेर समूहका झण्डै ६ प्रतिशत बालबालिका अझै पनि विद्यालय जान पाएका छैनन् भने पाँच हजार बालबालिका सडकमा जीवन बिताइरहेका छन् । सडक बालबालिकाको सख्या भने प्रत्येक बर्ष चार सयका दरले बृद्धि हुँदै आएको सरकारी तथ्याङ्क छ ।


बाल अधिकारको संरक्षणको प्रमुख जिम्मेवारी घर परिवारको भए पनि घर परिवारले उनीहरुको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको अवस्थामा राज्यको प्रमुख जिम्मेवारी रहन्छ । तर, राज्यले सडकमा यत्रतत्र हिँड्ने बालबालिकाको संरक्षण नगर्दा उनीहरु सडकमै रात बिताउन बाध्य छन् ।
कति बालबालिका चोरी, लुटपाट, लागूऔषध दुव्यर्सनमा संलग्न छन् भने कतिपय बालबालिका विभिन्न असामाजिक क्रियाकलापमा लागेको पाइएको छ । बालबालिकाका क्षेत्रमा विभिन्न संघ–संस्था र राज्यले लाखौं रुपैयाँ वर्षेनि खर्चिने गरेपनि खर्चिएको रकमले त्यस्ता बालबालिकालाई नछुँदा उनीहरुको भविष्य अन्यौलमा छ ।
दमक र भद्रपुर
तथ्याङ्क संकलन गर्दै
चोरी, लुटपाट, लागूऔषध दुव्यर्सनमा सडक बालबालिका संलग्न रहेको पाइएपछि दमक र भद्रपुर नगरपालिकाले उनीहरुको तथ्याङ्क संकलन गर्न शुरु गरेको छ । बजार र सडकपेटीमा रहेका बालबालिकाहरुको अवस्था दयनीय रहेको भन्दै दमक नगरपालिकासँगको सहकार्यमा लागूऔषध पुनःस्थापना संघको अगुवाइमा अहिले त्यस्ता बालबालिकाको संरक्षण र तथ्याङ्क संकलन शुरु गरिएको हो । नगरपालिकाले उनीहरुको संरक्षणका लागि बजेट नछुट्याएपनि विभिन्न शीर्षकबाट उनीहरुको भरणपोषण र संरक्षण गर्ने नगरप्रमुख रोमनाथ ओलीले बताए । उनले दमक नगरपालिकामा मात्रै १८देखि २०को संख्यामा अभिभावकविहीन सडक बालबालिका रहेको र अभिभावक भए पनि कुलतमा फसेका बालबालिकाको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए ।
यता भद्रपुर नगरलालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडक बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको र उनीहरुका लागि ठोस् कार्यक्रम नभए पनि संरक्षणका लागि योजना बनाएर अघि बढ्ने बताए ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो नगरमा अहिलेसम्म सडक बालबालिका नभएको बताउँदै समस्या देखिएको खण्डमा तत्काल उनीहरुको संरक्षण र पुनःस्थापना गर्ने बताए । लागूऔषध प्रयोगकर्ताविहीन ‘भिजन’ बनाएर अघि बढ्ने नगरप्रमुख पोखरेलको भनाइ छ ।
यसरी फस्छन् कुलतमा बालबालिका
दमक निवासी चक्रबहादुर दर्जीकी श्रीमती गंगा नाबालक दुई छोरा छोडेर अर्कैसँग हिँडेपछि छोराको लालनपालन र रेखदेख गर्न उनले कान्छी श्रीमती भित्र्याए । कान्छी श्रीमती भित्र्याएको केही दिनमै चक्रबहादुरको घरमा आगो लगाएर उनी पनि हिँडिन । कान्छी श्रीमती हिँडेको हप्तादिन बित्न नपाउँदै चक्रबहादरको मृत्यु भएपछि उनका दुई छोरा सहाराविहीन बने । बिजय चक्रबहादुरका कान्छा छोरा हुन् । दाजुको अत्यधिक मादकपदार्थ सेवनका कारण मृत्यु भएपछि बिजयको संरक्षक कोही भएन त्यसपछि उनी सडकमा रात बिताउन बाध्य भए । अभिभावकविहीन बन्न पुगेका बिजय साथीको लहैलहैमा लागेर लागूऔषध सेवन गर्न थाले । उनले दमकको सडकमा सात वर्ष बिताए । उनी अहिले १५ वर्षका भए । सात वर्ष सडकमा बिताउँदा उनले भोक मेटाउन कहिले मागे त कहिले चोरी गरे । चोरी गर्दा धेरैपटक कुटाइ खाएको तीतो अनुभव छ उनसँग । उनी अहिले सडकबाट सुधार गृहमा छन् ।
उनी मात्र होइन दमककै १५ वर्षीय सरोज श्रेष्ठ पनि हाल सुधारगृहमा छन् । उनका अभिभावक भए पनि निम्न आर्थिक अवस्थाका कारण सिङ्गो परिवार मागेर हिँड्ने गरेको उनले बताए । उनले पनि दमक लगायत पूर्वका विभिन्न बजार र सडकमा रात बिताएका छन् । उनले सडकमा रात बिताउँदा डेन्ड्राइट लगायतका नशालु पदार्थ सेवन गर्न सिके । लागूऔषध प्रयोग गर्नकै लागि कहिले पकेट मारे त कहिले चोरी गरे । माग्दा नपाएपछि धेरैपटक चोरी गरेको सुनाउँदै उनले भने– कति पटक त टेलिफोन, केवल र बिजुलीको तार काटेर बिक्री गरेका छौं । चोरी गर्नुभन्दा तार काटेर बिक्री गर्न सजिलो हुन थालेपछि नियमित जसो तार चोरी गथ्र्यौं– उनले भने– दमकका धेरै पसललाई हामीले चोरी गरेको तार बेचेर लागूपदार्थ किनेर खाएका छौं ।
निःशुल्क उपचार
बिर्तामोड, फागुन २७। सरोकारवाला निकायले कुलतमा फसेका सडक बालबालिकाको हेरचाह नगरेपछि नेपाल आगूऔषध पुनःस्थापना संघले उनीहरुको निःशुल्क उपचार र पुनःस्थापना शुरु गरेको छ ।
कुलतमा फसेका सडक बालबालिकाको संख्या झापामा दिनानुदिन बढेको भन्दै उनीहरुलाई सही वाटोमा ल्याउन संघले निःशुल्क उपचार र पुनःस्थापना शुरु गरेको संघका केन्द्रीय अध्यक्ष राजु गिरीले बताए । उनले भने– सडक बालबालिकाको अवस्था दयनीय रहेको छ र उनीहरुलाई कसैले नहेरेकाले उनीहरुलाई उपचार गर्दै नयाँ जीवन दिलाउन हामीले अभियान शुरु गरेका हौंैं ।
अभियान अन्तर्गत दमकबाट पाँचजना सडक बालबालिकालाई संघले उद्धार गर्दै संरक्षण गरेको छ । संरक्षण गरिएका पाँच बालकमध्ये तीन जनालाई दमकमा रहेको ह्याप्पी नेपालको संरक्षणमा राखिएको छ भने दुई जना बिर्तामोडस्थित पुनर्जन्म समूह नेपालमा राखिएको छ । उनीहरुलाई निःशुल्क उपचार र पुनःस्थापन नहुञ्जेल संस्थामा राखिने र स्थानीय निकायले सहयोग गरे लागूऔषध सेवनकर्ताका रुपमा सडकमा रहेका सबै बालबालिकाको उद्धार गर्ने संघको लक्ष्य रहेको अध्यक्ष गिरीले बताए । उनीहरुको उद्धारका लागि दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकले सहयोग पु¥याएको गिरीले बताए । सडक बालबालिकाको उपचार र पुनःस्थापनपछि दमक नगरपालिका, लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको रोहवरमा समाजमा पुनःस्थापना गरिने गिरीको भनाइ छ ।
यता ह्याप्पी नेपालका कार्यक्रम संयोजक तथा नेपाल लागूऔषध पुनःस्थापना संघका सचिव कुमार गुरुङले सडक बालबालिकाको निःशुल्क उपचार र पुनःस्थापनका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताए । उनले सबैले यसमा सहयोग पु¥याए उनीहरुको भविष्य सुन्दर बनाउन सकिने उल्लेख गरे । केही सडक बालबालिकाको उद्धारले मात्र समस्याको दीर्घकालीन समाधान नहुने भन्दै उनले सवै पक्षलाई सहयोग पु¥याइदिन आग्रह गरेका छन् ।
प्रोग्राम को–अर्डिनेटर रेवत बस्नेतले सबै सडक बालबालिकालाई लक्षित गरी पुनःस्थापन परियोजना सञ्चालन गर्ने र सडक बालबालिकालाई लागूऔषध सेवन गर्नबाट टाढै राखेर उनीहरुको भविष्य सुनिश्चित गर्ने बताए । संघका महासचिव वुद्धि सुव्वाले सरोकारवाला निकायले उनीहरुका विषयमा खोजी नगर्दा समस्या सृजना भएको र तत्काल उनीहरुको पुनःस्थापन गर्न नसकिए त्यसले जटिल रुप लिने बताए । उनले सरोकारवाला निकायसँग समन्वय गरी सबै सडक बालबालिकाको उद्धार र संरक्षण गर्न संघ लागीपरेको बताए ।
झापामा लागूऔषध नियन्त्रणका क्षेत्रमा १३ वटा संघ–संस्था क्रियाशील रहेको संघका केन्द्रीय अध्यक्ष तथा पुनर्जन्म समूह नेपालका सञ्चालक गिरीले बताए । उनले दमकबाट सुरज श्रेष्ठ, सुरज दर्जी, विशाल श्रेष्ठको उद्धार गरिएको र उनीहरुलाई दमकस्थित ह्याप्पी नेपालको संरक्षणमा राखेर उपचार शुरु गरिएको बताए । त्यस्तै बिजय दर्जी र सुरज श्रेष्ठलाई आफ्नै पुनःस्थापना केन्द्रमा राखेर उपचार शुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com