कसले मार्ला बाजी ? झापा VS आर्मी

नरेन्द्र ढकाल
फुटबल भन्ने बित्तिकै सबैको मन फुरुङ्ग हुनु स्वभाविकै हो । खेलमध्येको सबैभन्दा रुचाइएको खेल हो फुटबल । विभिन्न हिसाबले अग्रस्थानमा रहेको झापा खेल क्षेत्रमा पनि आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । झापा जिल्लामा जन्मेर विभिन्न क्लबहरुबाट खेल खेल्दै आएका खेलाडीहरुलाई आफ्नै जिल्लाको क्लबबाट खेल्न आग्रह गर्दै झापा–११ फुटबल क्लबको स्थापना भए लगत्तै सम्पूर्ण झापालीको मन जित्न सफल क्लबले शुरुवातमा नै उत्कृष्ट खेल प्रर्दशन गर्दै ए डिभिजन क्लबको मान्यता पाउन सफल भयो ।
राष्ट्रिय स्तरका उपाधि जित्न सफल झापा–११ ले पूर्वका खेल सर्मथकको साथ पाएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला, भन्द्रपुरमा रहेको रंगशाला तथा काँकरभिट्टा, दमक लगायत झापाका अधिकांश स्थानमा रहेका खेल मैदानले गर्दा पनि खेलप्रति लगाव राख्नेहरुले प्रगतिको पथमा अघि बढ्ने मौका पाएका छन् । फुटबल खेलमा लामो समयसम्म आफ्नो जीवन ब्यतित गर्नेहरुले खेलाडीहरुलाई दिएको प्रोत्साहन पनि अविस्मरणीय रहेको छ ।
यहाँका उद्योगी, ब्यवसायी, खेलप्रेमी महानुभाव तथा पत्रकार सबैको साथ पाएको झापा गोल्डकपले फुटबल खेलको श्रीवृद्धिमा ठूलो योगदान पु¥याएको छ । भनिन्छ, खेलमा न कुनै जात हुन्छ न कुनै पार्टी, न त कुनै धर्मले नै रोक्छ । खेल भने पनि मानिसले सबैकुरा भुलेर त्यसको मज्जा लिइरहेको हुन्छ भने खेलाडी आफ्नो टिमको सफलताका लागि प्रयत्नशील हुन्छ । झापा गोल्डकपले झापाली खेलाडीको मात्र नभई खेलमा सहभागी टिमलाई आफ्नो खेलको विकासका निम्ति महत्वपूर्ण योगदान पु¥याएको छ ।
विभिन्न स्थानमा गोल्डकपहरु हुँदै आएका छन् तर झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी प्रतियोगिताले खेल र उपाधि मात्र नभई खेलमैदान पनि उत्कृष्ट हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ । यो रंगशाला देशकै उत्कृष्ट रंगशालाको रुपमा दर्ज भइरहेको छ । यसको ब्यवस्थापनका लागि खेल आयोजकले गरेको मेहनतको प्रशंसा जति गरे पनि अधुरै हुन सक्छ ।
खेलमैदान र झापाली दर्शकको साथ पाएको झापा–११ ले सोमबार (आज) हुने फाइनल भीडन्तमा कस्तो प्रर्दशन गर्ने हो भन्ने उत्सुकता आम झापालीमा ब्याप्त रहेको छ । यसअघिका प्रथम झापा गोल्डकप र दोस्रो झापा गोल्डकपमा उपविजेता बनेको झापा यसपटक भने उपाधि आफ्नै पोल्टामा पार्ने दाउमा रहेको छ । प्रथम झापा गोल्डकपमा आम झापालीलाई स्तब्ध बनाउँदै उपाधि चुमेको त्रिभुवन आर्मी क्लब यस पटक पनि सोही दाउका साथ मैदानमा उत्रदैछ । हरेक खेलमा कुनै पनि खेलाडीले आफू हार्छु भनेर मैदान प्रवेश गर्दैन तर खेलको नियम नै यो हो कि कुनै न कुनै एक टोली विजेता बन्नु पर्छ र अर्को उपविजेता बन्नैपर्छ ।
यो सिजनमा सुधारिएको प्रदर्शन गर्न नसकेको झापालाई आफ्नै मैदानमा आयोजना भइरहेको उपाधि चुमेर फुटबलमा झापा–११ अब्बल छ भन्ने सन्देश दिन हतारो छ भने विपक्षीविरुद्ध कहिल्यै कमजोर नहुने अडान बोक्ने आर्मी आफ्नो दाउमा प्रयत्नशील हुनेछ । हरेक खेलमा विजयी हुन आ–आफ्नै रणनीति हुनै पर्छ । आज हुने झापा गोल्डकपको उपाधि भीडन्तमा झापाली दर्शकको भरपुर साथ पाउने झापाले सशक्त ढंगमा मैदान उत्रन जरुरी रहेको छ । झापा–११ ले आर्मी शारीरिक रुपमा बलियो टिम हो भन्ने मानसिकता तयार गरेर मैदान उत्रिएका झापाली दर्शक फेरि एकपटक निराश बनदै घर फर्कनु नपर्ला भन्न सकिन्न । हो आर्मी शारीरिक रुपमा अब्बल होला तर खेल मैदानमा उत्रिए पछि झापाली खेलाडीले आफूभन्दा कमजोर टिम भएको भन्दै आत्मबल बलियो बनाउन सकेर रणनीतिक खेल प्रर्दशन गर्न सके मात्रै उपाधि आफ्नै पोल्टामा पार्न सक्छ नत्र यसै भन्न सक्ने अवस्था छैन ।
झापाले यघअघिका खेलमा भएका कमजोरीलाई सुधार गर्दै आफूलाई सशक्त ढंगमा प्रस्तुत गर्न सक्नुपर्छ । खेल प्रति यति धेरै जागरुक झापा र झापालीका लागि झापा गोल्डकप ऐतिहासिक अवसर पनि हो । अब झापाका खेल प्रेमीले विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्ने विषयमा सोच्न जरुरी रहेको छ ।
यो आयोजनाले निरन्तरता पाउँदै विशुद्ध राजनीति तथा ब्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेमा मात्रै यसको विकासले द्रुत गति प्राप्त गर्ने थियो । हरेक क्षेत्रमा राजनीतिले गर्दा किचलो आउने गरेका घटनाहरु आइरहँदा समेत झापा गोल्डकपभित्र कुनै त्यस्तो दुर्गन्ध नआउनु आमझापाली फुटबल प्रेमीका लागि एउटा सुखद् समाचारको विषय हो । झापा गोल्डकपले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा छुट्टै पहिचान बनाउन सकोस् शुभकामना । आज हुने आर्मी र आयोजकबीचको उपाधि भीडन्तका विजेता तथा उपविजेता दुबै टिमलाई सफलताको अग्रिम शुभकामना !

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com