भद्रपुरको बिकास बारे काठमाडौंमा छलफल

काठमाडौं, चैत ५। नेपालकै पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको सर्वाङ्गिण विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा काठमाडौंमा बृहत् छलफल भएको छ ।
काठमाडौँको बागबजारस्थित हार्दिक होटलमा प्रबुद्ध व्यक्तित्वहरुका माझ भद्रपुर नगरपालिकाको एकीकृत शहरी विकास योजनाको मस्यौदामाथि घनिभूत छलफल गरिनुका साथै सहभागीहरुबाट सुझावसमेत संकलन गरिएको थियो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित सो अन्तरक्रियात्मक गोष्ठीका वक्ताहरुले भद्रपुरको विकासका सन्दर्भमा तयार पारिएको योजनाको मस्यौदाको प्रशंसा गर्दै थप सुझावहरु प्रस्तुत गरेका थिए ।
झापा भद्रपुरका वासिन्दा साना किसान विकास बैंकका मुख्य प्रवन्धक झलेन्द्र भट्टराईले सञ्चालन गरेको गोष्ठीमा भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरु, क्षेत्र नं. ३का प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङ्देन, प्रदेश सांसद बसन्त बानियाँ, पूर्व राज्यमन्त्री जितु गौतम, पेशागत महासंघ झापाका पूर्वअध्यक्ष वेदनिधि निराला, भद्रपुर निवासी प्रा.डा. लक्ष्मी मैनाली, माधव न्यौपाने, उमेश उपाध्याय, कुमार राजभण्डारी, डा. आनन्द श्रेष्ठ, तुलसीबहादुर श्रेष्ठ, उपसचिव ओमकुमारी पोखरेल, सहसचिव सुमन दाहाल, सीईओ सन्तोष कोइराला, एक्सेल डेभलपमेन्ट बंैकका पर्शुराम दाहाल, भद्रपुर नगरपालिकाका पूर्वकार्यकारी अधिकृतहरु सुवास श्रेष्ठ र सन्तोष घिमिरे, गणेश लम्साल, प्रकाश श्रेष्ठ, प्रज्ज्वल कोइराला, मोहन कटुवाल, लीला चुडाल मैनाली, देवेन्द्र आचार्य, सुवास चापागाँई, शशी दाहाल, कोषराज न्यौपानेलगायतले मस्यौदामाथि छलफल गर्दै महत्वपूर्ण सुझाव राखेका थिए । लीला चुडाल मैनालीले सोही कार्यक्रममा भद्रपुर पुस्तकालयलाई दुई लाख रुपैयाँ बराबरको पुस्तक उपलब्ध गराउने घोषणा गरेकी थिइन् ।
उनीहरुले भद्रपुर नगरपालिकाको छुट्टै इतिहास र गरिमा रहेको उल्लेख गर्दै यसको ऐतिहासिकतालाई समेत ध्यानमा राखेर विकासका योजना कार्यान्वयन गर्दा भद्रपुर अन्य शहर तथा गाउँका बासिन्दाका लागि पर्यटकीय नगरी बन्नसक्ने समेत विचार व्यक्त गरेका थिए ।
भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । सो अन्तरक्रियामा एकीकृत शहरी विकास योजनाको मस्यौदा तयार पार्ने नेपाल डेभलपमेन्ट कन्सलटेन्सी प्रालिकातर्फबाट डा. केदार दाहालले सो योजनामा रहेका मूलभूत अन्तर्वस्तुका बारे जानकारी गराएका थिए । सबै सहभागीको सुझाव संकलनका लागि समय अपुग भएपछि भद्रपुर नगरपालिकाको वेबसाइटबाट अध्ययन गर्न तथा इमेलमार्फत पनि सुझाव दिन आग्रह गरिएको बताउँदै नगर प्रमुख श्रेष्ठले प्राप्त सुझाव तथा विचारहरुलाई समेट्दै मस्यौदाको समृद्ध दस्तावेज तयार पारी त्यसैका आधारमा भद्रपुरको विकास–योजना अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com