आँखा दान–महादान

५ चैत्र २०७४, सोमबार मा प्रकाशित

नेपालमा प्रति हजारमा एकजना दृष्टिविहीन रहेको सरकारी तथ्यांक छ । सरकारद्वारा गरिएको अन्धोपन सर्वेक्षणले प्रस्तुत गरेको सो तथ्यसँगै विश्वमा प्रति सेकेण्ड एक जनाले दृष्टि गुमाइरहेको प्रतिवेदन पनि सार्वजनिक भएको छ । मानव अङ्गहरु सबैको आ–आफ्नै विशेषता छन्, तिनले आ–आफ्नो जिम्माको काम निरन्तर गरिरहन्छन्। एकले अर्काको काममा बाधा नपुर्याउने भएका कारण मानव जीवन प्राकृतिकरुपमा मृत्युपर्यन्त एकनाश चलिरहन्छ । सबै अङ्गको आ–आफ्नै भूमिका रहँदा–रहँदा पनि आँखालाई सर्वाधिक महत्वको मानिन्छ, किनकि यसकै माध्यमबाट संसार देख्न सकिन्छ ।
आँखाको दृष्टि गुणलाई अनुभूत गर्दै व्यक्तिको दृष्टिविहीनताका कारण भएको फरक क्षमता भएकालाई अरु सरह बनाउन सामुहिक आँखा दान राष्ट्रिय अभियानको तयारी गरिएको छ । अप्टिमिष्ट नेपाल अन्तर्गत झापामा स्थापित अप्टिमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीले ‘आँखा जीवन हो’ भन्ने नाराका साथ सामुहिक आँखा दान अभियान शुरु गरिने जानकारी दिए । अध्यक्ष ओलीले आउँदो चैत २४ गते बिर्तामोडमा अभियानको उद्घाटन गरिने बताउँदै मृत्युपछि दान गरिएको एउटा व्यक्तिको आँखाले दुईजना दृष्टिविहीनले संसार देख्न पाउने भएकाले यो पवित्र कार्यमा सहभागी हुन सबैलाई आह्वान गरे ।
मरणोपरान्त शरीरका विभिन्न अङ्गहरु दान गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ । तर, दान गरिएका अङ्ग ग्रहण गर्नुपर्ने संस्था र प्रविधिको अनुपस्थितिले दाताले दान गरेको अङ्गले अपेक्षित काम गर्न पाएको छैन । यसैक्रममा अप्टिमिष्ट क्लव अफ झापाले मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा सञ्चालन गर्न लागेको अभियानले भने संसार देख्न नपाएकाहरुलाई उज्यालो संसार देखाउने आशा गर्न सकिन्छ । निधनपछि मात्र आँखा निकालिने भएकाले व्यक्तिले जीवितावस्थामै आँखा दानको इच्छापत्र फाराम भर्नुपर्नेछ । त्यस्तो इच्छापत्र गर्नुअघि सम्बन्धित दाताले आफ्नो परिवारको सहमति र स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था छ ।
मानव जीवन महत्वपूर्ण छ । वैदिक सनातन धर्ममा चौरासी लाख जुनीमा एकपटक मात्र मानवजीवन पाइने मान्यता रहेको छ । लोकोपकारका लागि जीवित अवस्थामै आफ्नो शरीरको हड्डी दान गर्ने दधिचि ऋषिको कथा पढेका, सुनेका र त्यही दर्शनका अनुचरहरुले अप्टिमिष्ट क्लव अफ झापाको अभियानलाई हातेमालो गर्ने छन् । यस्तो अभियानमा हेपाटाइटीस, एचआइभी, क्षयरोग, आँखा पाक्ने र क््यान्सर लगायतका रोगीहरु बाहेकले सहभागिता जनाउन सक्ने भएकाले मृत्युपछि प्रदान गरिने आँखाले नयाँ शरीरमा प्रवेश गरेर फेरि संसार देख्न पाउने सुखद् अवस्था नै हुनेछ । यस्तो सुखद् अवस्था प्रदान गर्न तत्पर अप्टिमिष्ट क्लव अफ झापा, मेची आँखा अस्पताल, प्राविधिक सबैमा अभियानको सफलताको शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here