ओलीको बोली खोलै खोली

प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्मका प्रधानमन्त्रीहरुमा सबैभन्दा खरो बोली भएका मानिन्छन् । उनको पहिलो कार्यकाल बोल्दैमा बित्यो, काम भएन । नौ महिने कार्यकाल भएकोले उनले बोले अनुसार काम गर्न पाएनन् भन्ने आम जनतामा परेकोले दोस्रोपटक उनले बोले अनुसार काम गर्छन् भन्ने विश्वासमा बहुमत दिएका छन् । तर, प्रथम ग्रासे मक्षिका पात भने जस्तो यसपटक उनले बोले अनुसार काम गर्लान् जस्तो देखिएको छैन । यसैले पंक्तिकारलाई लाग्यो ओलीको बोली खोलै खोली ।
आमजनता पंक्तिकारलाई लागेजस्तो नहोस् भन्छन् । पंक्तिकार पनि त्यही आम जनतामै पर्ने भएकोले उ पनि आफ्नो लगाई पूरा होस् भन्न चाहँदैन । पंक्तिकारले नचाहँदैमा वा चाहँदैमा ओलीको बोली खोलैखोली हुने वा नहुने होइन । तर, एक महिनाकै चालामाला हेर्दा बोले जस्तो काम गर्न सहज हुँदैन भन्ने वास्तविकता छर्लङ्गै भएको छ ।
पहिलो कुरा उनले मन्त्रीपरिषद्लाई अहिलेसम्म पनि पूर्ण गर्न सकेनन् । जब कि उनको बोली अनुसार हेर्ने हो भने दुई दिनमै मन्त्रीपरिषद्ले पूर्णता पाउनुपथ्र्यो । त्यो भएन । त्यस्तै पहिला मन्त्रालय १७ वटा मात्र बनाउने भनी मन्त्रीपरिषद् बैठकले निर्णय गर्यो । तर, त्यो निर्णयको मसी सुक्न नपाउँदै मन्त्रालय बढाएर २२ पुर्याइयो । अझ बढाएर २५ पुर्याउने तयारी गरिँदैछ ।
उनले बोल्नुको सट्टा संविधान अनुसारका मन्त्रालय रहन्छन् मात्रै भनेको भए अहिले उनको बोलीलाई पंक्तिकारले खोलैखोली भन्ने मौका पाउँदैनथ्यो । पंक्तिकार प्रधानमन्त्री जस्तो व्यक्तित्वको बोली खेर जाओस् भन्न चाहने मान्छे होइन । चाहे त्यो ओलीको होस् वा देउवाको अथवा प्रचण्डको ।
प्रचण्डले पहिलो कार्यकालमा खुबै बोले । निर्वाचनमा पराजितलाई हरुवाहरुसम्म भन्न पछि परेनन् । तर, अर्को चुनावमा तेस्रो स्थानमा पुगेपछि दोस्रो कार्यकालमा उनको चर्को बोलीमा ब्रेक लाग्यो । अलि सम्हालिएर बोल्ने भए । तर, उनको बोलीमा भने एकरुपता भएन । त्यसलाई उनले डायनामिक भने भने अरुले पिँध नभएको लोहोटासम्म भन्न भ्याए । पंक्तिकारले भने मौकापरस्त भन्ने विश्लेषण गरेको थियो ।
जे होस् नेपालको २०६० साल पछिको राजनीतिमा कसैलाई चित्त बुझोस् नबुझोस् प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको अहम भूमिका छ । उनीहरु दुबैले खतरा नमोलेको भए हामी कहाँ हुन्थ्यौं वा देश कहाँ हुन्थ्यो पत्तो छैन । दुबैले लिएको राजनीतिक निर्णयले देश रह्यो, निरंकुश राजतन्त्र सदाका लागि गयो । जनताको छोरा–छोरी देशको उच्च तहमा पुग्न सक्ने भए । अहिले ठूलो कुरा गरेर हुँदैन । हिजो प्रशासन र आम जनता जो माओवादीको सानो पनि आलोचना गर्थे ती सेनाको घेरा वरिपरि सिमित थिए । आज दुबै नेताका कारण फुक्का भएपछि ठूला कुरा गरेर हुँदैन । यसैले उनीहरुकै देनबाट आएको गणतन्त्र, समावेशी र संघीयतायुक्त संविधान अन्तर्गत देशमा नयाँ राजनीतिक व्यवस्था स्थापित भएको छ । अब यसको होसियारीपूर्वक जगेर्ना गर्दै आर्थिक समृद्धिमा देशलाई अघि बढाउने बेला आएको छ ।
यस्तो संगीन घडीमा बोलीका पर्रा छोडेर वा प्रक्रियागत ढंगले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर आम जनता र विदेशीहरुको आँखामा पनि सरकार व्यक्तिको हुँदो रहेछ भन्ने सन्देश दिने काम जुन भइरहेको छ, यसबाट देशको समृद्धि हुँदैन । उल्टै सरकारप्रति अविश्वास बढेर जान्छ । उदाहरणका लागि अघिल्लो सरकारले कमैचारीलाई स्वेच्छिक अवकाश रोज्ने भनेर आवेदन माग्यो । आवेदन दिने हजारौं भए । विशेष प्याकेज दिएर विदा गर्ने भनियो । यो प्रक्रियागत निर्णय थियो । तर अहिले सुनिँदैछ त्यो निर्णय उल्टाइँदैछ ।
पंक्तिकार राजनीतिक निर्णयको बारेमा बोल्दैन । राजदुत परिवर्तन गर्ने कुरामा बोल्दैन । कानून अनुसार कर्मचारीको सरुवा गरेको कुरामा बोल्दैन । तर, प्रशासनिक छलफल गरेर केन्द्रका ५० बर्ष उमेर पार भएका कर्मचारीलाई विशेष प्याकेज दिएर विदा गर्ने र तिनको ठाउँमा आधुनिक प्रविधिको ज्ञान भएका युवा कर्मचारीहरु छनौट गरी राख्ने कुरा उपयुक्त र समय सापेक्ष थियो । त्यसलाई उल्टाउनु हुँदैन ।
चर्को बोलेर देशको विकास हुने भए नेपाल उहिल्यै स्वीटजल्याण्ड भइसक्थ्यो । काठमाडौंमा मेलम्चीको पानी उहिल्यै आइसक्थ्यो । पाँच वर्ष अघि नै नेपाल विदेशमा बिजुली बेच्ने देश भइसक्थ्यो । भ्रष्टाचार भन्ने शब्द शब्दकोशमा मा हेर्न पाइन्थ्यो । अहिलेका २५ बर्षे युवाले भ्रष्टाचार र घुस भनेको के हो भनेर पुराना बुढापाकामा गएर सोध्ने थिए । बोलेर होइन गरेर देखाउने बेला आएको छ । हाम्रो देशमा गरेर देखाउन खोज्नेलाई मौका दिइन्न । लालबाबु पण्डित काठमाडौंलाई एक बर्षमा मास्क लगाउन नपर्ने बनाउँछु भन्छन् । तर, उनी त्यस मन्त्रालयमा एक महिना पनि टिक्न पाएनन् । उनलाई समान्य प्रशासन मन्त्रालयमा सारियो । त्यहाँ पनि उनी काम गर्न थाले भने अर्कोमा सारिन्छन् अथवा फालिन्छन् पत्तो छैन ।
गोकर्ण बिष्टले पिहिलो पटक उर्जामन्त्री हुँदा अलिकति विद्युत् चुहावट नियन्त्रण गर्दै सुधारका कुरा गर्याथे, अर्को पटकमा उनी मन्त्री हुन पाएनन् । अहिले श्रममन्त्री भएका छन् । उनले केही काम देखाउन थाले भने उनलाई हटाउन आइतबार पर्खन्छन् जस्तो लाग्दैन । हाम्रो देशको वास्तविकता यस्तो छ । यस्तो वास्तविक इतिहासले भरिएको देशमा ओलीको चर्को बोली कहिलेसम्म टिक्ने हो पत्तो छैन । त्यसैले पंक्तिकारको ओलीजीलाई सल्लाह छ बोलेर वा कर्मचारी र मन्त्रीहरुलाई थर्काएर होइन एक्सनमा उत्रिएर काम देखाउ । तब तिम्रो बेली खोलै खोली हुँदैन । अर्थात् बगेर जाँदैन ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com