‘माकुरा’ले मिलायो वीपी वनवाटिकाको २५ वर्ष पुरानो जग्गा विवाद

बिर्तामोड, चैत ७। झापाको कनकाई नगरपालिका–५ स्थित वीपी स्मृति वनवाटिकाको जग्गा सम्बन्धी २५ वर्ष पुरानो विवाद ११ बुँदे सहमतिका साथ टुंगिएको छ ।
चरणगत लामो छलफल प्रक्रियाबाट उक्त विवाद मिलेको हो । उक्त क्षेत्रमा रहेको ऐलानी प्रति जमिन २०४४ सालदेखि नै संरक्षण गर्दै आएको वन क्षेत्र २०५० सालमा वीपी स्मृति वनवाटिका नामकरण भई विधिगत ढंगवाट संचालन हुदै आएको हो । वनवाटिका सञ्चालन भएको केही समयपश्चात वन क्षेत्र क्रमशः खुम्चिदै गए पछि समिति र वरिपरि वन क्षेत्र जोतभोग गर्ने बीच समस्या आउन थालेपछि समाधानको लागि पटक–पटकको छलफल भए पनि सही निकास आउन नसकेपछि समस्या ज्यूँका त्यूँ थियो ।
गत जेठ २२ गते तत्कालीन कन्काई नगरपालिकाका प्रमुख खगेन्द्र गिरीको अध्यक्षतामा उक्त क्षेत्रका अगुवा समाजसेवी तथा सरोकारवालाहरुको उपस्थितिमा भएको पूर्व तयारी बैठकले दिएको सुझाव र सल्लाहको आधारमा द्वन्द्व रुपान्तरण प्रक्रियामा काम गर्न शुरुवात गरिएको थियो । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजीकरणमा उक्त विवाद मिलेको हो । रुपान्तरण प्रक्रिया अन्तर्गत गठित माकुरा समूहको अगुवाईमा द्वन्द्वरत् पक्षहरुसँग पटक–पटकको संवाद छलफलबाट वीपी स्मृति वनवाटिका, वरिपरि जमिन जोतभोग गर्ने समुदाय र सरोकारवालाहरु बीच उक्त क्षेत्रलाई दिगो रुपमा संरक्षण र पर्यापर्यटकको क्षेत्रमा विकास गर्ने उद्देश्यले ११ बँुदामा सहमति गरी उक्त बँुदाहरु कार्यान्वयन गर्न र गराउन सम्बद्ध पक्ष राजी भएका छन् ।
सहमति अनुसार कनकाई नगर पालिका वार्ड नं. ५ को वीपी स्मृति वनवाटिकाको बुधरानी चोकबाट वीपी वन हँुदै लालपानीतर्फ जाने हालको बाटोबाट वनको पश्चिम तर्फको बाटो ५० फिट परसम्म जाने सहमति कायम गरिएको छ । त्यस्तै वीपी वनलाईभित्र पारी वनको वरिपरि घेराबारा गर्ने । कनकाई नगरपालिकाले वीपी वनवाटिकासँग समन्वय गरी उपभोक्ताको माग अनुसार भौतिक संरचनाहरु जस्तैः वडा कार्यालय स्वास्थ्यचौकी जस्ता आवश्यक कार्यालयहरु वनवाटिकाभित्र पर्ने गरी स्थापना गर्ने, राष्ट्रनायक वीपी कोइरालाको शालिक स्थापना गरी वीपी वनवाटिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आकर्षणको केन्द्र बनाउन पहल गर्ने सहमति भएको छ ।
त्यस्तै वीपी वनवाटिकाको विधान तयार गरी संस्था दर्ताको प्रक्रिया अगाडि बढाउने र २०७५ बैशाख मसान्तभित्रमा सबै प्रक्रिया पूरा गर्ने, वीपी वनवाटिकामा साधारण सदस्यता २०७४ चैत्र मसान्तभित्रमा वितरण गर्ने, वीपी वनवाटिकाको साधारणसभा २०७५ जेष्ठ महिनाको पहिलो हप्ताभित्रमा सम्पन्न गर्ने, कन्काई नगर पालिकावाट वीपी वनवाटिकाको पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको दश लाख रुपैयाँ कार्यान्वयनका लागि २०७४ माघ २२ गते सर्वपक्षीय भेलाबाट छनौट भएको समितिबाट नै उक्त कार्य सम्पन्न गर्ने गराउने समेत सहमति भएको छ ।
त्यसैगरी विगतमा वीपी वनवाटिकाको पूर्वतर्फको हाल कायम रहेको उत्तर दक्षिण तर्फको बाटो निर्माण गर्दा त्यस वरपरका किसान वा उपभोक्ताको निजी रकम लगानी गरी खर्च भएको र हाल वीपी वनवाटिकाको उक्त जमिन स्वामित्व रहेमा सम्बन्धित व्यक्तिलाई लगानी भएको रकम वीपी वनवाटिका समितिले फिर्ता दिने, वीपी वनवाटिकाको जमिनभित्र आश्रित कोही कुनै व्यक्ति पूर्णरुपमा सुकुम्बासी ठहर रहेमा त्यस्ता व्यक्तिको पहिचान गरी कनकाई नगरपालिकाले दीगो बसोबासको लागि आश्यक व्यवस्थापन गर्ने र माथि उल्लेखित सहमतिका बुँदाहरु कार्यान्वयन गर्नै क्रममा साना–ठूला समस्या उत्पन्न भए संवादको माध्यमवाट सहकार्य र समन्वय गरी समस्या समाधान गर्न माकुरा समूहले निरन्तर क्रियाशील भूमिका निर्वाह गर्ने सहमति भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले जानकारी दिइन् ।
सहमति पत्रमा कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोख्रेल, उपप्रमुख मञ्जु प्रसाई, वडा नं. ५ का वडाध्यक्ष कृष्णबहादुर राई, वरिपरि जमिन जोतभोग गर्ने समुदायका प्रतिनिधि, वीपी स्मृति वनवाटिका समितिका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको तर्फबाट संगीता थापा लगायतका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सहमतिको घोषणा तथा हस्ताक्षर कार्यक्रम वडा नं. ५ का अध्यक्ष कृष्णबहादुर राईको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा विवाद रुपान्तरणमा सहजीकरण गर्ने प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नगर प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रिय स्रोतव्यक्ति संगीता थापालाई प्रदान गरेका थिए । त्यस्तै वर्षौदेखि भोगेको जग्गा वनवाटिकालाई प्रदान गर्ने १५ जना स्थानीयलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, नगरकी उपप्रमुख मञ्जु प्रसाईं, नेकपा एमालेका रविन्द्र लम्साल, नेपाली कांग्रेसका गोविन्द कार्की, नेकपा माओवादी केन्द्र पुण्य ओझा, समाजसेवी भानु थपलिया, पूर्व जनप्रतिनिधि टिकाराम ओझा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको आचित्यमाथि संगीता थापाले प्रकाश पारेकी थिइन् भने सञ्चालन ओम पाठक र स्वागत हेमराज विमलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com