महिला हिंसा रोक्न पुरुषको ऐकबद्धता

जतिबेला हामी १०८औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका थियौं त्यति नै बेला एउटा युवतीमाथि कहाली लाग्दो घटना घट्यो । त्यो घटना कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ कि २० वर्षीया राधा चौधरीमाथि घटेको हो । बोक्सीको आरोप लगाएर त्यहीँ गाउँका धामी–झाँक्री रामबहादुर चौधरी र सोही ठाउँकी कृष्णमति चौधरीले मिलेर छ घण्टासम्म राधा चौधरीलाई चरम यातना दिँदा त्यहाँ वरिपरि उभिएका गाउँका महिला–पुरुष रमिते भएर हेरिरहेका थिए ।
यो घटनाले हामी कस्तो समाजमा बाँचिरहेका छौं ? भन्ने देखाएको छ । अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा यस्तो घटना घट्नुले यो देश कतातिर गइरहेको छ भन्ने आभाष हुन्छ । संसदबाट घरेलु हिंसा लगायत महिलामाथि हुने अपराधविरुद्ध कठोर कानूनहरु निर्माण भए लगत्तै पनि यस्ता घटना घट्नुले हाम्रो सामाजिक, सांस्कृतिक संरचना, हाम्रो न्याय प्रणाली र हाम्रो कथित सभ्य पहिचान बारेमा गम्भीर प्रश्न खडा गरेको छ । महिलामाथि हिंसाका कुरा गरिरहँदा समाजमा घटिरहेको घटनाको प्रवृत्ति हेर्दा लाज लागेर आउँछ । धेरै वर्ष पहिलाको इतिहास पढ्दा यस्तो लाग्छ । त्यसबेला महिलाहरु सुरक्षित थिए । समाजमा महिलालाई सम्मान र अधिकार प्राप्त थियो । सीता, सावित्री, गार्गी जस्ता नारीहरु शिक्षित र प्रख्यात थिए । तर, आजको समाजमा महिलामाथि हिंसा बढिरहेको छ ।
नेपालमा हाल ५७ प्रतिशतको हाराहारीमा महिलाहरु शिक्षित छन् । संविधानले महिलाको लागि ३३ प्रतिशत आरक्षण गरेर हरेक निकाय, क्षेत्रमा नियुक्ति दिने व्यवस्था गरेको छ । महिलाहरुको हकहितका निम्ति कानूनमा व्यवस्था भएता पनि व्यवहारमा त्यति सुधार आउन सकेको छैन । एकातिर महिलाहरु शिक्षित भएर समाजको हरेक क्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्दै अगाडि बढिरहेका छन् । महिलामाथि हिंसा हुनुको मुख्य कारण हाम्रो सामाजिक संरचना र यसले निर्माण गरेको विशेष मनोविज्ञानमा अन्तरनिहीत छ । पितृसत्तात्मक सोचको कारण महिलालाई दोस्रो दर्जाको मानिस ठानेर महिलाहरुको अस्तित्वलाई स्वीकार गर्नबाट पछि पर्छन् पुरुषहरु । महिलालाई एउटा लहरा बुझेका छन् पुरुषले, जसलाई सहारा दिएन भने ऊ उभिन सक्दैन । सानोमा बुबाको संरक्षण, युवावस्थामा श्रीमानको रुपमा र वृद्धावस्थामा छोराको रुपमा सहारा चाहिन्छ । यस्तो सोच पुरुषहरुमा आजसम्म यथावत चलिरहेको छ, विशेष गरी तराईमा ।
महिलाहरु जीवनको प्रत्येक मोडमा पुरुषको नियन्त्रणमा बस्नुपर्छ । भौतिक सम्पत्ति महिलाको नाममा हुन्छ तर यसको उपयोग गर्ने अधिकार महिलालाई हुँदैन । त्यस्तै आत्मनिर्णयको अधिकार हुँदैन । कतिपय मामिलामा स्वयम् महिलाले अर्को महिलालाई पछि पार्ने कार्य गरिरहेका हुन्छन् । आर्थिक परनिर्भरता, आत्मविश्वासको कमी, शिक्षाको कमीले गर्दा महिलाहरु पुरुषमाथि निर्भर हुन्छन् । शिक्षा, स्वास्थ्य, प्रजनन्, विवाह, यौन सम्बन्धी कुरामा महिलाहरु पुरुषको अगाडि चुप लागेर बस्ने बाध्यता छ । पुरुषहरु महिलाको सबै अधिकार आफ्नो हातमा लिएर यो देखाउन खोज्छन् कि महिलाविरुद्ध जे गरे पनि हुन्छ । यस्तो वर्चस्ववादी सोचको कारण समाजमा बोक्सी, दाइजो नल्याएको कारण सशरीर दहन, छाउपडी, झुमा, घुम्टो जस्तो घटनाहरुको पुनरावृत्ति अहिलेसम्म भइरहेको छ । यस्तो अमानवीय कुप्रथाको अन्त्य कहिले हुन्छ थाहा छैन । तर, यससँगै हाम्रो समाजले पनि महिलाहरुको स्त्रीत्व, चरित्र, इज्जत जस्तो कुरामा विरोधाभास देखाउँछ । कुनै स्त्रीको बलात्कार हुँदा मानमर्दन हुन्छ, इज्जत जान्छ तर पुरुषको पुरुषत्वमा केही फरक पर्दैन । यस्तो एकतर्फी प्रवृत्तिले गर्दा पनि महिलाको मनोबललाई दुर्बल पार्छ ।
आजभोलि विद्युतीय सञ्चारमाध्यममा आएको विज्ञापन, चलचित्रहरुमा पनि महिलाहरुलाई नग्यांउने र शोषण गर्ने कार्य भइरहेको छ । रक्सीको विज्ञापन होस् वा पुरुषले लगाउने अन्तरवस्त्र सबैमा महिलाको प्रयोग गरिन्छ । महिला हिंसाको अर्को पाटो समाजमा बढिरहे को दण्डहिनता, कानून हातमा लिने प्रवृत्तिसँगै अपराधको राजनीति पनि हो । समाजमा कुनै घटना घट्दा प्रहरीले आफ्नो भूमिका निर्वाह गर्दै घटना घटाउने व्यक्तिलाई समातेर ल्याउँछन् । तर, केही क्षण पछाडि माथिबाट आदेश आउन शुरु हुन्छ । अन्ततः सो व्यक्तिले रातारात उन्मुक्ति पाउँछ । विगतमा भएका गम्भीर अपराधमा संलग्न व्यक्तिले पनि राजनीतिक संरक्षणका कारण उन्मुक्ति पाएका कारण उनीहरुको मनोबल बढ्दै गएको छ । मैले जे गरे पनि हुन्छ, कानूनले मेरो के बिगार्न सक्छ ? जस्तो मनोविज्ञान निर्माण भएको कारण समाज असुरक्षित भइरहेको छ ।
भर्खरै बिर्तामोडका तीनजना सुन व्यवसायीले मिलेर आफ्नै साथी साजन मुखियाको फिल्मी शैलीमा अपहरण गरेर विभत्स हत्या गरे । उनीहरुले हत्या गर्दा सायद परिणामको कल्पना गरेको थिएनन् नत्र आफ्नै साथीको हत्या गर्नुभन्दा केही त विचार अवश्य नै गर्थे होला । आज समाजमा कसलाई विश्वास गर्नु, कसलाई विश्वास नगर्नु जस्तो भएको छ । यससँगै हाम्रो समाज एक किसिमको मुर्दा शान्तिमा डुबेको छ । सरकार टिकाउन र परिवर्तन गर्ने, सरकार गिराउने रस्साकसीमा राजनीतिक दल लागेको छ । उनीहरुलाई देश विकास राष्ट्र निर्माण र जनताको समस्यासँग कुनै मतलब छैन । नेताहरुमा त यस्ता घटनाबारे संवेदना हराएको देखिन्छ । यस्तै महिला संगठन, महिला अधिकारको क्षेत्रमा कार्य गर्न अधिकारकर्मी लामो मौनता, सुष्तीपन उदेकलाग्दो देखिन्छ । नारी दिवसमा दिनभरि प्लेकार्ड बोकेर स्टेजमा ठूलो–ठूलो भाषण दिएर, टिभीमा अन्तरवार्तासँगै फोटोसेसन गर्ने चलन बढेको छ ।
तर, वास्तवमा संघ–संस्थाको सान्दर्भिकता यस्ता–यस्ता मामिलामा हस्तक्षेप गरेर न्याय दिलाउनसम्म उनीहरुको पनि प्रभाव र संवेदनशीलता प्रस्ट हुन्थ्यो । उनीहरुको प्रभावकारी हस्तक्षेपले संवेदनशील मुद्दाले पनि विकास पाउन सकिन्छ । यस्ता विषयहरुलाई सशक्त रुपमा उठान गरेर राष्ट्रिय बहसको मुद्दा बनाएर महिलाहरुको हकअधिकार सुनिश्चित गर्न अहम् भूमिका खेल्नुपर्छ ।
महिला हिंसासँगै पुरुषहरु पनि घरेलु हिंसाको सिकार भइरहेका छन् । सम्पत्ति कुम्ल्याएर श्रीमती अर्कोसँग कुलेलाम ठोकेपछि श्रीमानले आत्महत्या गरे, श्रीमतीले प्रेमीसँग मिलेर श्रीमान्को हत्या गराएको समाचार सुन्न देख्नसाथ घरमा झैं–झगडा कलह गर्नु श्रीमान्को बेइज्जत गर्नु जस्ता कुरा पनि आजभोलि सामान्य जस्तो लाग्न थालेको छ । तर, हिंसा भनेको हिंसा हो । यो दुबैमा महिला र पुरुषमा पनि हुनसक्छ तर महिलाको संख्या बढी छ । भनिन्छ, साक्षरताले मान्छेमा जागृति ल्याउँछ, तर जति समाजमा साक्षरता बढिरहेको छ, त्यति नै कहालीलाग्दो घटनाहरुको वृद्धि भइरहेको छ । खोइ त शिक्षाले चेतना ल्याएको ? मानिसको मानवता कता गयो । आज मानिसमा नैतिक शिक्षाको अभाव भयो निराशा हतोत्साही प्रवृत्ति, आक्रामक व्यवहारको वृद्धि भयो । त्यही नैतिकता, भाइचारा सहयोग सद्भाव जस्तो भावनामा कमी आयो, शिक्षाले किताबी ज्ञान त दियो तर व्यवहारिक ज्ञान दिन सकेन ।
महिलामाथि हिंसा गर्नु पुरुष र पुरुष सिर्जित मानसिकताको उपज हो । त्यसकारण हामी सबैको कर्तव्य बन्न जान्छ कि हामी हाम्रो छोरा–छोरी र अनुजहरुलाई राम्रो नैतिक गुणको पाठ पढाऔं । छोरा–छोरीमा विभेद नगरी दुबैलाई समान र सहजरुपमा हुर्काउनु पर्छ । अरुको छोरीलाई पनि आफ्नो छोरी सरह बुझ्नु पर्छ । बुहारीलाई माया स्नेत दिनुपर्छ । घर बाहिर कार्यालयहरुमा सुरक्षित वातावरणको सिर्जना गर्नुपर्छ । कुनै ठाउँमा कसैमाथि कुनै घटना घट्ना मुकदर्शक न बनेर एउटा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्छ । एउटा सभ्य समाजको निर्माणमा हामी सबैको भूमिका अहम् हुनुपर्छ । त्यसैले महिला हिंसाविरुद्धको समाज निर्माणमा पुरुषहरुको ऐकबद्धता मात्र होइन, सहयोग र पहलको भूमिका आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com