शिवपोखरीलाई चिनाउन धार्मिक मेला

बिर्तामोड, चैत १७। विकासका दृष्टिले अत्यन्तै पछाडि परेको इलामको माई नगरपालिका–२ चेप्टीको शिव पोखरीलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न शुक्रबारदेखि तीन दिने धार्मिक मेला शुरु भएको छ ।
इलामको माई नगरपालिका वडा नं. २ चेप्टीमा रहेको शिवपोखरीसहित त्यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकसित गर्ने उद्देश्यले तीनदिने धार्मिक मेला शुरु गरिएको हो । किरात हाङसाम वरक माङहिमको आयोजनामा खिवेक्वा याक्वा सेवा (उभौली पर्व) मेला शुरु गरिएको मेला आयोजक समितिका अध्यक्ष उर्धबहादुर राईले बताए ।
मेलाको उद्घाटन माई नगरपालिकाका मेयर दीपककुमार थेवेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थेवेले माई नगरपालिका–२ चेप्टीमा रहेको शिवपोखरी लगायत त्यसक्षेत्रको विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बताए । शिवपोखरीलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न सुखानी शहीद स्मृति प्रतिष्ठानसँग शिवपोखरीलाई जोडेर गुरुयोजना बनाउन लागिएको जानकारी दिए ।
उनले माई नगरपालिकाले त्यहाँको सडकको स्तरोन्नती गर्न दश लाख रुपैयाँ विनियोजन गरेको र शिवपोखरीलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न दश लाख विनियोजन गरिएको जानकारी दिए ।
किरात समुदाय र हिन्दूहरुको संगमस्थलको रुपमा रहेको शिवपोखरीलाई धार्मिक सहिष्णुताको नमूना बनाइने समेत उनले बताए । त्यहाँ माङहिम र धुनीकुण्ड र शिवालय मन्दिर बनाउने योजना रहेको जानकारी दिए । विकासका दृष्टिले पछि परेको उक्त क्षेत्रमा रहेको शिवपोखरी उत्खनन् गर्दा शिवलिङ्ग, शिवको पाइला रहेको ढुंगाको आकृति, गणेशको मूर्ति लगायतका विभिन्न सामग्री भेटिएको मन्दिर समितिका अध्यक्ष गंगाबहादुर लिम्बूले जानकारी दिए ।
करिब तीन विगाह क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा वरिपरि पोखरी र बीचमा किरात हाङसाम वरक माङहिम रहेको र यस क्षेत्रमा इलामको माईपोखरी क्षेत्रमा पाइने अत्यन्त दुर्लभ प्रजातिको रुखका बिरुवाहरु र शिवपोखरीमा दुर्लभ प्रजातिका रातो माछा, कछुवा लगायत देख्न सकिने उनले बताए । त्यहाँ रहेको रुखमा रंगीविरंगी सुनाखरीका फूलहरु देख्न पाइन्छ भने वारिपारी हिमाल जस्ता टाकुरा डाँडाहरु सजिएको हुँदा त्यहाँबाट विभिन्न किसिमका चराचुरुंगीहरु पनि हेर्न सकिने उनले बताए ।
धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न तथा त्यसक्षेत्रलाई राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन मेलाको आयोजना गरिएको उनले बताए । विभिन्न दृष्टिकोणले पछाडि परेको त्यसक्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गरेर आन्तरिक तथा वाह्य पर्यटक भित्र्याएर त्यस क्षेत्रका बासिन्दाको आर्थिक उन्नती गर्ने उद्देश्य अनुरुप मेलाको आयोजना गरेको उनले बताए ।
किरात समुदायको महान चाड खिवेक्वा याक्वा (उभौली पर्व)को अवसर पारेर आयोजना गरिएको धार्मिक मेलामा किरात भेषभुषा प्रदर्शन, राई जातिको साकेला सिली, मगर जातिको हुर्रा, तामाङ जातिको सेलो, झाँकी चण्डी नाच, सेवा पूजा, सांस्कृतिक कार्यक्रम गरिने मेला आयोजक समितिका सचिव रोशन लिम्बूले जानकारी दिए ।
मेला समितिका अध्यक्ष उर्धबहादुर राईको अध्यक्षता तथा माई नगरपालिकाका मेयर दीपककुमार थेवेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माई नगरपालिकाकी उपमेयर विष्णुमाया आचार्य, आइन्द्रकुमार शेर्मा, राजेन्द्रहाङ तुम्वापो, खम्बसिंह योङ्हाङ, गम्भीरबहादुर तामाङ, टुपेन्द्र एक्तेन लगायतको आतिथ्य रहेको थियो । होमबहादुर लिङ्देनले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेला आयोजक समितिका सचिव रोशन लिम्बूले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com