मन्दिरको जीर्णोद्धारका लागि मेला

१७ चैत्र २०७४, शनिबार मा प्रकाशित

अर्जुनधारा, चैत १७। नयाँ वर्ष २०७५ लाई लक्षित गरी झापाको खुदुनाबारीमा मिनी मेला सञ्चालन हुने भएको छ ।
स्थानीय बर्देश्वर शिवालय मन्दिरको जीर्णोद्धार तथा मन्दिर व्यवस्थापनको लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले चैत २१ गतेदेखि वैशाख २ गतेसम्म मिनीमेलाको आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
मिनीमेला सम्पन्न गर्नका लागि राजेन्द्र लिम्बू ‘राजा’को संयोजकत्वमा ५१ सदस्यीय मिनीमेला आयोजक समिति गठन गरिएको आयोजक समितिका अमर परियारले जानकारी दिए । त्यसैगरी सोही समिति अन्र्तगत आर्थिक, प्रचार–प्रसार, सुरक्षा, कलाकार व्यवस्थापन, स्वमंसेवक परिचालन लगायतको उपसमितिहरु गठन गरिएको छ ।
झापाको दमक निवासी सयपत्री इन्टरटेन्मेन्टका प्रोपाइटर पर्वत लामालाई मिनीमेला सञ्चालनको ठेक्का प्रदान गरिएको आयोजक समितिका मुकुन्द भण्डारीले जानकारी दिए । अनुमानित २० लाख रुपैयाँ खर्च लाग्ने सो मिनीमेलाबाट मन्दिर व्यवस्थापन समितिलाई एक लाख पचास हजार रुपैयाँ र प्रेमबहादुर राई बचाउ अभियानलाई १५ हजार रुपैयाँ प्रदान गरिने ठेकेदार लामाले बताए ।
प्रवेश शुल्क एक सय रुपैयाँ तोकिएको मिनीमेलामा राष्ट्रिय कलाकारहरु कमल खत्री, ज्योती मगर, ताराप्रकाश लिम्बू, बादल लिम्बू, महादेव त्रिपाठी, माण्डवी त्रिपाठी, मेलीना राई, शिव परियार लगायतको प्रस्तुती रहने प्रमिस इन्टरटेन्टमेन्टका केवल तामाङले जानकारी दिए ।
मिनीमेला सञ्चालनको समयमा राज्यले प्रतिबन्ध गरेका कुनै पनि खेल तथा मनोरञ्जनका सामग्रीहरु सञ्चालन नगरिने र मेला परिसरमा मादक पदार्थ सम्बन्धी पसलहरु सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको बताइएको छ ।
स्थानीय कलाकारहरुबाट पनि सांस्कृतिक कार्यक्रम प्रस्तुति हुने मिनीमेलामा विभिन्न मौलिक परिकार र सामग्रीहरु सम्बन्धी स्टलहरु रहने आयोजक समितिका सदस्य कैलाश श्रेष्ठले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष युवनाथ पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–२ का वडाध्यक्ष रघुनाथ खनाल, अर्जुनधारा– ३ का वडाध्यक्ष जीवनकुमार भण्डारी, सशस्त्र प्रहरी बेस खुदुनाबारीका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर तामाङ, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई लगायतको आतिथ्य रहेको थियो ।
मन्दिर व्यवस्थापन समितिका सचिव मुकुन्द भण्डारीले मिनीमेलाको औचित्यसहित स्वागत गरेको कार्यक्रमको सञ्चालन खगेन्द्र लिङ्देनले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here