अनुपामा १५ वर्षपछि फर्कियो खुशी

 

[सुरेन्द्र भण्डारी ]
झापा,चैत १९ । पाँचथरको हिलिहाङ गाउँपालिका–७ निवासी ३१ वर्षीया अनुपा राईको १५ वर्षपछि खुशी पर्किएको छ ।
ओखलढुंगाको कुइभीर माविमा कक्षा–९ मा अध्ययनरत रहेकै बेला जनयुद्धमा होमिनुभएकी अनुपा ०५९ साल वैशाख २४ गते संखुवासभाको चैनपुर आक्रमणमा सेनाले थापेको धरापमा पर्नुभएको थियो । त्यो बेला लागेको गोलीको छर्रा बिर्तामोडमा रहेको बिएण्डसी हस्पिटलले निकाल्दै निःशुल्क उपचार सुरु गरेपछि उहाँमा १५ वर्षपछि खुशी फर्किएको हो ।
दश वर्ष लामो गृहयुद्धपछि शान्ति सम्झौता भएको ११ वर्ष बितिसक्दा समेत उपचारमा कसैले चासो नदिँदा अनुपा विगत १५ वर्षदेखि शरीर भरि गोलीको छर्रा लिएर कष्टपूर्ण जीवन बिताइरहनुभएको थियो ।
२०६३ साल मंसीर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओबादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । युद्धविराम पछि माओवादी शान्तिपूर्ण राजनीतिमा आएर पटक – पटक सरकारमा पुगेपनि जनयुद्धकी घाइते अनुपाको उपचारका लागि न त पार्टीले सहयोग ग¥यो न त सरकारले नै । आर्थिक अभावका कारण शरीरभरि गोलीका छर्रा लिएर कष्टपूर्ण जीवन बिताइ रहनु भएकी अनुपाको विएण्डसी अस्पतालले निःशुल्क उपचार सुरु गरेसंगै उहाँमा गुमेको खुशी पुनः फर्किएको हो ।
आफैंलाई पढाउने शिक्षक सहित १५ जना साथीहरु एकैपटक माओवादीमा प्रवेश गर्दै युद्धमा होमिनुभएकी अनुपालाई चैनपुर आक्रमणमै सहिद घोषणा गरिएको थियो । सोमवार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अनुपाले भन्नुभयो – मलाई चैनपुर आक्रमण मै मृत्य घोषणा गर्दै सहिद घोषणा गरियो तर, दुई दिनपछि मेरो होस आएर स्थानीय वासीको सहयोगमा म २१ दिनपछि पार्टीको सम्पर्कमा पुगे । तर, शरीरमा लागेका गोलीका छर्रा निःकाल्न नसक्दा आजपनि घाइते अवस्थामा दुःखले जीवन बिताइरहेकी छु ।
अनुपा आर्थिक अभावमा शरीरभरि गोलीका छर्रा लिएर उपचारका लागि बर्षोदेखि भौताइरहेको समाचार सार्वजनिक भएपछि बीएण्डसी अस्पतालले उहाँको उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । दुई दिन अघि अस्पताल आइपुग्नुभएकी उहाँलाई निःशुल्क उपचार सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताउनुभयो ।
यता अस्पतालका न्यूरो सर्जन डा. पंकज नेपालले भोलि मंगलबार अनुपाको शल्यक्रिया गर्ने बताउनुभयो । ‘उहाँको एउटा छर्रा जटिल ठाउँमा छ, त्यो छर्राले दिमागलाई छोएको छ,’ डा. पंकजले भन्नुभयो , ‘मान्छेको दाहिने दिमागले देब्रेलाई कन्ट्रोल गर्छ, देब्रेले दाहिनेलाई । उहाँको दाहिने दिमागमा छर्रा छ, त्यसैले देब्रे दिमाग लाटो भएर बसेको छ ।’
दिमागभित्रको छर्रा गर्मीमा तातेपछि अनुपालाई असर गरिरहेको डाक्टर पंकजले बताउनुभयो । ‘यो छर्रा निकाल्न सम्भव छ, हामीले पहिले पनि यस्तै ठाउँमा भएको छर्रा निकालेका छौँ,’ उहाँले भन्नुभयो – ‘यो एकदमै जटिल शल्यक्रिया हो, म ४ जनाको टिम लिएर जान्छु, झन्डै १० घण्टा समय लगाएर अनुपाको सफल शल्यक्रिया गर्छु । –––

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com