गलत उपचारले कांग्रेस नेता खड्काको निधन

 

[सुरेन्द्र भण्डारी]

झापा, चैत ३० । गलत उपचारका कारण नेपाली कांग्रेस झापाका सचिव लक्ष्मण खड्को निधन भएको छ ।

मुम्बई एसियन क्यान्सर अस्पतालले गलत शल्यक्रिया गरिदिएका कारण कांग्रेस नेता खड्काको निधन भएको हो । उनको बिहीबार राति दिल्लीमा ४६ वर्षको उमेरमा असामयिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ । खड्काको फोक्सोमा ट्युमर पलाएको र क्यान्सर संक्रमण सुरु भएको प्रारम्भीक ठम्याईपछि उनी उपचारका लागि भारतको मुम्बई गएका थिए । त्यहाँको क्यान्सर अस्पतालमा उपचारार्थ भर्ना भएका खड्काको फोक्सोको देब्रे भागमा पलाएको ट्युमर शल्यक्रिया गरेर निकाल्नु पर्नेमा दाहिनेतर्फको भाग काटिएका कारण उपचार सम्भव नभई उनको मृत्यु भएको उनका दाजु हेम खड्काले बताए ।

उपचारमा लापरबाही गर्ने सो अस्पतालले त्यहाँ भएको लापरबाहीको क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिने मौखिक सहमति गरेको भए पनि सहमतिपत्रमा हस्ताक्षर नभएको बताइएको छ । सहमतिको समयमा कांग्रेस झापाका सभापति उद्धब थापासमेतको मुम्बई गएका थिए ।

मुम्बई अस्पतालले फोक्सोको संक्रमित भागको साटो अर्को भाग काटेर फालिदिएपछि उपचारका लागि भारतको राजधानी नयाँदिल्लीस्थित गंगाराम मेमोरियल अस्पतालमा लगिएका खड्काको उपचारकै क्रममा बिहीबार साँझ निधन भएको हो ।

आफ्नो अस्पतालबाट भएको गल्ती स्वीकार गर्दै मुम्बई क्यान्सर अस्पतालले दाहिने भागको घाउ पूर्णरुपमा निको भएपछि मात्र कम्तीमा ६ महिनापछि ट्युमर फाल्नु उपयुक्त हुने सुझाब दिएको थियो । तर, गंगाराम मेमोरियल अस्पतालमा खड्काको फोक्सोमा पलाएको ट्युमरको शल्यक्रिया गरी निकालियो। गंगाराम मेमोरियल अस्पतालले पनि मुम्बई अस्पतालको सुझावको अवज्ञा गर्दै फेक्सोमा पलाएको ट्युमर काटेर फालिदिएको हेम खड्काले बताए ।

खड्का मंसीरमा सम्पन्न प्रदेश सभा निर्वाचनमा झापा क्षेत्र नं. २ को प्रदेश क्षेत्र २ (१) बाट काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका थिए ।

स्वर्गीय खड्काको आज काकाई माईमा अत्त्येष्टी गरिने बताइएको छ । यसैबीच नेपाली कांग्रेस झापाले सचिव खड्काको पार्थीव शरीर शनिबार जिल्ला पार्टी कार्यलय बिर्तामोडमा बिहान ९ बजेदेखि ११ बजेसम्म राख्ने र ११ बजे पार्टी कार्यलयबाट शव यात्रा सुरु गर्ने कांग्रेस झापाका सचिव प्रेम सम्बाहम्फेले जानकारी दिए ।

स्वर्गीय खड्काकी श्रीमती अञ्जु खड्का र एक छोरा आसुतोष र छोरी आयुषा खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com