गाडी चढ्न नदिँदा झडप

३० चैत्र २०७४, शुक्रबार मा प्रकाशित

 

झापा, चैत ३० । गाडी चढ्न नदिएको भन्दै शुक्रवार दिउँसो विद्यार्थीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि झापाको दमकमा शुक्रवार झडप भएको छ ।

सरकारले दिएको छुट अनुसार यातायात मजदुरले विद्यार्थीलाई गाडीमा चढ्न नदिएको भन्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेपछि सडक खुलाउने क्रममा विद्यार्थीसंग झडप भएको हो । झडपका क्रममा विद्यार्थीको ढुंगा प्रहारबाट केही गाडीमा क्षति पुगेको छ ।

गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच सरकारी छुटअनुसार ४५ प्रतिशत सहुलियतमा विद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति भएको थियो । तर, मे १ ख २४६६, मे १ ख २१५७, बा ५ ख २१४९ र मे १ ख ५८५६ नम्बरको बसले विद्यार्थी चढाउन नमानेको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । उनीहरुले सहमति पालन नगरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको ध्यानाकर्षण गराएका थिए । डीएसपीको ध्यानाकर्षण गराएपछि विद्यार्थीहरु सडकमा उत्रिएर चक्काजाम गराएका थिए ।

विद्यार्थीहरुले सडक अवरुद्ध गरेपछि दिउँसो १ देखि ३ बजेसम्म पूर्व– पश्चिम राजमार्ग ठप्प भएको थियो । विद्यार्थीले चक्काजाम खोल्न नमानेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । सो क्रममा विद्यार्थीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट ना ६ ख ४१६२ नम्बरको ट्रकमा क्षति पुगेको छ । प्रहरीले बल प्रयोग गरी चक्काजाम खुलाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here