‘छरुवा प्रविधिको धान खेतीका लागि ड्रमसिडर आवश्यक’

[केशवराज भण्डारी]
बिर्तामोड, बैशाख २४ । नेपाल सरकार कृषि विकास मन्त्रालयद्वारा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन कार्यान्वयन इकाइ बनियानी झापाको आयोजनामा धानखेतीमा नविनतम् प्रविधि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाट र सिमिट काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त अन्तरक्रियाको सहजीकरण अन्तर्राष्ट्रिय गहुँ तथा मकै बाली अनुसन्धान केन्द्र नेपाल (सिमिट) काठमाडौंकी बालीविज्ञ डा. मिना देवकोटाले गरेकी थिइन् ।
कार्यक्रममा धान सुपरजोन कार्यान्वयन इकाइ बनियानी झापाका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बोलेका थिए । कार्यक्रममा अधिकृत तिमल्सेनाले धानखेतीका लागि राज्यले ल्याएका कार्यक्रमहरु प्रभावकारी बनाउनका लागि कृषकको उत्साह आवश्यक रहेको बताए ।
उनले कृषकले विषेशतः माटो सुधार र मेसिनरी प्रयोगमा जोड दिनुपर्ने बताए । कृषकले कृषि चुनको प्रयोग बढाउँदा सन्तुलित मात्रामा मल खादको प्रयोग पनि बढाउँदै लानुपर्ने बताउँदै अधिकृत तिमल्सेनाले छरुवा धानखेतीका लागि ड्रमसिडर प्रभावकारी भएको प्रयोगबाट पुष्टि भएको बताए । कार्यक्रममा सिमिटकी डा. मीना देवकोटाले जलवायुका आधारमा नेपालमा प्रति हेक्टर ८ देखि ९ टनसम्म धान उत्पादन गर्न सकिने बताउँदै धान उत्पादन बढाउन विभिन्न सूचकको प्रयोग गरी उन्नत जातको प्रयोगबाट प्रति कठ्ठा २८ केजी, सन्तुलित मलखाद ब्यवस्थापनबाट २८ केजी प्रति कठ्ठा, समुचित झारपात व्यवस्थापनबाट २१ केजी प्रति कठ्ठा, स्वस्थ बीऊ तथा बेर्नाको प्रयोगबाट ९ केजी प्रति कठ्ठा र असारे रोपाइ र लाइनमा लगाएमा १४ केजी प्रति कठ्ठा उत्पादन लिन सकिने बताइन् ।
त्यस्तै, उनले १ केजी धान उत्पादन गर्न २० केजी नाइट्रोजन आवश्यक हुने बताइन् । कार्यक्रममा कृषि मेसिनरी अर्थात् आधुनिकिकरणका लागि प्रशिक्षकका रुपमा आएका कृषि औजार अनुसन्धान केन्द्र रानीघाट विरगञ्जका प्राविधिक इञ्जिनियर द्वारिका चौधरीले मेसिनरी सम्बन्धी प्रशिक्षण साथै व्यवहारिक तालिम प्रदान गरेका थिए ।
क्षेत्र नं. ३ का सांसद बसन्तकुमार बानियाँको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बारा जिल्लाका कृषि वैज्ञानिक रामाश्रे शाहको आतिथ्य रहेको थियो । कार्यक्रममा कुवेर एण्ड सन्स इटहरीका मेनेजिङ डाइरेक्टर जेपी घिमिरेले मेसिनरी प्रयोग र लिइनुपर्ने सावधानी साथै सेवा प्रदायक कम्पनीबाट कृषकले पाउने सेवाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com