प्रधानाध्यापक नै विद्यालयको चर्पी सफा गर्दै

बालुवाडी, मिडिया मिसनको स्थलगत अनुगमन र समाचार प्रकाशन प्रसारण भएपछि कचनकवल गाउँपालिका, वडा नं. ७ बालुवाडीमा रहेको शिव माध्यमिक विद्यालयमा प्रधानाध्यापकको अगुवाइमा प्रयोगविहिन अवस्थामा रहेका चर्पी सफा गरी प्रयोगमा ल्याइएको छ ।
“हामी आफैले गर्नुपर्ने काम थियो”, चर्पी सफा गर्दैको अवस्थामा भेटिएका प्रधानाध्यापक टेकनारायण राजवंशीले भने, “पत्रकार आएर सुझाव दिनुभयो, सञ्चार माध्यममा समाचार लेखेर हामीलाई आँखा देखाइदिनुभयो । त्यसैले सफा गरेर प्रयोगमा ल्याउदैछौं ।”
शिव माध्यमिक विद्यालयमा दुई कोठा रहेको छात्र शौचालय र यूरिनल पुराना कागज र सुकेका पातले बन्द भएको थियो र प्रयोगविहिन अवस्थामा थियो । यसैगरी छात्रा शौचालयको बाहिर झाडीले बाटो नै रोकिएको थियो भने चर्पीमा ढोका समेत थिएन ।
चर्पी नियमित रुपमा सफा गर्नुका साथै विद्यालयको सरसफाइ व्यवस्थापनका लागि शिक्षक टेकनाथ राजवंशी संयोजक र नवीन ढुंगाना सहसंयोजक रहेको सरसफाइ समिति समेत गठन गरिएको छ ।

सरसफाइ अभियानमा शिक्षक र सरसफाइ अभियानकर्ताहरुसँगै होस्टेमा हैसे मिलाएपछि विद्यार्थीले हात धुने अभियान सञ्चालन गरे । हात धुने अभियानलाई समुदाय तहसम्म विस्तार गर्ने प्रतिवद्धता विद्यार्थीले व्यक्त गरेको विद्यार्थी परशुराम राजवंशीले बताए ।
स्वास्थ्य चौकी प्रमुखले नै गरे फोहर व्यवस्थापन
मिडिया मिसनको क्रममा बालुवाडी स्वास्थ्य चौकीमा अस्पतालजन्य फोहर व्यवस्थापन नगरेको र बाहिरै फालिएको भेटिएको थियो । समाचार प्रकाशन प्रसारण भएपश्चात् बालुवाडी स्वास्थ्य चौकीका निमित्त इञ्चार्ज विष्णुप्रसाद राजवंशीको अगुवाइमा स्वास्थ्य चौकीका कर्मचारी र सरसफाइ अभियानकर्ताहरुले फोहर जलाउनुका साथै सुरक्षित रुपमा विसर्जन गरेका छन् ।
जलाउन मिल्ने फोहरलाई जलाएर र जलाउन नमिल्ने फोहरलाई खाडलमा पुगेर नष्ट गरिएको सरसफाइ अभियानकर्ता साहिल मोहम्मदले जानकारी दिए । मिसन टोलीसँग स्वास्थ्यकर्मीहरु विश्वनाथ राय यादव र शम्भूनाथ साहले कार्यालय सहयोगी नभएका कारण फोहर जलाउन नसकिएको बताएको समाचार प्रकाशन भएपछि स्वास्थ्य चौकीको चर्को आलोचना भैरहेको थियो । “फोहर व्यवस्थापन कार्यालय सहयोगीको जिम्मामा थियो”, निमित्त प्रमुख विष्णुप्रसाद राजवंशीले भने, “कर्मचारीले विचार पु¥याउन नसक्दा केही दिनको फोहर बाहिरै थियो, अब व्यवस्थापन गरिसकेका छौं ।”
कचनकवल गाउँपालिका, वडा नं. ७ का वडाध्यक्ष भरत राजवंशीले गाउँपालिका र वडा कार्यालयले संस्थागत सरसफाइलाई प्राथमिकता दिने बताए । “अहिले सञ्चारकर्मीहरु र सरसफाइ अभियानकर्मीहरुले बाटो देखाइदिनुभएको छ”, उनले भने, “अब यसलाई निरन्तरता दिने काममा वडाले समेत अगुवाइ गर्छ ।”

विद्यार्थीले खोले बन्द चर्पी
महेन्द्र माध्यमिक विद्यालय केचनामा विद्यार्थीहरुले निर्माणपश्चात् नै बन्द रहेको चर्पी खोलेर सफा गरी प्रयोगमा ल्याएका छन् । कचनकवल गाउँपालिका, वडा नं. ४ का वडाध्यक्ष परमानन्दसिं राजवंशीसहित विद्यालय पुगेका सरसफाइ अभियानकर्ताहरुले विद्यार्थीहरुसँगको छलफलपछि विद्यार्थीहरु बन्द चर्पी खोली सफा गर्न तयार भएका हुन् ।


“अपांगमैत्री चर्पी निर्माणपश्चात् नै बन्द अवस्थामा रहेको पाइयो”, अभियानकर्ता साहिल मोहम्मद भन्छन्, “त्यसलाई समेत खोलेर सञ्चालनमा ल्याइएको छ ।”
विद्यार्थी र सरसफाइ अभियानकर्ताहरुले बन्द शौचालय र यूरिनल सफा गर्न थालेपछि शिक्षक रघुनन्दन गणेश समेत शौचालय सफा गर्न थाले । तर प्रधानाध्यापक जीवनप्रसाद राजवंशीले भने सरसफाइमा कुनै चासो देखाएनन्, न त अरु शिक्षकहरुले नै सरसफाइमा चासो देखाए । “सरसफाइलाई जीवनपद्धति र सभ्यताको आधारभूत सूचकको रुपमा स्थापित गर्न अझै धेरै लडाइ नै लड्नुपर्ने देखियो”, सरसफाइ सहजकर्ता श्रवण गणेशले भने ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com