गुम्बामा श्रीमद्भागवत

४ जेष्ठ २०७५, शुक्रबार मा प्रकाशित

 

अर्जुनधारा,। बौद्ध गुम्बामा विभिन्न धार्मिक कार्यहरु लामा गुरुबाट गरिन्छ ।

त्यसमा पनि गुम्बामा श्रीमद् भागवत सप्ताह महापुराणको आयोजना भन्दा सबैलाई अनौठो लाग्नसक्छ । तर, झापाको अर्जुनधारा–९स्थित कालिस्थान गुम्बामा भने बुधबारबाट महापुराण शुरु भएको छ ।

समुदायबीच धार्मिक सहिष्णुता कायम गर्न गुम्वामा महापुराणको आयोजना गरिएको गुम्वाका सल्लाहकार कर्णबहादुर तामाङले बताए ।

गुम्वामा देशमै पहिलोपटक महायज्ञको आयोजना गरिएको दावी गर्दै अर्जुनधारा वडा नम्वर १०का अध्यक्ष बलदेव गोम्देनले यस  क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए । गुम्वाका सल्लाहकार समेत रहेका उनले गुम्बाको स्तरोन्नतिसँगै पूर्वाधार निर्माणका लागि महापुराणले महत्वपूर्ण योगदान गर्ने बताए ।

त्यसैगरी कार्यक्रमका सहभागी नेपाल बौद्ध महासंघका महासचिव एवम् खेम्पो अर्थात् आचार्य कमल भण्डारीले जाति, नाक, कालो, सेतोको आधारमा तेरो मेरो धर्म भन्नुभन्दा पनि पूर्वीय दर्शनको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । आयोजकको उक्त कार्यको प्रशंसा गर्दै खेम्पो भण्डारीले गुम्बालाई आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै नेपाली कांग्रेस झापाकी सदस्य सरस्वती सिटौला गोलेले सबै धर्मको सार एउटै भएको जिकिर गर्दै यस किसिमको कार्यको सुरुवात हुनु उदाहरणीय कार्य भएको बताइन् ।

महापुराणको प्रमुख वाचक गुरुङ

आगामी जेठ ८ गतेसम्म सञ्चालन हुने सो महापुराणको प्रमुख वाचक भने भारतको सिक्किम निवासी रोहित गुरुङ (रोहितराज महाराज) छन् । गुम्बाको स्तरोन्नतिमा सहयोग पु¥याउन महापुराणको प्रमुख वाचकको जिम्मेवारी सम्हालेका उनले पारिश्रमिक नलिने उद्घोष गरेको सल्लाहकार कर्णबहादुर तामाङले बताए ।

समितिका अध्यक्ष सन्त गोम्देनको अध्यक्षतामा आयोजित महापुराणको उद्घाटन प्रमुख अतिथि प्रदेश नम्बर १का सदस्य वृख प्रधानले गरेका थिए । सल्लाहकार तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद चापागाईंले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here