बहुप्राविधिक शिक्षालय स्थापना गर्न सुझाव

दमक, जेठ ११। झापाको दमक नगरपालिकाले प्राविधिक शिक्षालय स्थापना र यहाँको अवस्थाको विषयमा अध्ययन प्रतिवेदन तयार पारेको छ ।
नगरपालिकाले यस क्षेत्रमा आवश्यक प्राविधिकहरु स्थानीय स्तरमा नै उत्पादनका लागि गर्नुपर्ने कामको सम्भाब्यता अध्ययनका लागि बनाएको कार्यदलले नगरपालिकाको स्वामित्वमा रहने गरी ‘दमक बहुप्राविधिक शिक्षालय’ स्थापना गर्न सुझाव पेस गरेको छ ।
कार्यदलले नगरपालिकालाई प्रतिवेदन बुझाउँदै नगरपालिकाको स्वामित्वमा बहुप्राविधिक शिक्षालय स्थापना गर्नका लागि सुझाव पेस गरेको छ । प्राध्यापक हेमनाथ अधिकारीको संयोजकत्वमा बनेको कार्यदलमा अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा सल्लाहकार रहेका देवेन्द्र दाहाल, महिला नेतृ सुमित्रा खतिवडा र प्रभा खतिवडा रहेका थिए ।
झापाको दमक तथा देशभर सञ्चालनमा रहेका प्राविधिक शिक्षालय तथा बिद्यालयहरु र सरकारी निकायहरुको समेत अध्ययन गरेर आफूहरुले प्रतिवेदन तयार पारेर नगरपालिकालाई बुझाइएको कार्यदलका संयोजक अधिकारीले बताए ।
प्रतिवेदनमा १ नम्बर बँुदामा भनिएको छ, दमकमा घना आवादी र आप्रवासको दर पनि तीव्र भएकाले उच्चगतिमा जनसंख्या बृद्धि भइरहेको छ । तिनीहरुलाई रोजगार र स्वारोजगार बनाउन पनि प्राविधिक शिक्षालय खोल्न ढिला गरिनु हुँदैन ।
नगरपालिकामा बुझाइएको प्रतिवेदमा यहाँ सञ्चालनमा रहेका शिक्षालयहरुमा दमक बाहिर पहाडी क्षेत्रबाट बिद्यार्थीको चाप बढि भएर थेग्न गाहे रहेको पाइएकाले ठोस योजनाका साथमात्र कार्यप्रारम्भ गर्नलाई सुझाव दिइएको छ । प्रतिवेदनमा भनिएको छ– सामुदायिक बिद्यालयमा वा छुट्टै संस्था स्थापना गर्न सकिने गरी दुई प्रकारमध्ये कुनै एउटा बाटो नगरपालिकाले रोज्नुपर्ने हुन्छ ।
कार्यदलका सदस्य देबेन्द्र दाहालका अनुसार सामुदायिक बिद्यालयमा शुरु गर्न सहज भए पनि त्यसका लागि उपयुक्त बिद्यालय नगरभित्र भेटिएको छैन । यसले गर्दा आफूहरुले नगरपालिकाले बेग्लै ‘दमक बहुप्राविधिक शिक्षालय’ खोल्नुपर्ने सुझाव दिएको दाहालले जानकारी दिए । यो सम्पूर्ण रुपमा नगरपालिकाको स्वामित्वमा रहनु पर्ने समेत उल्लेख रहेको छ ।
सिभिल, इलोक्ट्रोनिक्स, इलेक्ट्रिकल, अटो मेकानिक्स, होटल म्यानेजमेन्ट, कृषि, वागवनी, वनबिज्ञान, पुशविज्ञान, बाली बिज्ञानसत मध्ये प्रारम्भमा दुई वा तीन विषय छनौट गरी तीन बर्षे स्नातक र मेसन, फेसन डिजाइन, प्लम्बर, अटो मेकानिक्स, इलेक्ट्रोनिक्स मेकानिक जस्ता छोटा अवधिका तालिम तत्काल सञ्चालन गर्नुपर्ने कार्यदलको सुझाव रहेको छ । नगरपालिकाको स्वामित्वमा रहेको दमक अस्पताललाई एक सय शैय्याको बनाएर स्वास्थतर्फका जनशक्ति उत्पादन गर्ने योजना बनाउने पर्ने जनाइएको छ ।
प्रतिवेदन बुझ्दै दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले प्रतिवेदनको विषयमा कार्यपालिका बोर्ड बैठकमा छलफल हुने र त्यसले पारित गरेपछि कार्यान्वयन प्रंक्रिया शुरु गरिने बताए । नगरबासीलाई रोजगारमूलक प्राविधिक शिक्षा सहजरुपमा उपलब्ध हुने अवस्थाको सिर्जना गर्ने र दमकलाई पूर्वी नेपालको प्राविधिक शिक्षा आयआर्जन गर्ने केन्द्र बनाउने उद्देश्यले नै महत्वका साथ कार्यदल बनाएर सुझाव माग गरिएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com