उत्खनन्मा प्रयोग भएका मेसिन र सवारीसाधन नियन्त्रणमा

११ जेष्ठ २०७५, शुक्रबार मा प्रकाशित

झापा, जेठ ११। प्रहरीले अनुमति विपरित जथाभावी नदीजन्य सामग्री उत्खनन्मा प्रयोग गर्ने स्काभेटरसहित ट्रिपर र ट्याक्टरलाई नियन्त्रणमा लिन थालेका छन् ।
जिल्ला समन्वय समिति झापा (जिसस) र जिल्ला प्रशासन कार्यालय झापाको आदेश विपरीत ठेकेदारले झापाको नदी तथा खोला दोहन गरिरहेको भन्दै पूर्वाञ्चल दैनिकले निरन्तर समाचार प्रकाशन गरेपछि प्रहरीले बल्ल नदी तथा खोला बचाउ अभियान शुरु गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिसस प्रमुख सोमनाथ विश्वकर्मा (पोर्तेल), जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक किशोर लम्साल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराई लगायतको नेतृत्वमा गएको अनुगमन टोलीले मेचीनगर–१० निन्दा खोलाको अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा अनुमति बिना निन्दा खोलाबाट गिट्टी–बालुवा लोड गर्दै गरेको एउटा स्काभेटर र दुई ट्रिपर नियन्त्रणमा लिएका थिए । नम्वर नखुलेको स्काभेटर र मे१ख २८१६, ना६ख ६१४९ नम्वरको ट्रिपर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ भने चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला पठाइएको जनाइएको छ ।
त्यसैगरी मेचीनगर–६स्थित काली मन्दिर छेऊबाट बग्ने मेची नदीबाट सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्मले अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्दै गरेका ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले मे१त ६३१९, मे१त ५३८३, मे१त ५४०६, मे १त १९५५, मे १त ६११३, मे१त ४२७८, मे १त ३४६४, मे १त ६४८१ नम्वरको ट्याक्टर र चालक नियन्त्रणमा लिएको सशस्त्रका प्रहरी नायव उपरीक्षक दिनेशकुमार बस्नेतले जानकारी दिए । नियन्त्रणमा लिएका ट्याक्टर र चालकलाई थप आवश्यक कारवाहीका लागि जिसस पठाइएको उनले बताए । यता जिसस र प्रशासनको आदेश र नियम विपरीत निन्दा र मेची नदीबाट अबैध उत्खनन् भइरहेको जनगुनासो बढेपछि प्रजिअसहितको टोलीले स्थलगत अनुगमनलाई निरन्तरता दिएको जिसस प्रमुख सोमनाथ पोर्तेलले बताए । नदीमा अनुमति बिना प्रयोग भएका मेशिन र सवारीसाधनलाई प्रहरीको सहयोगमा तत्काल नियन्त्रणमा लिएको हो– उनले भने– ‘नियन्त्रणमा लिएका मेसिन र सवारीसाधनलाई मापदण्ड अनुसार कानुनी कारवाही हुन्छ ।
जिससको पत्रमा यस्तो छ
जिससले अनाधिकृत रूपमा भइरहेको नदीजन्य वस्तु उत्खन्न कार्य बन्द गराउन गत बैशाख ३०मा जिल्ला प्रशासन कार्यालय झापालाई पत्राचार गरिसकेको थियो । सोही पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयलाई समेत पठाइसकेको थियो ।
पत्रमा उल्लेख भए बमोजिम जिल्लामा रहेका मेची, हडिया, बिरीङ र निन्दा नदीबाट जथाभावी मेसिन प्रयोग गरी नदीजन्य वस्तुको उत्खनन् तथा संकलन कार्य भइरहेकाले तत्काल बन्द गरी र उत्खननमा कार्यमा प्रयोग भएका मेसिन, ढुवानीका साधन नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाउनु भनी उल्लेख भएको छ । तर, सो पत्रको उल्लघन गर्दै कतै स्थानीय तहको अनुमति त कतै अनुमित बिना जथाभावी उत्खनन् कार्य भइरहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here