नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

११ जेष्ठ २०७५, शुक्रबार मा प्रकाशित

[सविता भण्डारी/sabitab24@gmail.com]

नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ ।

जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिकहरुमा राष्ट्रियताको भावना, सामुहिक मेलमिलाप, इमान्दारिता, कामप्रति जिम्मेबार जस्ता उल्लेख्य गुणहरु धेरैका लागि अनुकरणीय छन् ।

विशेषतः सन् १८८८ तिर बौद्ध धर्म अध्ययनका लागि तिब्बत जाने क्रममा जापानबाट नेपाल आएका भिक्षु इकाइ कावागुची नेपालको भ्रमणमा आउने पहिलो र उच्च तहका व्यक्तित्व मानिन्छन् । भिक्षु कावागुचीले तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई जापानले सन् १८६७ पछिको मेइजी आन्दोलनपश्चात शिक्षामा गरेको लगानीको परिणामस्वरूप जापान औद्योगिक एक समृद्ध आधुनिक मुलुक बन्न पुगेको हो ।

सन् १९०२ मा पहिलो पटक आठ जना विद्यार्थीहरुको आवागमनबाट सुरु भएको जापान अध्ययनको यो सिलसिला अहिले संख्यात्मकरुपमा धेरै परिवर्तन आएको छ । अहिले वर्षेनि झण्डै ५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु जापान जाने गरेका छन् । यसरी अध्ययन, भ्रमण, धर्म संस्कृति हुँदै फस्टाएको, नेपाल–जापान बीचको अनौपचारिक सम्बन्ध निकै पुरानो भएता पनि औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको भने ६२ वर्षमात्रै भएको छ ।

नेपालको विकासमा मित्रराष्ट्र जापानले देखाएको सहयोग अनुकरणी छ भन्ने कुरा झापामा जापानी नागरिकले गरेको सहयोगलाई पनि लिन सकिन्छ । सन २०११ बाट झापाको शैक्षिक क्षेत्रको विकासमा जापानी नागरिकले आ– आफ्नै तर्फबाट पनि सहयोग गरेका छन् । झापाका १२ विद्यालय निर्माणमा उनीहरुले चार करोड ६९ लाख रुपैयाँ सहयोग गरिसकेका छन् । जापान सरकारको सहयोग नेपाल सरकारलाई रहेपनि त्यहाँका नागरिकले पनि यहाँको शिक्षा क्षेत्रको विकासका लागि गरेको योगदान अनुकरणीय छ ।

केहीदिन अघि वाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारीमा रहेको गौरीशंकर माविमा ४२ लाख रुपैयाँको लागतमा निर्मित चारकोठे विद्यालय भवन उद्घाटन भएको छ । ‘हिरोता ड्रिम भवन’ लेखिएको यो भवन जापानी नागरिक तोशिरो हिरोता र हात्सुए हिरोताले निर्माण गरेका हुन् ।

घनश्याम स्मृति प्रतिष्ठान भद्रपुरको समन्वय तथा हिरोता दम्पत्तीले लगानी गरेर बनाएको भवनको उद्घाटन गर्न हिरोता दम्पत्ती स्वयम यहाँ आएका थिए । जापानमा शिक्षा अधिकारी रहँदादेखि नै उनले जापानको मात्र भई कम्वोडिया र नेपालको शिक्षा क्षेत्रमा लगानी गरेका थिए । जापानको शिक्षा अधिकारीबाट अवकास लिएपछि अन्य देशमा शिक्षा क्षेत्रमा गरेको लगानीलाई मात्रै हेर्ने हो भने पनि उनी शिक्षा पे्रमी नागरिकका रुपमा चिनिन्छन् ।

हिरोता दम्पत्तीले वाह्रदशी गाउँपालिकाको गौरीशंकरको मात्र विद्यालय भवन बनाएनन् बिर्तामोड – ६ मा रहेको सरस्वती मावि र अर्जुनधारा नगरपालिकामा रहेको लक्ष्मी मावि पनि बनाउन उनीहरुले आर्थिक सहयोग गरे । ९७ लाख रुपैयाँमा ८ कोठे दुई तले लक्ष्मी माविको उनीहरुले तयार गरिदिए भने ४८ लाख रुपैयाँको लागतमा सरस्वती माविको पनि चारकोठे भवन उनीहरुले नै निर्माण गरिदिएका छन् ।

गौरीशंकर माविमा निर्माण गरिएको हिरोता ड्रिलाई हेर्दा लाग्छ यो भवन पुतली झैं सुन्दर छ । हिरोता दम्पत्तीले भवन मात्र निर्माण गरेका छैनन् उनीहरुले सम्पूर्ण फर्निचर सेट समेत उपलब्ध गराएका छन् । प्रत्येक कक्षा कोठामा पोडियमपनि राखिएको छ । विद्यालय प्राङगढको उत्तर तर्फ निर्मित भवन अहिले त्यस क्षेत्रकै नमूना बनेको छ ।

विद्यालय भवन उद्घाटन गर्दै हिरोताले भनेका छन् – यो भवनलाई हामीले हिरोता ड्रिम नामाकरण गरेका छौं , यहाँ पढ्ने एक जना विद्यार्थी मात्रै विद्यार्थीले मात्रै पनि जापानको वारेमा जान्न सकुन् , जापान – नेपालबीचको सम्वन्धलाई अझ प्रगाढ बनाउन सकुन, दुईदेश बीचमा सदैब एकता कायम गर्नु सकेन्, त्यसैले यो भवनको नाममा हामीले ड्रिम लेखेका छौं ।

मानिसले सपना देख्नु पर्छ उनले भने – सपना देखियो भने साकार पार्न पनि लागि पर्छौै । मैले नेपालमा विद्यालय भवन निर्माण गर्ने सपना नै देखेको थिइन तर घनश्याम स्मसति प्रतिष्ठानका डा राजीव खनालले नोपलमा पनि सहयोगको अपिल गरेकाले मैले जापान टिम अफ ह्युमा पावर मापर्फत सहयोग गरेको हुँ ।

नेपाल सुन्दर देश छ । यो देशका सवै नागरिक शिक्षित होउन् भन्ने मेरो सपना छ । त्यही सपना साकार पार्न मैले आफ्नो तर्फबाट सहयोग गरेको हुँ । मैले गरेको सहयोग अरुका लागि पनि प्रेरणादायी हुने मैले ठानेको छु । अरुले पनि विद्यालय बनाउन सहयोग गर्न सकुन म यही चाहान्छु – हिरोताले भने । मानिस शिक्षित भएपछि आफैं गन्तव्य खोज्छ हिरोताले भने – नेपाल भन्दा धेरै पछाडि परेका देशले विकासमा फड्को मारिसकेका छन् । शिक्षा, स्वास्थ्य, विज्ञान र प्रविधिमा उनीहरु अब्बल छन् । यही बाटोमा नेपाल लम्कियोस् शुभकामना छ ।

हिरोताले निर्माण गरिदिएको भवनलाई सफा राख्न आग्रह पनि उनले समेत गरेका छन् । उनले भनेका छन् – अहिले तयार पारिएको भवन सुन्दर छ यस्तो सुन्दरतालाई कायम राख्न सकियो भने मात्र विद्यार्थी खुशी भएर पढ्न सक्छन् । यो भवन अव तपाइहरुको सम्पत्ती भयो । मेरो यसकै कुनै अधिकार नै छैन । तपाईहरुलाई यो भवन तयार गरेर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । म त्यत्ति नै खुशी रहन्छु यो विद्यालय सधै सफा रहेको देख्न र सुन्न पाएँ भने ।

हिरोताले विद्यार्थीलाई सर सफाइमा ध्यान दिन सुझाव दिएका छन् । उनले विद्यार्थी सफ रह्यो भने रोग नै नलाग्ने र रोग लागि हाले आधाजसो रोग आफैं निको भएर जान्छ भने । विद्यार्थीको भविश्य विद्यालयले निर्धारण गर्ने भन्दै उनले थपे –‘ शिक्षकहरुले विद्यालय र विद्यार्थीलाई सफा राख्न विशेष ध्यान दिनुहोस् ।

नेपाल र जापानबीचको सपनालाई अझ सुन्दर बनाउन हिरोता दम्पत्तीले निर्माण गरिदिएको भवन देखेर खुशी नहुने सायदै यस क्षेत्रमा नहोलान् । भवन यति सुन्दर छ कि जुन भवनमा छिरिसकेपनि विद्यार्थी सुविधा सम्पन्न ठाउँमै बसेर अध्ययन गरिरहेको महसुस गर्न सक्छन् झैं लागेको छ ।

नेपाल र जापानबीचको सम्वन्धलाई अझ सुमधुर बनाउन सकिने सपना देखेका हिरोता दम्पत्तीले सपना साकार पार्न सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जिम्मा दिएका छन् ।

हिरोता दम्पत्तीले विद्यालय भवन निर्माणसंगै सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामग्री समेत प्रदान गरेपछि विद्यार्थी मात्र खुशी थिइनन् त्यो क्षण अभिभावक पनि उत्तिकै खुशी देखिन्थे । हिरोता दम्पत्तीले सवै विद्यार्थीलाई कपी र कलम दिँदै पढेर ज्ञानी र असल बन्न आर्शीवाद दिँदा अभिभावकका आँखा रसाएका थिए । जापानी नागरिक हिरोता दम्पत्तीको सामाजिक कार्यमा खुशी साट्नेको कमी भएन । जापानीज नागरिकसंग के अभिभावक, के शिक्षक, के विद्यार्थीसबै झुमिमएको देख्ता लाग्यो उनीहरु साच्चै सधै झापामै बसिदिउन् ।

हिरोता दम्पत्तीको सहयोग प्रति आभार व्यक्त गर्दै गौरीशंकर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेशकुमार झाले उनीहरुको सहयोगप्रति धन्यवाद ज्ञपन गरेका छन् । उनले विद्यालयलाई गरेको सहयोग कुनैपनि दिन नभुल्ने बताउँदै हिरोता दम्पत्तीले शिक्षा क्षेत्रमा देखाएको योगदानको उच्च मूल्याङ्कन गरे ।

गौरीशंकर मावि

यता विद्यालयका प्रधानाध्यापक लेखनाथ कटुवालले जापानी नागरिकले यहाँको शैक्षिक क्षेत्रमा गरेको गुणलाई कहिल्यौ नभुल्ने बताएकाछन् । उनले हिरोता दम्पत्तीलाई धन्यवाद दिँदै भने – नेपालको शिक्षा क्षेत्रमा यहाँहरुले गरेको लगानीले यहाँका हजारैं वालवालिकालाई सत्मार्गमा लगाउन हामी कटिवद्ध छौं ।

नेपाल र जापान बीचको सम्वन्धले नेपालको समग्र विकासमा जुन आयाम थपेको छ त्यत्तिनैे त्यहाँका नागरिकले नेपालको शैक्षिक श्रेत्रमा गरेको योगदानले विद्यालय सदैब कृतज्ञ हुनेछ प्रधानाध्यापक कटुवालले भने–जापानी नागरिकबाट सिकेको सत्मार्गको प्रेरणा हाम्रा लागि स्तुत्य छ ।

शताब्दिऔँ वर्षपहिलेदेखि कायम भइआएको नेपाल र जापानबीचको धार्मिक, सांस्कृतिक, आर्थिक, शैक्षिक एवं मित्रवत् सम्बन्ध पछिल्लो कालमा आएर अझ निरन्तर र प्रगाढ बन्दै गएको छ । नेपाल र जापानबीचको दौत्य सम्बन्ध विभिन्न क्षेत्र र विषयगत आयामहरुमा यसरी नै युगौंसम्म झ्याङ्गिरहोस् र फस्टाइरहोस् शुभकामना । अनि यहाँको समग्र शिक्षा क्षेत्रको विकासका लागि सदैव जापानी सहयोगी मनहरुको रोजाइमा पर्न सकोस मेरो देश अनि मेरो झापा । लेखक – गौरीशंकर माविका कार्यरत हुनुहुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here