गुरुकुलमा दलित निषेधबिरुद्ध थप आन्दोलन

चन्द्रगढी, जेठ १२। कानून विपरीत शिक्षामा जातीय विभेद गरी झापाको भद्रपुर–६स्थित संस्कृत विद्यालय श्री कृष्ण द्वै्रपायन गुरुकुल बेद विद्याश्रमले दलित विद्यार्थीलाई संस्कृत पठनपाठनबाट बञ्चित गरेको भन्दै झापाका दलित अधिकारकर्मीहरु आन्दोलित बनेका छन् ।


भद्रपुर–६स्थित संस्कृत विद्यालय श्री कृष्ण द्वै्रपायन गुरुकुल बेद विधाश्रमले इलाम नगरपालिका–५ बर्वोटेका ८बर्षीय अनाथ बालक विकास कार्की (डोली)लाई भर्ना लिन मानेन । विद्यालय प्रशासनले उनलाई भर्ना गर्न अस्वीकार गरेको उनीहरुले बताएका छन् ।
दलित समुदायका बालक विकासलाई गुरुकुलले भर्ना लिन अस्वीकार गरेपछि झापाका दलित अधिकारीकर्मीहरु आन्दोलित बनेका हुन् । शिक्षामा जातीय विभेद गरेको भन्दै आपत्ति जनाउँदै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले एक साताअघि गुरुकुलमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरेलगत्तै संगठनले जिल्ला प्रशासन कार्यालय झापा पुगी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री कार्यालयलाई गुरुकुलभित्र हुने विभेद्लाई अन्त्य गर्न माग गर्दै ज्ञापन–पत्र बुझाएका थिए । दलित अधिकारकर्मीहरुले स्थानीय सरकार भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई पनि ज्ञापनपत्र बुझाएका थिए ।
तालाबन्दी र ज्ञापनपत्र बुझाएको एक साता बित्न लाग्दा समेत कुनै निकाय र पक्षबाट पहल नभएपछि दलित अधिकारीकर्मीहरु शुक्रवार गुरुकुल घेराउ गर्दै आन्दोलित बनेका हुन् । ‘२१आंै शताब्दीमा आएर पनि दलितमाथि भइरहेको अन्यायको बिरुद्धमा उत्रिएका छांै– दलित महिलाकर्मी तारादेवी वोगटीले भनिन् ।
सरकारले जातीय छुवाछुतको अन्त्य गरिसकेको छ– उनले भनिन्– ‘सरकारले बनाएको कानून व्यवहारमा नल्याउँदा जातीय विभेद बढेको हो र यसको अन्त्यका लागि हामी आन्दोलित बनेका छौं ।’ नेकपाका जितु गौतमले भने– शिक्षामा जातीय विभेद सरकारले अन्त्य गरिसकेको भन्दै जातको आधारमा कोही शिक्षाबाट बञ्चित हुन्छ भने त्यो हामीलाई स्वीकार हँुदैन ।
नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले धर्मविरोधीहरुले चलखेल गरिरहेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी दिए ।
यसअघि जिल्लाभरका सयौंको संख्यामा भेला भएका दलित अधिकारकर्मीहरुको शुक्रवार सदरमुकाम भद्रपुरबाट निकालिएको विरोध प्रर्दशनसहितको ¥यालीले गुरुकुल घेराउ गरेको थियो ।
दलितलाई विभेद गर्ने गुरुकुल बन्द गर, जातीय छुवाछुतको अन्त्य गर भन्दै उनीहरुले चर्को नाराबाजी समेत गरेका थिए । नाराबाजी गर्दै पुगेको र्यालीले कालो झण्डा लगाएका थिए । प्रहरीले उनीहरुलाई गेटमै रोकेका थिए । झण्डा लगाए पश्चात उनीहरु र्यालीसहित कोणसभाका लागि सदरमुकाम फर्किएका थिए ।
यस्तो छ कानूनी अधिकार
देशभरका गुरुकुल, विद्यापीठमा, सबै जाति, लिङ्गका विद्यार्थी अध्ययन गर्न पाउनुपर्ने, गुरुकुल आश्रम सञ्चालन पक्षले अमानवीय व्यवहार गरेमा जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ को दफा ४ (२) बमोजिम जातीय छुवाछुत जन्य कसुर कार्य भएमा तुरुन्त पक्राउ गरी ऐ.ऐनको दफा ७ (१) (क) बमोजिम हैद सम्म कानूनी कारवाही हुन्छ ।
सोही कानून बमोजिम दलित भएकै कारण भर्ना लिन अस्वीकार गरेको विद्यार्थीलाई भर्ना गर्नुपर्ने, कुरिती र कुसंस्कारको संरक्षण गर्ने पाठशाला खारेजी गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित बनेका हुन् । जातीय भेदभाव र छुवाछुत मुद्दासहितको जाहेरी दिन गएका दलित अधिकारकर्मीहरु प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णुकुमार केसीलाई भेटर फर्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com