आगलागी पीडितलाई राहत

कचनकवल, जेठ १२। दक्षिणी झापाको कचनकवल गाउँपालिका–४स्थित पक्लीभिट्टामा आगलागीबाट पीडित १३ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
गत आइतबार राति आगलागी हँुदा सो क्षेत्रका ८ घर पूर्ण र ५ घर आंशिक रुपमा क्षति भएपछि पीडित परिवारलाई विभिन्न संघ–संस्थाले राहत सामग्री वितरण गराउन थालेका छन् । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाले शुक्रवार १३ घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । संगठनका झापाकी अध्यक्ष राधा कार्कीको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई त्रिपाल, तन्ना र सुत्ने फोम वितरण गरेको जनाइएको छ ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले पनि पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । रेडक्रसका झापा सभापति लोकराज ढकालको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई लुगाकपडा, त्रिपाल, भाँडाकुँडा, कम्बल लगायतको सामग्री वितरण गरेको थियो ।
कचनकवल–४स्थित साह आलमको घरबाट सल्किएको आगोले आसपासका टिनको छानो भएका आलमसहित जयनाल मियाँ, जाबुल मियाँ, फारुक मियाँ, जमशेद मियाँ, जमिल मियाँ, सुवेरा खातुन, पसरुदिन मियाँ र फारुक मियाँको घर पूर्ण रुपमा जलेर खरानी भएको थियो ।
त्यस्तै आंशिक क्षति भएका सादिक आलम मियाँ, मसुर मियाँ, फारविस मियाँ, नुरहुसेन मियाँ र रफिक मियाँलाई समेत राहत वितरण गरिएको थियो । आगलागीबाट अन्नपात, घरायसी सामग्री जलेर नष्ट हुनुका साथै ३ वटा चौपाया मरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com