विभेदको अन्त्य अब झापाबाट

बिर्तामोड, झापाका मानवअधिकारकर्मी तथा पेशाकर्मीहरुले दलित बालकलाई भद्रपुरस्थित गुरुकुलले भर्ना नलिएको विषय प्रति स्थानीय प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
गुरुकुलमा भएको घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरीत रहेको निष्कर्षसहित उनीहरुले पीडितलाई न्याय र वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् । झापाको भद्रपुर–६ स्थित श्री कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा इलाम बरबोटे–५ का आठ वर्षीय अनाथ विकास कार्कीढोलीलाई आवासीय भर्ना लिन इन्कार गरिएपछि दलित अधिकारकर्मीहरु आन्दोलित छन् । उक्त घटना र त्यसपछि उत्पन्न परिस्थिति सहज बनाइ आपसी छलफलबाट समस्या समाधानका लागि संवाद समूह झापाको संयोजनमा सोमबार बिर्तामोडमा भएको छलफलमा सहभागीले अब सबैखाले विभेदको अन्त्य झापाबाटै शुरु गर्नुपर्नेमा जोड दिए ।
गुरुकुलले गरेको उक्त विभेदविरुद्ध झापाका दतिल अधिकारकर्मीले पाँच सय ५१ सदस्यीय गुरुकुल जातीय विभेद संयुक्त संघर्ष समिति र २१ सदस्यीय सचिवालय बनाएर संघर्ष गरिरहेका छन् । संघर्ष समितिका संयोजक तथा नेपाल उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रान्तीसहित संघर्षरत् पक्षले घटनाबारे अधिकारकर्मीलाई जानकारी गराएका थिए ।
प्रदेश नं. १की प्रदेशसभा सदस्य जसमाया गजमेर, वरिष्ठ अधिवक्ता तथा झापा बारका पूर्व अध्यक्ष टंक उप्रेती, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषद्का सहसंयोजक एवम् मानव अधिकार सञ्जाल झापाका सचिवालय प्रमुख विष्णु खरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका उपाध्यक्ष राम मैनालीले ती बालकलाई गुरुकुलमा भर्ना नलिएको घटना अपराध भएको बताए ।
संवाद समूहमा भएको छलफलमा पाँच बुँदे साझा धारणा तथा निष्कर्ष समेत तय गरिएको छ । जसमा संघर्षरत् पक्षले आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउने, सरोकारवालाहरुबीच संवाद र छलफलबाटै समस्याको उचित निकास खोज्ने, उक्त घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै पीडितलाई न्याय र झापामा विभेदमुक्त समाज निर्माणको अभियानमा अग्रसर हुने प्रतिबद्धता जनाइएको छ ।
त्यस्तै नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेका मौलिक र कानूनी हकको कार्यान्वयन गर्न नेपाल सरकार लगायत सरोकारवालाको ध्यानाकर्षण गराउने, घटनाको शीघ्र अनुसन्धान गरी पीडितलाई न्यायका लागि उचित कानूनी प्रक्रिया अगाडि बढाउन स्थानीय प्रशासन र सरकारको ध्यानाकर्षण गराउने छलफलले निष्कर्ष निकालेको छ ।
अधिकारकर्मी तथा पेसाकर्मीहरुले संविधानतः नेपालमा जातीय र अन्य सबै विभेद अन्त्य भए पनि व्यवहारमा त्यो नदेखिएकाले उक्त घटनाको पृष्ठभूमिमा अब व्यवहारमै सबै विभेद अन्त्य गरी सामाजिक रुपान्तरणको अभियानमा अग्रसर हुन आह्वान गरेका छन् । दलित अधिकारकर्मीहरुले सबै गुरुकुलमा बिना भेदभाव दलित विद्यार्थीले पढ्न पाउनुपर्ने आवाज उठाएका छन् । उनीहरुले आफ्नो संघर्षलाई शान्तिपूर्ण रुपमा अघि बढाउँदै सामाजिक सद्भावको पक्षमा रहेको समेत प्रतिबद्धता जनाएका छन् । दलितको घरमा ब्राह्मण जातिका पुरोहितले कर्मकाण्ड गर्न नमान्ने भएकाले आफ्नै समुदायबाट पुरोहित तयार गर्न गुरुकुलमा पठनपाठनको अनुकूल वातावरण बनाइनुपर्ने उनीहरुको भनाइ छ ।
छलफलमा दलित आयोगका पूर्व सदस्य टेकबहादुर साशंकर, नेपाल दलित संघका केन्द्रिय सदस्य हस्त परियार, मुक्ति समाज नेपालका जिल्ला अध्यक्ष भोला परियार तथा संघर्ष समितिका सहसंयोजक रञ्जित परियार, सचिव छविलाल विश्वकर्मा, सदस्यहरु सूर्यबहादुर विश्वकर्मा, वीरबहादुर दर्नाल, गोपाल लकान्द्री, निता घतानी, हर्कमाया विक, हरि नेपाली, दलित बालकलाई इलामबाट भर्नाका लागि गुरुकुलमा पुर्याउने तुलसी भट्टराई लगायतले आफ्ना धारणा राखेका थिए । छलफलको सहजीकरण संवाद समूह सचिवालयका सहजकर्ताद्वय पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।
घटना विवरण
घटना ०७५ वैशाख १८ गतेको हो । इलाम–५ का तुलसी भट्टराईले अभिभावकविहीन बालक ८ वर्षीय विकास कार्कीढोलीलाई गुरुकुलमा भर्नाका लागि भद्रपुर ल्याए । विकास ४ वर्षको हुँदै उनका पिताको निधन भएको र आमाले समेत छोडेर अर्कैसँग गएपछि उनीसहित तीन दाजु–दिदीको विचल्ली भएको थियो । मावलीमा बस्दै आएका उनीहरु मध्ये विकासलाई उनका मावली हजुरबुबाले भट्टराई समक्ष अनुरोध गर्दै– ‘यो नातिलाई कुनै गुरुकुलमा भर्ना गरिदिए आवासीय रुपमा पढ्ने र दलित समुदायमा अभाव रहेको पुरोहितको समस्या पूर्तिमा सघाउ पुग्ने’ इच्छा व्यक्त गरेका थिए । त्यही बमोजिम भट्टराईले विकासलाई डोर्याउँदै इलामसँगै झापाको साधुटार, अर्जुनधारा, दमक, चारपाने, ज्यामिरगढी लगायतका गुरुकुल पुगे ।
सबैतिर ‘दलितलाई अनुमति छैन’ भन्ने जवाफ पाएपछि आफूले जाने बुझेको गुरुकुल झापाको सदरमुकाम भद्रपुरको श्री कृष्ण द्वैपायनमा पुर्याए । त्यहाँ आवासीय रुपमा होइन, बाहिरै राखेर पढाउन सकिने जवाफ पाए । त्यसपछि उनले दलित अधिकारकर्मीहरुसँग सम्पर्क गरे । दलित अधिकारकर्मीहरुले गुरुकुलमा यो ठूलो जातीय विभेद रहेको निष्कर्षसहित त्यसको अन्त्यका लागि अभियान अघि बढाए । जेठ ३ गते उक्त गुरुकुलका अध्यक्ष राजेन्द्र चापागाईसँग सम्पर्क गर्दा विधानले दलितलाई पढ्न दिँदैन भन्ने जवाफ पाएको संघर्ष समितिका संयोजक टीकाराम मग्रान्ती बताउँछन् ।
त्यसपछि शैक्षिक क्षेत्रमा भएको विभेदको अन्त्यका लागि भनेर उनीहरुले जेठ ३ गते नै गुरुकुलको प्रशासनमा तालाबन्दी गरे । त्यसपछि दुई दर्जन बढी दलित संगठनको भेलाले संघर्ष समिति बनाए । ६ गते उनीहरुले तीन बुँदे मागसहित जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाए । उनीहरुका मागमा विभेदकारी गुरुकुलको खारेजी, गुरुकुलमा जातीय विभेद गर्नेलाई कानूनी कारवाही र निर्विवाद–विभेदरहित ढंगले गुरुकुलमा दलित विद्यार्थीले पढ्न पाउनुपर्ने रहेका छन् । त्यसपछि उनीहरुले विभेद गर्नेलाई स्थानीय तहबाट दिने सबै सेवा बन्द गर्ने स्वघोषणापत्र जारी गर्न सात दिने अल्टीमेटमसहित जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेललाई ज्ञापनपत्र बुझाए ।
जेठ ८ गते जिल्ला प्रशासनमा वार्ता भयो । सिडिओ जनकराज दाहालले गुरुकुलका सञ्चालकलाई अनुरोध गरे, तर मानेनन् । दुई दिनभित्र आवासीय रुपले दलित बालकलाई पठनपाठन गर्ने वातावरण बनाउन झापाका सिडिओले निर्देशन दिए । उनकै अघि गुरुकुल पक्षधरले ‘कामी, दमाई र महिलालाई गुरुकुलमा पढाएर भद्रगोल बनाउनुभन्दा जेल जान तयार छौं’ भन्ने चुनौति दिएपछि आफूहरु संघर्षमा जानुपरेको दलित अधिकारकर्मीहरु बताउँछन् । नेपाल पत्रकार महासंघ झापाले जेठ १३ गते उक्त विषयलाई लिएर छलफल गरायो भने १४ गते संवाद समूहले शुरुमा मानवअधिकारकर्मी र दलित अधिकारकर्मीहरु बीचको छलफलबाट वार्ताको चरण शुरु गरेको छ । अब गुरुकुल सञ्चालक पक्ष र त्यसपछि प्रशासन लगायत सरोकारवालाहरुसँग वार्ता गरी छलफलकै माध्यमबाट समस्या समाधान गर्ने प्रक्रिया अघि बढेको संवाद समूहले जनाएको छ । संवाद समूहमार्फत गुरुकुलका सञ्चालक, प्रशासन लगायतका पक्षसँग अनौपचारिक छलफल भइरहेको समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com