१५ जना विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा

बिर्तामोड, वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (बीईएफ) को सहकार्यमा झापाका १५ जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ ।
वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनले सोमबार संयुक्तरुपमा बिर्तामोडमा गरेको पत्रकार भेटघाटमा आर्थिकरुपमा विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने घोषण गरिएको हो ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरी र बिर्तामोड एजुकेशन फाउण्डेशनका प्रबन्धक राज कार्कीले संयुक्त रुपमा विपन्न परिवारका १५ विद्यार्थीलाई उनीहरुको रोजाईका कम्प्युटर कोर्षमा निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा गरेका हुन् ।
वीरता जेसीजका अध्यक्ष गिरीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा बिर्तामोड एजुकेशन फाउण्डेशनका प्रबन्धक कार्कीले विभिन्न पाँचवटा कम्प्युटर कोर्षमध्ये विद्यार्थीको रोजाईमा एउटा कोर्ष निःशुल्क प्रदान गर्ने जानकारी दिए ।
कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कम्प्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ कोर्ष विद्यार्थीले अध्ययन गर्न पाउने छन् । यो अवसरका लागि छनौटमा पर्न एसएलसी÷एसईई उत्तीर्ण हुनुपर्ने न्यूनतम् मापदण्ड बनाइएको छ ।
निःशुल्क कम्प्युटर शिक्षाका लागि अनाथ, अपाङ्गता भएका र आर्थिक रुपमा विपन्न समुदायका इच्छुक विद्यार्थीबाट आवेदन आह्वान गरी आवश्यकता अनुसार स्थलगत अध्ययन समेत गरेर १५ जना विद्यार्थी छनौट गरिनेछ । त्यसरी छानिएका विद्यार्थीलाई उनीहरुले रोजेको कम्प्युटर कोर्षमा निःशुल्क शिक्षा प्रदान गरिने छ । असार १ गतेबाट छनौटमा परेका विद्यार्थीलाई कम्प्युटर कक्षा सञ्चालन गरिने छ । विद्यार्थी छनौटका लागि वीरता जेसीजको सचिवालयमा आवेदन फारम बुझाउनुपर्ने बताइएको छ । वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ)बीचको सहकार्यको निरन्तरताको प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
सन् १९८१मा स्थापित वीरता जेसीज युवाको व्यक्तित्व र नेतृत्व विकासका साथै सामाजिक र मानवीय सेवा क्षेत्रमा क्रियाशील छ । २०७३ साल फागुन २४ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइ विधिवत् सेवा शुरु गरेको बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ) अध्ययन, अनुसन्धान तथा परामर्श सेवाहरु, अन्य शैक्षिक सेवाहरुमा क्रियाशील छ ।
‘संयुक्त राष्ट्र संघले सन् २०३०को समय सीमा राखेर तय गरेको दीगो विकासको लक्ष्यहरु मध्ये चौथो नम्बरको लक्ष्यमा गुणस्तरीय शिक्षा पर्दछ, नेपालले पनि दीगो विकासको लक्ष्य प्राप्ति गर्न समतामूलक र गुणस्तरीय शिक्षामा जोड दिएको छ’– वीरता जेसीजका अध्यक्ष गिरीले भने– ‘यही विषय मनन गरी दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पु¥याउन सिपयुक्त प्राविधिक शिक्षाका लागि वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ) बीच यसै बर्षबाट सहकार्यको शुरुवात भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं ।’
‘कम्प्युटर शिक्षा आजको आधारभूत आवश्यकता बनिसकेको छ’– बीईएफका प्रबन्धक कार्कीले भने– ‘यो आवश्यकता परिपूर्ति र आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीको पहुँच कम्प्युटर शिक्षामा पुर्याउनु वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशन (वीईएफ)बीच सहकार्यको मूल उद्देश्य हो ।’ कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।
शिक्षा सबैको अधिकार भए पनि व्यवहारमा त्यो सहज छैन । सिपयुक्त र प्राविधिक शिक्षामा आज धेरैको पहुँच पुग्न सकेको छैन । गुणस्तरीय, सिपयुक्त र प्राविधिक शिक्षाको कमीकै कारण अधिकांश युवा विदेशी भूमिमा सस्तो मूल्यमा कडा श्रम बेच्न बाध्य छन् । वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनबीचको जस्तै सहकार्य अरुले पनि गर्ने हो भने गुणस्तरीय र प्राविधिक शिक्षामा टेवा पुग्न सक्थ्यो कि !

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com