‘५० हजार भए म बा“च्थे, मलाई बचाइदिनुहोस्’

[विनोद पाण्डे]
बिर्तामोड, जेठ १५। मानिस आफ्नो उपचारका लागि २५ बर्षदेखि सडकका गल्ली–गल्लीमा दौडिन्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, पनि हालसम्म ५० हजार रुपैयाँ जुटाउन नसकेर झापाका एक व्यक्ति सम्पूर्ण कागजपत्र झोलामा बोकेर भौतारिरहेका छन् ।
झापाको दक्षिणी गाउँपालिका बाह्रदशी–२, जनता घर भएका ६१ बर्षीय मोहमद हाकिम मिया सहारा खोज्दै आमसञ्चार डटकमको कार्यालयमा आइपुगे । वृद्धा अवस्थामा रहेका मियाले आफूले सञ्चारमाध्यमबाट ठूलो भरोसा राखेको बताए । २०५४ सालमा गाउँ पञ्चायत सदस्य समेत भएका मिया अहिले भने बाँच्नकै लागि सहारा खोज्दै भौतारिरहेका छन् ।


२०४६ सालमा क्षयरोग लागेपछि उनले उपचार शुरु गराएका थिए । तर, तीन महिनाको औषधि किन्न नसकेर क्षयरोग बिग्रिएपछि उनी जीवनमरणको दोसाधमा रहेका छन् । हाल उनी मुटु, श्वासप्रश्वास, करङ र मुखबाट रगत जाने समस्याबाट पीडित रहेका छन् । बाह्रदशीमा रहेको एक विगाह पाँच कठ्ठा जमिन बेचेर उनले उपचार गराए पनि रोगवाट हाकिमले मुक्ति पाउन सकेका छैनन् ।
सन्तानको रुपमा रहेको एउटा छोरो पनि आमा–बाबुलाई चट्क्कै माया मारेर अन्तै बिलासिएको भन्दै हाकिमले गहभरि आँशु पारे । आफू लामो समयदेखि बिरामी पर्दा स्थानीयदेखि केन्द्रस्तरका नेताहरु समक्ष सहयोगको याचना गरे पनि आश्वासन मात्र पाएको बताए । उनले आम सहयोगी मन भएका महानुभावहरुसँग सञ्चारमाध्यममार्फत आफ्नो पीडा राखेर सहयोग पाउने अन्तिम आशा र भरोसामा रहेको बताए । ईस्लाम धर्ममा आस्था राख्ने भए पनि उनी भन्छन्– ‘आस्था जे राखे पनि ईश्वर एकै र विश्वका सबै मानव एकै हुन्, नेपाल राष्ट्र र समाज सेवाप्रति क्रियाशिल रहँदै आफू आएको हँुदा सबैले सहयोग गर्नेमा आशावादी रहेको छु ।’
यसैबीच सरकारले दीर्घरोग लागेका व्यक्तिलाई एक लाख रुपैयाँसम्मको औषधि उपचार निःशुल्क गरे पनि झापाका हाकिम उक्त सुविधाबाट वञ्चित भएका छन् । वडा कार्यालयमा निवेदन दर्ता गराएर सहयोग माग्दै बाह्रदशी गाउँपालिका आए पनि गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले कुनै सहयोग नगरेको हाकिमले गुनासो गरे ।
उनले आफूले पाउने सेवासुविधा उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् । फोक्सोमा समस्या भएपछि आफूलाई धेरै समस्या भएको भन्दै औषधिमा मात्रै दैनिक एक सय ५० रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको बताए । उनले आफूलाई हाल ५० हजार रुपैयाँ भए काठमाडौं गएर उपचार गराउन सहयोग मिल्ने भन्दै सबैसँग सहयोगको याचना गरेका छन् ।
आफूलाई सहयोग गर्न चाहनेले झापाको बिर्तामोडमा रहेको आमसञ्चार डटकमको कार्यालयमा रकम जम्मा गरिदिन उनले आग्रह गरेका छन् । त्यस्तै उनले सहयोग गर्न चाहुने ब्यक्ति तथा संघ–संस्थाहरुले आफ्नो सम्पर्क नम्बर ९८१४९८०३२८ सम्पर्क गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com