बिर्तामोडमा जिउदो आकाश

बिर्तामोड, वीरता जेसीज बिर्तामोड र बिर्तामोड उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबारदेखि बिर्तामोडस्थित अतिथि सदनमा नाटक ‘जिउँदो आकाश’ मञ्चन हुँदैछ ।
आर्ट स्टुडियोकोे संयोजन र साइलेन्ट एक्टको निर्माणमा बनेको नाटक ‘जिउँदो आकाश’ आज शुक्रबारदेखि आगामी जेठ २३ गतेसम्म बिर्तामोडस्थित अतिथि सदनमा मञ्चन गरिने भएको नाटकका संयोजक प्रकाश दाहालले जानकारी दिए । यौनिक अल्पसंख्यक (तेस्रो लिङ्गी)को बिषयवस्तु बोकेको चन्द्रप्रसाद पाण्डेको लेखन तथा आरके मेहेता रोशनको निर्देशन रहेको नाटक ‘जिउँदो आकाश’ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भारतको आठौँ अन्तर्राष्ट्रिय फेस्टिभल (थिएटर ओलम्पिक २०१८) सहभागी हुँदै फागुन २८ गते गुहाटी र ३० गते दिल्लीमा मञ्चन भएको नाटकका संयोजक दाहालले जानकारी दिए ।
उनले २०७३ जेठ २९ गते चरीकोटको सिमपानी हलमा, नेपाल संगीत तथा नाट्य एकेडेमीले आयोजना गरेको नाट्य महोत्सव काठमाडौंमा २०७४ साउन १३ देखि २१ सम्म पहिलो चरण र फागुन ११ देखि २० गतेसम्म दोस्रो चरण, पोखरामा २०७५ बैशाख १ गतेदेखि १५ गतेसम्म नाटक ‘जिउँदो आकाश’ मञ्चन भइसकेको बताए । उनले नाटक हेरिसकेपछि यौनिक तथा अल्पसंख्यक समुदायप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताए ।
गत जेठ ११ गतेदेखि १३ गतेसम्म चुलाचुली थिएटरको आयोजनामा दमकको गोर्खा डिपार्टमेन्टको हलमा नाटक ‘जिउँदो आकाश’ मञ्चन गरिएको उनले बताए । बिर्तामोडमा नाटक घर निर्माण गर्ने उद्देश्यले नाटक ‘जिउँदो आकाश’ मञ्चन गरिने भएको दाहालले बताए । ‘जिउँदो आकाश’ मञ्चनका लागि वीरता लेडी जेसीज, लायन्स क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ बिर्तामोड, रोट्रयाक्ट क्लब, मारवाडी सेवा समिति, मारवाडी महिला मञ्च, होटल ब्यवसायी संघ बिर्तामोड, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, उद्यमी महिला संघ लगायत संस्थाहरुले सहयोग गरेको नाटकका संयोजक दाहालले बताए ।
त्यस्तै नाटक टिमको सदस्यहरुका लागी हस्पिटालिटीमा डाउन टाउन होटलले सहयोग गरेको बताउँदै उनले नाटकको बिषयवस्तुको महत्वका आधारमा बिराट ज्योति सेकेण्डरी स्कूल, कञ्चनजंघा मावि, मनकामना कलेज, बाल्मिकी एजुकेशन फाउण्डेशन, एमिटी एजुकेशन फाउण्डेशन, काबेली स्कूल, इडन गार्डेन स्कूल, निधि क्याम्पस, शनिश्चरे मावि, लक्ष्मी मावि, टावर टेम्पल स्कूल, ग्लोरी इङ्लिस स्कूल, फनमिन स्कूल लगायतका स्कूल तथा कलेजहरुले विद्यार्थीहरुलाई नाटक देखाउन बुक गरिसकेको दाहालले जानकारी दिए । आज जेठ १८ गतेदेखि २३ गतेसम्म प्रत्येक दिन बेलुकी ५ः३० बजेदेखि र बिद्यार्थीहरुका लागि बिहानको ११ः०० बजे र दिउँसोको १ः०० बजे नाटक मञ्चन गरने उनले बताए ।
वीरता जेसीजले कला संस्कृतिको विकासमा टेवा पुर्याउन तथा विभेदरहित समाजको निर्माणमा युवालाई प्रेरित गर्न नाटकको आयोजना गरेको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले बताए । उनले युवालाई सामाजिक विकृतिको अन्त्य गरी विभेदमुक्त समाज निर्माणमा प्रेरित गर्दै उनीहरुको व्यक्तित्व र नेतृत्व विकास गर्न र यौनिक तथा अल्पसंख्यक समुदायलाई हेर्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न नाटकको आयोजना गरिएको बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले नाटक जिउँदो आकाशले यौनिक तथा अल्पसंख्यक समुदायप्रति गरिने व्यवहारमा परिवर्तन आउने विश्वास व्यक्त गरे । यौनिक अल्पसंख्यक (तेस्रो लिङ्गी)को कथाबस्तुमा आधारित नाटक ‘जिउदो आकाश’मा अनिल सुब्बाको एकल अभिनय रहने बताइएको छ ।
त्यस्तै चन्द्रप्रसाद पाण्डेयको लेखन रहेको नाटकमा संगीत संयोजन किरण चाम्लिङ, संगीत परिचालन युनिक, मञ्च व्यवस्थान सभ्रान्त थापा, कोरियाग्राफी कमल राई, पोष्टर चित्र काजी राना, भेषभुषा सुनिता मोते, प्रकाश परिकल्पना मिलन नेपाली, मञ्च परिकल्पना निर्देशन आरके मेहेता रोशन, सहनिर्देशन रेनुका कार्की रहेको नाटकका संयोजक प्रकाश दाहालले बताए ।
आर्ट स्टुडियोले संयोजन गरेको बिर्तामोडमा मञ्चन गरिन लागेको नाटक ‘जिउँदो आकाश’मा बिर्तामोडका लागि प्रविण खड्का, निमेष शिवाकोटी र प्रकाश दाहालले लगानी गरिरहेको बताइएको छ । नाटकको आज एक कार्यक्रमकाबीच प्रदेश सांसद ओम सरावगीले उद्घाटन गर्ने वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।
पछिल्लो समय झापामा नाटक हेर्ने संस्कृतिको विकास हुँदै गएको अवस्थामा नाटक जिउँदो आकाशले दर्शकको साथ पाउने नाटकका संयोजक प्रकाश दाहालले बताए । झापामा नाटक घर निर्माण गर्ने उद्देश्यले यसअघि नाटक लाटीको छोरो मञ्चन गरिएको र त्यसलाई दर्शकले माया गरेकोले नाटक जिउँदो आकाशलाई पनि दर्शकले माया गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com