पटक – पटक आफूलाई मर्द बनाउने कोशिसमा हुन्थे उनी

[सविता भण्डारी]

विवाह गरेर ल्याएपछि श्रीमतीले श्रीमानलाई कर्तव्यका विषयमा सम्झाउनु पर्दा कस्तो होला । एक दिन हैन दुई दिन हैन, दिनहुँ श्रीमतीले श्रीमानलाई उनका कर्तव्यका विषयमा सम्झाउँदा पनि कुनै सिप नचलेपछि श्रीमानलाई स्वतन्त्र भएर बाँच्न दिनुको सायद बिकल्प पनि रहन्न । यस्तै घटना देखियो शुक्रवार बिर्तामोडमा । झमक्क साँझ परेको थियो । विस्तारै चारैतीर सन्नटा छाउँदै थियो । त्यही सन्नटाबीचमा अतिथि सदन भित्रको सभा हलमा उनी भन्दै थिइन् – ओछ्यान साट्ने हैन सक्छस् भने मर्द भएर देखा । झुरुप्प मान्छे, सबै मौन, उनी चिच्याइ रहेकी थिइन् । तर, उनको चिच्याइमा उनका लोग्नेले न्याउरो मुख लगाएर घोत्लीन शिवाय अरु केही गर्न सकेका थिएनन् । म पनि त्यही झुरुप्प मान्छे बीचमै थिए । कैतुहलताले मन थप जिज्ञासु भएको थियो । क्षण भरमै आफैंमा हराउथे त क्षण भरमै उनीहरुलाई हेर्दै सोच्थे यतिका मान्छे बीचमा यो के को रमिता ? बीचरा ती पुरुष पटक – पटक आफूलाई मर्द बनाउने कोशिसमा हुन्थे । उनले लाख कोशिस गर्दा पनि उनमा त्यो आकांक्षाले कहिल्यौ वास नै गर्न सकेन । अध्यारो झन् झन् बढ्दै थियो । म कल्पनामा हराउदै थिए । यतिकैमा झलमल्ल बत्ती बल्छ, आँखाको डिल हुँदै नागवेली सरी गालाभरि लतपतिएका आँशु पुस्तै म पुनः यथास्थितिमा फर्कन्छु । हत्तपत्त अरुलाई हेर्छु, उनीहरुलाई पनि उही स्थितिमा पाउँछु । मेरा लागि यो कुनै कोरा कल्पना थिएन । यो यथार्य थियो । अल्प संख्यकमध्ये तेस्रो लिङ्गीका विषयमा तयार पारिएको नाटक जिउँदो आकाश भित्रको कथा ।

नाटककार चन्द्रप्रसाद पाण्डेले तेस्रोलिंगीको सामाजिक अवस्थालाई नाटकका माध्यमबाट रंगमञ्चमा प्रस्तुत गरेको यो कथाले समाजले यौनिक अल्पसंख्यक समुदाय प्रति गर्ने नकारात्मक व्यवहारलाई जस्ताको त्यस्तै उतारेका छ ।

हाम्रो समाजले महिला र पुरुष बाहेकका फरक यौनिकता र लैंगिकता भएका समुदायलाई बुझ्न सकेको छैन । जसका कारण यी समुदायका मानिस विभिन्न जटिल सामाजिक संरचनामा बाच्न बाध्य छन् । उनीहरु देश विकासको मूल प्रवाह भन्दा बाहिर रहेका छन् । राज्यले उचित संरक्षण गर्न नसक्दा मानवअधिकारका आधारभूत पक्षहरु यो समुदायमा कमजोर देखिन्छ ।

समाजमा फरक पहिचान भएर हुर्किएका यी समूहले भोग्नु परेको समस्यालाई नाटक ‘जिउँदो आकाश’ ले यथार्थ चित्रण गरेको छ ।

प्रेम असफल, शैक्षिक अध्ययनमा वीचमै पूर्ण विराम, शैन्य सेवा प्रवेश गर्न खोज्दा यौन दुव्र्यवहार शिकार, विवाह असफल । एउटा सामान्य मानिसको जिन्दगीमा असफलता नै असफलता । जसले मानसिक रुपमा उसलाई विक्षिप्त बनाउँछ । बाँच्ने आधार कहीँकतै भेटिदैन । यी सबै घृणा र पीडाको पछाडि समाजको नकारात्मक व्यवहार रहेको नाटकमा उत्कृष्ट रुपमा समावेश गरिएको छ । समाजले नै पर्खाल लगाएको छ तेस्रोलिंगीको जीवनलाई । नाटक हेर्दा पीडा आफैले भोगेको जस्तो महसुस हुन्छ, रोदनले आँखा भरि आँसु भरिन्छन् । 

मानव समाजमा विविधिता छ । विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, परम्परामा भिन्नता छ । मानिसका जीवन जिउने तरिकाहरु पनि फरकफरक छन् । यसलाई स्वभाविक पनि मान्नुपर्छ । तर, यही समाजका अल्प संख्यक मानिसलाई बहुसङ्ख्यकले ओझेलमा पारेको स्थिति छ । तिनीहरुको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई बेवास्ता गरिएको स्थिति छ ।

तिनै ओझेलमा पारिएका अल्प संख्यकमध्ये तेस्रो लिङ्गी पनि एउटा समुदाय हो, जो नारकीय जीवन जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरु सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा केही परिवर्तन नपाएको यो नाटकमा देखाएको छ । समाजले पनि उनीहरुको अस्तित्वमाथि औँला ठड्याइरहेको स्थिति छ । जन्म दिएका बुबाआमाबाट समेत उनीहरु अपहेलित हुनु परेको स्थिति छ । यही कारणले उनीहरु मानसिक रुपमा विक्षिप्त छन् । उनीहरुलाई राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरु पुग्न सकेको छैन । समाजले वास्तविक कुरा बुझ्न सकेको छैन । यो समुदायले आफ्नो पीडा न पचाउन सक्छन् त कसैलाई सुनाएर मन हलुका पार्न सक्छन् । अभिभावकहरु प्नि हिनताबोधमा बाँचिरहेको स्थिति यो नाटकमा देख्न सकिन्छ । यही कथावस्तु बोकेको छ जिउँदो आकाशले । सरल भाषाशैलीमा गहन विचार सम्पे्रषण भएको यो नाटक एक घण्टा १० मिनेटको भएपनि यसले सिङ्गो अल्पसंख्यका तेस्रो लिङ्गी समुदायका समस्यालाई उठान गरेको छ ।

अनिल सुब्बा एक्लैले नाटकमा उत्कृष्ट अभिनय गरेका छन् । आके मेहेता रोशनको निर्देशनमा तयार गरिएको यो नाटक प्रकाश दाहालको संयोजनमा बिर्तामोडमा प्रर्दशन भइरहेको छ । नटकमा पात्रका रुपमा गौरव , गरीमा र रियालाई उभ्याइएको छ ।

छोरा भएर जन्मिएको गौरव विस्तारै गरिमा बन्छे । पछि रियासंग उसको विवाह भएको देखाइएको छ । गौरवको वाल्यकालको भूमिका क्षण भरमै केटा अनि क्षणमै केटीका रुपमा प्रस्तुत गरिएको छ । एक्लै हुँदा केटी बनेर ऐना अगाडि बसेर आफ्नै शरीर नियाल्नु र अरुका अगाडि तुरुन्त केटाको भेषमा आफूलाई ढाल्नु उनको नियति यो नाटकमा देखाइएको छ ।

गौरव कोठाबाट बाहिर निस्कन खोजिरहन्छ । तर सक्तैन । ऊभित्रको गरिमाले उनलाई कोठा बाहिर निस्कन हरदम छेकिरहन्छे । हर प्रयास गर्दा पनि गौरवलाई गरिमाले जित्न सक्तिन, केवल बन्द कोठा शिवाय । नाटकमा गौरवको स्वाभाव अचम्मको छ । नाटक हेरिरहेका दर्शक गौरवलाई देखेर छक्क पर्छन् । छक्क नपरुन् पनि कसरी ? गौरव स्वयम् त आफ्नै इच्छा चाहना देखर अचम्मित हुँदै आएका छन् । उनलाई आमाले छोराकै रुपमा जन्म दिइन् । गौरव हुर्किदै गए । बाबाले आमा र दिदीलाई ल्याइदिएको लाली पाउडर गौरव चोरेर लगाउन थाले । उनलाई आमा र दिदीसँगै बसेकाले रहर लागेको होला भन्ने लाग्यो । उमेर बढ्दै जान्छ । उमेरसँगै लाली पाउडर र जामा लगाउने गौरवको चाहना पनि बढ्दै जान्छ ।

एक दिन गौरवले दीपकलाई भेटे । एक झलकमै दीपक उनको मनमा बसे । संयोग दीपकले पनि गौरवलाई मुटुमा सजाए । दुवैको हित्तचित्त मिल्यो । सम्बन्धमा बाँधिए । घुम्न जान थाले । एकान्तमा समय बिताउन थाले । उमेरको उन्माद, जवानी बिसाए । गौरवमा खुसीको संसार देख्न थाले । सपनाहरु झाँगिएनन् मात्रै, उड्न थाले । गौरवलाई विवाहको ‘प्रेसर’ आउन थाल्यो । गौरवले दीपकसँग घरजमको प्रस्ताव राखे । दीपकले ठाडै अस्वीकार गरिदिए । समाजको नानाथरीको कुरा सुन्नु भन्दा पनि मर्द भएर बाँच्ने बताए । गौरवको सपना एकै पलमा चिसो भयो । दीपकले तिमी पनि घरजम गरेर बस भने । गौरवलाई टेकेको धर्ती भासिए जस्तो र टाउकोमा घनले कसैले बजारे जस्तो अनि संसार निराकार अँध्यारो भएजस्तो लाग्यो ।

गौरव रोए, कराए, लडिबुडी गरे तर उनको कुरा कसैले सुनेन । आमाले पिलपिल आँखाबाट आसु मात्रै झारिन्, बुबा झन् कठोर भएर समाज र इज्जतको कुरा गर्न थाले । बुबाले उनलाई सेनामा भर्ती हुन इलाम पठाए । त्यहाँ उनी छनोटमा सहभागी हुन्छन् । सेनाको उपल्लो तहको हाकिमले गौरवभित्रको गरिमा पत्ता लगाउँछ र एकान्त कोठामा एक्लै बोलाएर बालत्कार गर्छ र फेरि अनुहार नदेखाउन भन्दै लखेट्छ । गौरवको भेट गाडीमा सीमासँग हुन्छ । गाडीको एकै भेटले उनीहरुलाई साथीमा रुपान्तरण गरिदिन्छ । सीमाको साथ लागेर गौरव डान्सबारमा पुग्छन् । त्यहीँ ऊ गरिमा भएर नाच्न थाल्छे । त्यहाँ उनलाई गरिमा… गरिमा…भनेर बोलाउँदा उसको महिला मन आनन्दित भएको हुन्छ ।

गौरवको पारिवारिक दवावले रियासँग विवाह हुन्छ । परिवारलाई समाजको लाञ्छना र तिरस्कारबाट जोगाउन पनि आफ्नो चाहना दवाएर गौरवले विवाह गर्छन । विवाहपछि झन जटिल समस्यामा पर्छन गौरव । श्रीमतीको चाहना पुरा गर्न असफल हुन्छन् । जैविक रुपमा पुरुष भएपनि गौरव भावनात्मक रुपमा महिला हुन्छन् जसका कारण उनको यौन आकर्षण पुरुष प्रति हुन्छ । वाल्यकाल रमाएरै विताए पनि उनका जीवनका प्राय जसो क्षणहरु घृणा, तिरस्कार, लाञ्छना र हिंसाबाटै ग्रसित हुन्छ ।

तेस्रो लिङ्गीको भावना समेटिएको नाटक जिउदो आकाशले ‘प्रकृतिले जे दिन्छ त्यही स्विकार्नुपर्छ,’ भन्ने सन्देश बोकेको छ । तेस्रोलिंगी पनि यही समाजकै मान्छे भएका र उनीहरूलाई मान्छेकै व्यवहार गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्नु पर्नेमा जोड दिएको छ । जिउँदो आकाश भारतको दिल्ली र गुवाहाटीमा मञ्चन समेत भएको छ । आठौं अन्तराष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिभलमा भाग लिइसकेको यो नाटक उत्किृष्ट छ ।

यस्तो उत्कृष्ट नाटकलाई वीरता जेसीजले कला संस्कृतिको विकासमा टेवा पु¥र्याउने हेतुले बिर्तामोडमा प्रर्दशन शुरु गरेको नाटक उद्घाटन समारोहमा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले भनिरहँदा मन नै फुरुङ्ग भयो । आगामी दिनमा पनि हामी दर्शकका लागि मोफसलमा यस्तै उत्कृष्ट नाटक हेर्ने अवसर जुरिरहोस् । sabitab24@gmail.com

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com