विद्यालयका शौचालय जीर्ण

झापा, जेठ । बाह्रदशी गाउँपालिकाको चकचकीमा पर्ने फूलवारी मावि त्यस क्षेत्रकै पुरानो विद्यालय हो । यो विद्यालयमा विद्यार्थीका लागि शौचालय भए पनि प्रयोग गर्न समस्या छ, भएका शौचालयको संरक्षण गर्न नसक्दा तिनीहरु पनि बन्द छन् ।
शिक्षकले प्रयोग गर्दै आएको शौचालय सफा भए पनि विद्यार्थीले प्रयोग गर्ने शौचालय नहुँदा विद्यार्थीलाई समस्या छ । विद्यालयमा शौचालयका चार ब्लक छन् । एउटा ब्लक पुरानो भएको र भत्किइसकेको छ । अर्को ब्लक समेत पुरानो भएको छ । सेफ्टी ट्यांकीको ढक्कन फुटेको छ, बाहिरैबाट दिसा देखिन्छ । सेफ्टी ट्यांकीको ढक्कन फुटेका कारण दुर्गन्ध वाहिरैसम्म आउने गरेको छ ।


फूलवारी माविको मात्रै यो समस्या होइन जनविकास आधारभूत विद्यालयमा पनि शौचालयको समस्या उस्तै छ । विद्यालयमा भएको एकातर्फको शौचालय विद्यार्थीका लागि प्र्रयोग हुन्छ, अर्कोतर्फको शिक्षकका लागि । तीन सय ८२ विद्यार्थीका लागि एउटा शौचालय छ । युरिनल समेत दिसाले भरिएको छ, दिसा गर्ने शौचालय प्रयोगमा नै छैन । प्यान प्लास्टिकका बोतल र ढुंगाले भरिएको छ ।
विद्यालय हाताभित्रै दुईवटा शौचालय निर्माणाधीन अवस्थामा रहेकाले त्यहाँ अध्ययनरत् विद्यार्थी शौच गर्न नजिकैको बाँसझ्याङ जाने गरेका छन् । हुन त बाह्रदशी गाउँपालिकाको चकचकी २०७४ साल माघ २ गते खुल्ला दिसामुक्त घोषणा भयो ।
बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको तयारीमा छ । बुधबार जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको टोली जनविकास आधारभूत विद्यालय पुग्दा प्रधानाध्यापक श्यामनारायण गोश्वामी भेटिएनन् । नयाँ बन्दैछन्, त्यसैले पुरानो फोहर भएको छ– शिक्षक बुधु राजवंशीले भने । राजवंशीले स्पष्टीकरण दिइरहँदा ब्लकमा रहेको शिक्षकहरुको शौचालय भने सफा देखियो । हामीले एक वर्षअघि यहाँ अभिमुखीकरण चलाउँदा यी शौचालय मर्मतसम्भार गरी प्रयोग गर्न सुझाव दिएका थियौं’– सरसफाई अभियानकर्ता किसन गौतम भन्छन्– तर, अहिले आउँदा पूरै भताभुंग भइसकेछन् ।
अर्को दुई वटा शौचालय ब्लक रहेका छन्, जहाँ धारा समेत छ । पुरानो दुई कोठे ब्लकमा रहेका शौचालय प्रयोग भइरहेको देखिन्छ, तर पूरै फोहोर छ । धारामा पानी आउने भए पनि प्यानमा दिसा पखालिएको छैन । छात्राले प्रयोगमा ल्याउने यूरिनलमा बाहिरै समेत पिसाव फेरिएको छ ।
विद्यालयको भौतिक अवस्था सुधारका लागि करोड
बाह्रदशी गाउँपालिकाले चालूआर्थिक वर्षमा मात्र विद्यालयको भौतिक अवस्था सुधार र मर्मतसम्भारका लागि एक करोड रुपैयाँभन्दा बढी बिनियोजन गरेको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । विद्यालयको भौतिक अवस्थामा सुधारका लागि पैसाले मात्र नहुँदोरहेछ, बल लगाउनुपर्ने रहेछ– जिल्लाको अनुगमन टोलीलाई उनले भने– खुल्ला दिसामुक्त गर्नका लागि पनि बल लगाउनुप¥यो । स्कूलको शौचालयको सही प्रयोगका लागि पनि बल लगाउनैपर्ने देखियो । दुई दिनभित्र सम्पूर्ण विद्यालयको अनुगमन गरी त्यसको प्रतिवेदन गाउँपालिकामा पेश गर्नका लागि वडाध्यक्षहरुलाई निर्देशन र जिम्मेवारी दिने पनि अध्यक्ष राजवंशीले बताए । हप्ताको एकपटक सफा गर्न लगाउँछौं, अरु दिन यस्तै हुन्छ– शिक्षक राजवंशीले भने– विद्यार्थी हुन्, भनेर लाग्दैन ।
फूलबारी माध्यमिक विद्यालयको अवस्था भने फरक देखियो । नयाँ बन्दै गरेको भवनको सिंढीमुनिको भागमा शौचाल य बनाइएको छ । तर, त्यसको पनि दुरावस्था छ । शौचालयको माथि पानीको ट्यांकी राखिएको छ । पानी पनि आउँछ, तर कसैले पानी हाल्दैन । शौचालयको बाहिर हात धुन बेसिन राखिएको छ, तर साबुन छैन र त्यसबाहिर झाडी भएकोले साना विद्यार्थी त्यहाँ गएर हात धुन सक्दैनन् ।
विद्यालयभित्र दिसाको व्यवस्थापन हुन सकेको छैन, तर भवनहरुको अगाडि बाँसको घेराबारा लगाएर फूल रोपिएको छ । यो विश्व वातावरण दिवसको दिनमा रोपिएको विरुवा होला– खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्राविधिक रुद्रबहादुर न्यौपानेले भने– वातावरण दिवसको दिनमा विरुवा रोप्न सम्झिने विद्यालयले त्यही दिन राष्ट्रिय सरसफाई सप्ताह समेत हो भन्ने कुरा सम्झिएनछ ।
संस्थागत चिन्तन नै भएन
जिल्लामा खुल्ला दिसामुक्त अभियान जारी छ । गाउँपालिकामात्र होइन, जिल्लाकै सरसफाईको अवस्था ९८ प्रतिशतभन्दा माथि छ, खुल्ला दिसामुक्त अवस्था हासिल गर्ने तयारीमा छ । तर, विद्यालय, स्थानीय निकाय र कार्यालयहरुको सरसफाई सुविधा कमजोर हुनुमा सरसफाईको संस्थागत चिन्तनमै कमी भएको बताउँछन्– अभियानकर्ता गौतम । विद्यालयले विद्यार्थीको मस्तिष्कमा सफाई आफ्नै लागि हो र आफैं गर्नुपर्छ भन्ने घुसाउनै सकेन, न यतातर्फ ध्यान नै दिएको देखियो– उनी भन्छन्– विद्यालय पर्खालले घेरिएको छ, विद्यालय बन्द हुनासाथ गेट बन्द हुन्छ, बाहिरबाट खेल्ने केटाकेटी भित्र प्रवेश गर्न नसक्ने गरी सुरक्षित अवस्थामा रहेको विद्यालय यस्तो हुनु भनेको शिक्षकको दिमागमा सरसफाई नहुनु नै हो ।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य एवम् खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका महासचिव बाबुराम कार्की सरसफाईलाई विद्यालयको पाठ्यक्रममा राखेर मात्र नपुग्ने र यसलाई व्यवहारिक सिकाइको रुपमा अघि बढाउनुपर्ने बताउँछन् ।
जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवम् जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाकी उपाध्यक्ष मीना पराजुली स्थानीय तहले आउँदो वर्षमा सरसफाई तथा स्वच्छता कार्यक्रमलाई अझै व्यापक रुपमा निरन्तरता दिनुपर्ने खाँचो औंल्याइन् । सरसफाईका माध्यमबाट सामाजिक रुपान्तरण गर्ने हो भने कम्तीमा पनि विद्यार्थी र शिक्षकले शौचालयको समुचित प्रयोग गर्ने वानी बसाल्नुपर्छ– उनले भनिन् ।
ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक बिनोद शर्माले आफूले गरेको दिसा पखाल्न नसिकाउने विद्यालयबाट विद्यार्थीले समुन्नत जीवन दर्शन सिक्लान् भन्नु व्यर्थ भएको बताए । शौचालय नभएर दिसा गर्ने ठाउँ खोज्दै हिँड्नुपर्ने विद्यालय र शौचालयमा दिसा पनि गर्न नजान्ने विद्यार्थीबाट कस्तो भविष्यको कल्पना गर्नु ?– उनको प्रश्न छ, यहाँबाट देश हाँक्ने कस्ता कर्णधार जन्मिएलान् ?

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com