ट्राफिक चेकजा“च अब राति पनि

बिर्तामोड, जेठ । ट्राफिक प्रहरीले अब राति पनि सवारी जाँच गर्ने भएको छ ।
यसअघि ट्राफिक प्रहरीले लामो तथा छोटो दुरीका सवारीलाई दिउँसो र साँझ मात्र चेकजाँच गर्दै आएको थियो । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले पूर्वका ६ जिल्लामा राति समेत सवारी चेकजाँच गर्न लागेको हो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा झापाको दमकको विहीवारेबाट रात्री चेकिङ शुरु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईका अनुसार दमक नगरपालिका–४ ताराबारीमा ट्राफिक पोस्ट खडा गरी चेकजाँच शुरु गरिएको छ । योसँगै इलामको रोङ गाउँपालिका–४ जोरकलश, धनुकटाको साँघुरीगढी गाउँपालिका–६ भेडेटार, सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछी, सुनसरीको कोशी गाउँपालिका–७ कटान र सुनसरीकै दुहवी नगरपालिका–५ दुहवीमा चेकपोष्ट खडा गरिएको छ ।
ट्राफिक प्रहरीले लामो तथा छोटो दुरीका यात्रुवाहक सार्वजनिक सवारीमा रहेका यात्रुलाई ट्राफिक नियम सम्बन्धी यात्रुमैत्री प्रवचन दिने, किटेनी चेक प्वाइन्टले लामो दुरीबाट आई ताप्लेजुङ, पाँचथर र इलाम प्रवेश गर्ने यात्रुवाहक, सार्वजनिक सवारीका यात्रुहरुसँग चालक फेरिएको न फेरिएको सोधपुछ गर्ने, चालक नफेर्ने सवारी साधनलाई तत्काल नियम अनुसार कार्वाही गर्ने बताइएको छ । किटेनी चेक प्वाइन्टले सवारी आवगमनमा बाधा नपुग्ने गरी २४सै घण्टा दुवैतर्फ सवारीसाधनलाई समय मिलाई चेकजाँच गर्ने भएको छ । मोटरसाइकल र साना सवारी पनि रातको समयमा चेकिङमा पर्ने भएका छन् ।
दमकको ताराबारी चेकप्वाइन्टले झापाबाट छुट्ने लामो दुरीका यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रु र चालकलाई चेकजाँच गर्दै यात्रुमैत्री प्रवचन दिने भएको छ । तारावारी चेकप्वाइन्टले झापाबाट मोरङ प्रवेश गर्ने सवारी साधन मात्र एकतर्फी चेकजाँच गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com