जेब्रा क्रसमा पनि सुरक्षित छैनन् यात्रु

नरेन्द्र ढकाल

बिर्तामोड । सवारी तथा यातायात व्यवस्था ऐनको धारा १३२ मा जेब्रा क्रसमा सवारी रोक्नुपर्ने स्पष्ट उल्लेख गरिएको छ । नरोके चालकलाई दुई सयदेखि एक हजारसम्म जरिवाना हुन्छ । जेब्रा क्रसमा दुर्घटना नै भए चालकमाथि ज्यानमुद्दा नै लाग्ने व्यवस्था रहेको छ । तर, ऐन कार्यान्वयन हुन सकेको छैन ।

ट्राफिक प्रहरीले जेब्रा क्रसमा लापरवाही गर्ने र गति बढाउने चालकविरुद्ध कारबाही गर्न नसक्दा नै चालकले मनपरी गरेको सर्वसाधारणको भनाई छ । नियमअनुसार चालकले जेब्रा क्रस आउन लागेपछि सवारीको गति घटाउँदै जानुपर्छ र जेब्रा क्रसमा सवारी रोक्नु पर्छ । चालकले जेब्रा क्रसमा पैदलयात्रु नभए पनि सवारीको गति घटाएर दायाँ बायाँ हेरेर मात्र सवारी अघि बढाउनु पर्छ । तर, झापामा भने चालकले जेब्रा क्रसमा पैदलयात्रुले बाटो काट्न लागेको देखे सवारीको गति अझै तीव्र पार्ने र चर्को आवाजमा हर्न बजाउँदै यात्रु तर्साउने गरेको पाइएको छ ।

जथाभावी रुपमा निर्माण गरिएको जेब्रा क्रसका कारण पनि धेरै पैदलयात्री अलमलमा पर्ने गरेका छन् । लेन अनुसार सवारी नचलाउने, जेब्रा क्रसपनि उचित स्थानमा नहुनु तथा चलकलाई जेब्रा क्रसमा रोक्नुपर्छ भन्ने ज्ञान भएपनि हेपाहा प्रवृतिका कारण ट्राफिक प्रहरलिाई हैरानी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सुचना अधिकारी याम खड्काले बताए ।

विभिन्न समयमा ट्राफिक नियमको बारेमा जनचेतना फैल्याएपनि ट्राफिक नियम उल्लघन गर्दा कति न ठूलो भइन्छ भन्ने मानसिकताका कारण ट्राफिक प्रहरीलाई चुनौती थपिएको सुचना अधिकारी खड्काले जानकारी दिए । सडकमा चाप बढ्दा ट्राफिकले हेर्न नभ्याएका बेला चालकले लापरवाही गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए । उनले भने– ’जेब्रा क्रस आउन लागेपछि ब्रेक लगाउनु पर्ने चालकले एक्सिलेटर थिच्छन, त्यसैले नै पैदलयात्रुले जेब्रा क्रसमा समेत ढुक्कसँग बाटो पार गर्न पाउँदैनन् ।’ उनले जेब्रा क्रसमा गति बढाउने चालकले पैदलयात्री हेप्ने बानी परेकाले समस्या बढ्दै गएको उल्लेख गरे ।

मेची अञ्चल अन्र्तगत दर्ताभएका सवारी साधनका साथै भारतीय नम्बर प्लेटका सवारी, तथा कोशी, बागमती लगायतका अञ्चलबाट आउने सवारी चाप पनि झापामा अधिक रहेको प्रहरीले जनाएको छ । बिर्तामोड मेची अञ्चलकै ब्यस्त शहर रहेपनि यहाँ जथाभावी रुपमा राखिएका सामग्रीले ट्राफिक प्रहरीले हैरानी ब्यहोरोको छ । सडकको लेन स्तर भन्दा ठूलो बनाइएको आइल्याण्डका कारण सवारी जाम हुने गरेको छ भने नेपाल विद्युत प्राधिकरणको बिजुलीको पोल तथा नेपाल टेलिकमले सडक किनारमा राखेका संरचनाका कारण पनि दुर्घटनाको जोखिम बढ्दै गएको ट्राफिक प्रहरी प्रमुख राईले बताए ।

बिर्तामोडमा आकाशे पुल निर्माण गर्ने तथा सडक चौडा पार्ने प्रतिबद्धता जनाएका राजनीतिक दलहरुले जनता झुक्याउने काम गरेको स्थानीयको भनाई छ । बिर्तामोडमा मेयर ध्रुवकुमार शिवाकोटीले आकाशे पुल निर्माण गर्ने भन्दै धेरै स्थानमा भाषण गर्दै हिडेका थिए । मेयरमा निर्वाचित भएका एक वर्ष पुग्नै लाग्दा समेत उनले नगरपालिका क्षेत्र भित्रको सडक चौडा पार्ने काममा सिन्को समेत नभाँचेको सर्वसाधारणले आरोप लगाएका छन् ।

थोरै जनशक्तिका बाबजुद पनि सवारी दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरीले उल्लेख्य काम गरेको ट्राफिक प्रहरी निरीक्षक राईको भनाई छ । झपामा जेब्रा क्रसमा सवारीको ठक्करबाट केही महिना अघि एक महिलाको मृत्यु भएको थियो भने केही दिन अघि मात्रै पूर्वाञ्चलकर्मी गोपाल मण्डललाई समेत जेब्रा क्रसमा बाटो काट्दै गर्दा मोटरसाइकलले ठक्कर दिएर घाइते बनाएको थियो ।

यसैबीच २०७४ सालमा नै तत्कालिन संसद्को विकास समितिले काठमाण्डौंका सडकको प्रत्येक १ सय २० मिटर दूरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको थियो । सडक पेटी नभएको ठाउँमा तत्काल निर्माण गर्न पनि निर्देशन दिइएको थियो । झापामा पनि शहरी क्षेत्रमा जिल्ला ट्राफिक प्रहरीले विभिन्न संघसंस्थासंगका हातेमालोमा बेलाबेलामा जेब्रा क्रस बनाउदै आएको छ । सडक डिभिजन कार्यालयले सडकमा जेब्रा क्रस बनाउने पार्ने प्रावधान भएपनि सडक विभाग आफ्नो कर्तब्यबाट विमुख हुने गरेको पाइएको छ ।

जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । जान्ने मानिस नै पैदल यात्रा गर्दा जथाभावी रुपमा बाटो काट्ने गरेको पाइएको हो । सबै ज्ञान भएपनि गन्तब्यमा पुग्ने हतारोका कारण मानिसले नियम र कानुनलाई तत्याउने गरेको पाइएको छ ।

पूर्वका १४ जिल्लामा सवारी दुर्घटनाका कारण १० महिनामा चार सय ४६ जनाले ज्यान गुमाइसकेका छन् भने तीन हजार ८ सय ५९ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com