गर्मीमा पनि विपद्कै चिन्ता

सुरेन्द्र भण्डारी

बिर्तामोड, गतवर्ष साउन २७ गते राति साढे १२ वजे झापा सुरुङ्गाका युवा व्यवसायी शिव कँडेलको मोवाइलमा फोन आयो । शिवजी म बाँचे भने सबै बाँकी तिर्छु, सबैलाई खबर गरिदिनुहोस् उद्धार सामग्री लिएर झापा जाउँ, झापालाई बाढीले लान आँट्यो हामीलाई बचाउनुहोस्– जयनारायण साहले अत्तालिँदै शिव कँडेललाई यसो भनेका थिए ।


साह अहिले झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष छन् । उनको मानसपटलमा विगतको यो कुरा ताजै छन् । आइतवारको उखरमाउलो गर्मीमा पनि उनले गत वर्षको बाढी भुल्न सकेनन् । उनलाई आइतवारको ४१ डीग्री सेल्सियसको गर्मीले कुनै असर गरेन । उनी आइतवार पनि त्यही विषयमा चिन्तित थिए, जुन विषयले उनलाई एक वर्ष अघि पिरोलेको थियो । गत वर्ष आएको वाढीमा परी ११ जनाले अकालमा ज्यान गुमाएको पीडा उनको मानसपटलबाट अझै हटेको छैन । कसरी झापा गाउँपालिकाका बासिन्दालाई बाढीबाट सुरक्षित गर्ने अहिले पनि चिन्तित छन्– गाउँपालिका अध्यक्ष साह ।
गत वर्ष साउन २७ गते बाढी आउँदा उनले सबैभन्दा पहिला सम्झिए देउमान थेवेलाई । त्यसपछि केशवकुमार बुढाथोकी र शिव कँडेललाई । उनले आफू र झापावासीलाई बचाइदिन उनीहरुलाई फोन गरेका थिए । बुढाथोकी र थेवे काठमाडौंमा भएकाले तत्काल सुरक्षित रहन सुझाव दिएका थिए भने शिव कँडेलले आफूसहित उद्धार टोली तत्काल झापा आउने भन्दै सान्त्वना दिएका थिए । बिगत सम्झँदै साहले भने– ‘त्यो बेला मैले शिवजी र रुद्र बजगाँईलाई फोनमा भनेको कुराले अझै पनि मन भक्कानिन्छ । म स्वयम् नै बाँच्छु जस्तो लागेको थिएन् । कसरी अरुलाई बचाउने अत्तालिँदै शिवजीलाई फोनमा भनेको कुराले अहिले पनि झापा गाउँपालिकाका बासिन्दालाई कसरी सुरक्षित गर्ने भन्ने विषयले मलाई पिरोलिरहन्छ ।
गत वर्षको विरीङ र माईखोलामा आएको बाढीले ११ जनाको ज्यान लिएको थियो । त्यस्तै, १४ सय परिवार विस्थापित भएका थिए भने चार सय भन्दाबढी परिवार पूर्णरुपमा विस्थापित भएका थिए । हजारौं विगाह जमिन बगरमा परिणत भएको थियो भने हजारौं विगाह खेतीयोग्य जमिन खोलाधारमा परिणत भएको थियो । विगत वर्ष सम्झँदै अध्यक्ष साहले चालू आर्थिक वर्षको शुरुवातसँगै बाढी नियन्त्रणका लागि तटबन्धनको कामलाई अघि बढाएका थिए । अहिले उनले माई, सानो माई, विरीङ, सुरुङ्गा खोलामा तटबन्धनको काम जारी राखेका छन् ।
बाढीबाट बच्न पूर्व तयारी समेत अपनाएका छन् उनले । जसका लागि गाउँपालिकाबाट विपद् व्यवस्थापनका लागि भन्दै ५० लाख रुपैयाँ छुट्याएर कोष खडा गरेका छन् । जसबाट बोट, लाइफ ज्याकेट, हाते टर्च, डोरी लगायतका अत्यावश्यकीय सामग्री १५ दिनभित्र खरिद गरिसक्ने उनले बताए । विपद् व्यवस्थापनका लागि उनले टोल–टोलमा समिति गठन गर्दै बजेट नै छुट्याएर तटबन्धन गराइरहेका छन् । यस वर्ष बाढीबाट झापाबासीलाई मुक्त गराउनु उनको पहिलो प्राथमिकता रहेको छ ।


चालूआर्थिक वर्षमा नदीको केही भाग तटबन्धन गरिनसक्ने भएकाले अर्को वर्षसम्ममा झापा गाउँपालिकाभित्रको विरीङ, माई र सानो माईको तटवन्धन सकिने भएकाले झापाबासीलाई डुबान र बाढीबाट मुक्त गराउन आफू लागि परेको उनले बताए ।
जनताको तटबन्धनसँग सहकार्य गर्दै उनले अहिले माई खोलामा झण्डै ८० लाख रुपैयाँको लागतमा तटबन्धन गराइरहेका छन् । तटबन्धनको सम्पूर्ण काम सकिन लागेको अध्यक्ष साहले बताए । उनले नेपाल रेडक्रस सोसाइटी, एसएनजेडी, अभियान नेपालसँग समेत साझेदारी गर्दै तटबन्धनको कामलाई अघि बढाएका छन् । विपद् व्यवस्थापन नै मेरो ठूलो चुनौति हो– अध्यक्ष साहले भने– ‘झापाका जनतालाई बाढीबाट मुक्त गर्न सकेँ भनेँ अर्को वर्षदेखि झापामा डुबानको समस्या सायदै नहोला । जनताको तटबन्धनले विरीङ र कनकाईमा थालेको काम सम्पन्न भएसँगै झापाबासी डुबानबाट मुक्त हुन्छन्– अध्यक्ष साहाले भने ।
गाउँपालिकाले अहिले सानो माईको सडकबारी क्षेत्रमा अभियान नेपालसँग सहकार्य गर्दै तटबन्धन गरेको छ । वडा नंं २ मा पर्ने सो ठाउँका लागि अभियान नेपालले साढे चार लाख रुपैयाँ खर्च गरेको र गाउँपालिकाकाले बाँकी रकम निकाल्दै आठ लाख रुपैयाँको लागतमा तटबन्धन गरिएको उनले बताए । वडा नं. २ कै बालुवाटारमा पाँच लाख रुपैयाँको लागतमा तटबन्धन गरेको छ । वडा नं. ७ को पूर्व खोलामा पनि तीन ठाउँमा तटबन्धन भइसकेको छ । यो बाढीको भंगालो पस्ने मुख्य ठाउँ हो । जहाँ गाउँपालिकाले पाँच लाख रुपैयाँभन्दा बढी बजेट छुट्याएर तटबन्धन गरेको छ ।
वडा नं. ६को चप्रामारी पश्चिम पनि तटबन्धन गरिएको छ । यहाँ जनताको तटबन्धनसँग समेत सहकार्य भएको बताइएको छ । गाउँपालिकाले अहिले तटबन्धनसँगै खोलाको धार सोझ्याउने काम समेत गरिरहेको छ । झण्डै २० लाख भन्दाबढीको लागतमा खोलाको धार सम्याउने र तटबन्धनको काम भएकाले यस वर्ष झापामा डुबान कम हुने उनको विश्वास छ ।
गत वर्षको बाढीमा परी करोडौं रुपैयाँको क्षति भए पनि सरकारले बाढी पीडितका लागि ८५ लाखभन्दा बढी राहत पठाएको गाउँपालिकाका कार्यकारी अधिकृत चोलाराज दंगालले बताए । उनले भने– ‘यहाँका बाढी प्रभावित बासिन्दाका लागि आएको राहत रकम हामी वितरण गरिरहेका छौं । गाउँपालिकाको पहिलो प्राथमिकतामा विपद् व्यवस्थापन रहेको र प्रदेश सरकारले समेत विपद् व्यवस्थापनका लागि आठ लाख रुपैयाँ पठाएको छ– उनले भने । जनताको तटबन्धन अन्तर्गत गाउँपालिका–७को कच्चुदहमा २३ सय मिटर तटबन्धन गरिएको छ । यो मदरगाछ पश्चिम माईखोलामा गरिएको तटबन्धन हो ।
‘गत वर्षको बाढी आउँदा म पनि अत्तालिएको थिएँ, झापा सबै डुबेको थियो । भर्खर जनप्रतिनिधिमा निर्वाचित भएकाले मसँग सहयोग माग्नु झापाबासीको लागि नौलो कुरा थिएन । आफै बाँच्ने आशा नरहेपछि मैले मन्त्रीदेखि तत्कालीन पार्टीका क्षेत्रीय सचिव शिव कँडेलसँग हारगुहार गरेको थिएँ’– अध्यक्ष साहले बिगतको वर्ष सम्झदै भने । ‘यस वर्ष झापाका सर्वसाधारणलाई बाढीबाट बचाउन विपद् व्यवस्थापनको पूर्व तयारी गरिसकिएको र टोल–टोलमा समिति गठन गर्दै विपद् व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्री खरिद गरेर हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष साहले बताए ।
गत वर्ष विपद्को समयमा सबैभन्दा पहिला राहत सामग्री बोकेर पुगेका कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेललाई उनले भुलेका छैनन् । कनकाई उद्योग वाणिज्य सँगसँगै विपद्को अवस्थामा सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद ज्ञापन गरेका छन् । ‘पूर्व सूचना प्रणालीको वास्ता नगर्दा दुर्घटना भयो’– अध्यक्ष साहले भने– ‘हामी खोलाधारमा बस्ने मानिसलाई मोबाइलमा एसएमएस आउँदा खासै चासो लागेको थिएन । नेपाल रेडक्रस सोसाइटीले राखेको पूर्व सूचना प्रणालीले साँझबाटै पानीको सतह बढेको संकेत दिइरहेको थियो । मैले त वास्ता गरिनँ, अरुले पनि वास्ता नगर्दा ठूलो दुर्घटना भयो ।’
‘पूर्व सूचना प्रणालीले पानीको सतह बढेर सूचना प्रणाली प्रदान गर्ने मेसिन नबगाउञ्जेल सूचना दिएकै थियो– उनले भने – खोलाधारमा भएका हामीले नै वास्ता नगर्दा झापाबासीले सास्ती खेप्नुपरेको हो ।’ अध्यक्ष साहले यो वर्ष पनि बगाएको सूचना प्रदायक मेसिन रेडक्रस सोसाइटीले जडान गरिसकेको बताउँदै विपद्को बेला दिएको सूचनालाई आधार मान्दै सबै झापावासीलाई सुरक्षित रहन म सबैलाई आग्रह गर्छु ।’

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com