अर्जुनधारा– ३ मा विकास निर्माण धमाधम

४ असार २०७५, सोमबार मा प्रकाशित

अर्जुनधारा, झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. ३ ले यस आर्थिक वर्षको वजेट अन्तर्गतका योजनाहरुको काम ९५ प्रतिशत सम्पन्न गरेको छ ।
नगरपालिकाबाट प्राप्त बजेट एक करोडमध्ये ७० लाख रुपैयाँको बजेट विभिन्न नदि नियन्त्रण, सडक, शिक्षा, मठ मन्दिर, पर्यटन, विपद् ब्यवस्थापन, मर्मत सम्भार, खोला तटबन्धन, स्वास्थ्य, आयआर्जन र क्षमता अभिबृद्धिमा खर्च गरेको छ भने बाँकी ३० लाख रुपैयाँ अन्तर्गत खोला खोल्सा गरी तीन स्थानमा कल्भर्ट निर्माण गरिएको छ ।
तीन वटा कल्भर्ट निर्माणका लागि छुट्टिएको ३० लाख रुपैयाँ बजेट अन्तर्गत अमरडाँगी चर्च अगाडिको कल्भर्ट निर्माणका लागि वडाबाट १२ लाख रुपैयाँ र स्थानीयको २५ प्रतिशत लागत सहभागिता गरी कूल १४ लाख रुपैयाँमा निर्माण भएको छ । त्यसैगरी ढुंगे खोल्सी कल्भर्ट वडाबाट १० लाख रुपैयाँ र स्थानीयको २५ प्रतिशत लागत सहभागितामा काम सम्पन्न भएको छ । त्यस्तै कुसुमे होली कल्भर्ट निर्माणमा १२ लाख रुपैयाँ खर्च भएको छ ।
वडाको सडक विस्तारका लागि सडक वोर्डबाट प्राप्त ३५ लाख रुपैयाँ र स्थानीय उपभोक्ताको १० लाख ५० हजार रुपैयाँको लागत सहभागितामा लिङ्देन चोकबाट गरुवा चोक हुँदै जुकेखाडी सामुदायिक वन र धर्धरे खोल्सीबाट गणेशचोकसम्म जम्मा सात किलोमिटर बाटो स्तरोन्नतीको काम पनि सम्पन्न भएको छ । जल उत्पन्न प्रकोप डिभिजन कार्यालय गैँडेबाट टाङ्टिङ खोलामा बाँध बाँध्न अर्थात् स्पोर निर्माण गरी नदी नियन्त्रणका लागि १५ लाख रुपैयाँ र सुखानी खोलामा सोही कामका लागि १० लाख रुपैयाँको काम सम्पन्न भएको छ ।
वडाको हाट बजार ब्यवस्थापनका लागि १७ वटा सब्जी स्टल निर्माण, पिउने पानि ब्यवस्थापनका लागि इनार निर्माणमा वडाको बजेट ७ लाख रुपैयाँ र स्थानीय उपभोक्ताबाट २५ प्रतिशत लागत सहभागितामा काम सम्पन्न भएको छ । त्यसैगरी कैदले वनमा मलामी टहरो निर्माणका लागि नगरपालिकाबाट प्राप्त रकम आठ लाख रुपैयाँ र जेकेखाडी सामुदायिक वनको छ लाख रुपैयाँको लागत सहभागितामा निर्माण सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. ३ ले लक्षित वर्गका लागि एक लाख रुपैयाँबाट २५ वटा बंगुरका पाठा वितरण, जनता मावि खुदुनाबारीमा अतिरिक्त बजेट १२ लाख रुपैयाँ भवन निर्माणका लागि प्रदान गरेको छ । त्यस्तै जुकेखाडीमा रहेको भानु निमावि लाई तीन लाख रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष जीवकुमार भण्डारीले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here