न्यूट्न्सका विद्यार्थीको उदाहरणीय काम

बिर्तामोड, झमककुमारी घिमिरे सिंगो नेपाली महिला जगतकै नक्षत्र हुन् । न उनको खुट्टा टेकिन्थ्यो, न त हात नै चल्थ्यो, न मुख बोल्थ्यो, न त आँखाले राम्रो देख्थ्यो, भाइबहिनीले पढेको देखेर र सुनेर खुट्टाका औंलाले धुलोमा अक्षर लेख्न सिकेकी नेपाली साहित्यकार झमकले केयू (काठमाडौं विश्व विद्यालय)बाट मानार्थ विद्यावारिधि हासिल गरिसकेकी छन् ।


जन्मैदेखि शारीरिक रुपमा अशक्त घिमिरेले आफ्नो आत्मबलको आधारमा अपाङ्गतालाई जितेर, लेखपढ गर्न सिकेर ११ वटा कृति प्रकाशित गरिसकेकी छिन् भने उनको ‘जीवन कांडा कि फूल’ कृतिले मदन पुरस्कार समेत प्राप्त गरेको छ ।
उनै साहित्यकार झमकको जन्मोत्सवको अवसर पारेर झापाको बिर्तामोड–६ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमीमा अध्ययनरत बिद्यार्थीले सुस्तश्रवण भएका २२ जना विद्यार्थीका लागि भान्सामा प्रयोग हुने डाइनिङ टेवल सेट प्रदान गरेका छन् ।
बिर्तामोड नगरपालिका–२मा रहेको मोहनमाया माविमा अध्ययनरत् विशेष कक्षाका विद्यार्थीलाई झमकको जन्मदिन पारेर दुई सेट डाइनिङ टेवल प्रदान गरेका हुन् । एक वर्ष अघि सेवा र सहयोग गर्ने उद्देश्यले स्थापना गरेको ‘सोसियल क्लव’ ले विद्यार्थीहरुको जन्म दिनमा गरिने खर्च, खाजा खर्चबाट बचत गरेर जम्मा गरेको रकमले डाइनिङ टेवल सेट खरिद गर्दै प्रदान गरेको सोसियल क्लवकी अध्यक्ष थोहाङ्ग चेम्जोङले बताइन् ।
चेम्जोङको अध्यक्षताको सोसियल क्लवमा माधवकुमार झा सचिव रहेका छन् भने समृद्धि गिरी, वर्षा वान्तवा, श्रुतिका घिमिरे, रोहन न्यौपाने, युक्तेन लिम्बू, शुभम् शिवाकोटी, नवीना गिरी, आश्रव सेढाई, सावित्रा न्यौपाने सदस्य रहेका छन् । विद्यार्थीले डाइनिङ टेवल सेट विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशी, प्रधानाध्यापक शेरबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
सो समारोहमा न्युट्न्स एजुकेशन एकाडेमीका को–अर्डिनेटर देवेन्द्र हुमागाँईले सोसियल क्लवबाट विद्यार्थीहरुले उक्त सामग्री खरिद गरेको बताउँदै विद्यालयको तर्फबाट पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । उनले मोहनमायामा भएका २२ जना विशेष कक्षाका विद्यार्थीलाई डाइनिङ टेवलमा बसेर सहजतापूर्वक खाना खान मद्दत पुगोस् भन्दै आगामी दिनमा पनि विद्यालयले थप सहयोग गर्ने बताए । विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको हुमागाँईले बताए ।
सो समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका अध्यक्ष समाजसेवी देवी गिरीले आगामी दिनमा विद्यालयलाई थप सहयोग गर्ने बताए । कार्यक्रममा सोसियल क्लवकी संयोजक शिक्षक मिनु शिवाकोटीले विद्यार्थीहरुलाई कितावी ज्ञानसंगै व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम गरिएको बताइन् ।
कार्यक्रममा मोहनमाया माविका प्रधानाध्यापक श्रेष्ठले न्यूटनका विद्यार्थीले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भवानी राजवंशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com