अब टोल–टोलमा प्रहरी

भद्रपुर, ‘शान्ति सुरक्षा र सुशासन जनमैत्री प्रहरी, प्रशासन’ भन्ने मूल नाराका साथ झापा जिल्लाभरिका टोल÷टोलमा नेपाल प्रहरी परिचालन गर्न लागिएको छ ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले झापाका १५ वटा स्थानीय तहका १३१ वडाको टोल÷टोलमा ३ सय ४७ जना नेपाल प्रहरी परिचालन गर्न लागेको हो ।
यस अभियान अन्तर्गत प्रहरी कार्यालय झापाले शुक्रवार सदरमुकाम भद्रपुर नगरपालिकाबाट टोल टोलमा प्रहरी परिचालन गर्ने अभियानको शुरुवात गरेको छ । भद्रपुर नगरको १० वडालाई ३० वटा टोलमा विभाजन गरी एउटा वडामा ३÷३ जना प्रहरीको दरले ३० जना प्रहरी परिचालन गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बिष्णकुमार केसीले जानकारी दिए । नाम र फोन नम्बरसहितको पत्र बनाइ प्रहरी परिचालन गरेसँगै झापामा यो अभियान शुरु भएको उनले बताए ।
सामुदायिक प्रहरी सेवा अन्तर्गत रहेको यस अभियानमा झापाका ८ नगरपालिकाको हकमा एउटा वडा बराबर तीन प्रहरी र गाउँपालिकाको हकमा एउटा वडा बराबर दुई प्रहरी परिचालन गर्ने गृह मन्त्रलायको नीति रहेको छ । सोही नीति अनुसार एक साताभित्र झापाभरिका प्रत्येक वडाका टोल–टोलमा प्रहरी खटिने प्रहरी उपरीक्षक केसीले बताए । यस अभियानमा सम्बन्धित तहका इलाका, वडा, सीमा तथा चौकी प्रहरी कार्यालयले सहजीकरण गर्नेछ ।
समाजमा हुने अपराधलाई न्यूनीकरण गर्दै प्रहरी र जनताबीचको सम्वन्धलाई अझ सुधारोन्मुख बनाउने गृहको नीति रहेको उनले बताए । उनका अनुसार टोल–टोलमा खटिने प्रहरीले नागरिकको घरदैलोमा पुगी सुरक्षा सतर्कता तथा सचेतना बढाउने, अपराध रोकथाममा सहयोग पुर्याउने, प्रहरी सेवा र सम्पर्क नम्बरसहितको जानकारी प्रवाह गर्नेछ ।
यता अभियानको शुरुवातसँगै गरिएको अन्तरिक्रया कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव इन्द्रप्रसाद ओली, वडाध्यक्ष बिनोद पोखरेल, देवेन्द्र गौतम, रुद्र निरौला लगायतले सामाजिक अपराध न्यूनीकरणमा स्थानीय प्रहरी तथा जनप्रतिनिधिहरुले वेवास्ता गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com