जामुनखाडीमा मिनी ट्रेन

सुरुङ्गा, जामुनाबारी सामुदायिक वन अन्तर्गतको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा बालबालिकाको लागि मिनी ट्रेन सञ्चालन गरिने भएको छ ।


बाल उद्यानलाई थप आकर्षक र व्यवस्थित बनाउन जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र व्यवस्थापन समितिले यस्तो कार्ययोजना अघि बढाएको हो । बाल उद्यानमा हाल रहेका सुविधालाई थप स्तरीय बनाउने र फूलबारीलाई अझ आकर्षक बनाइने बाल उद्यान व्यवस्थापन समितिका संयोजक जामुनाबारी सामुदायिक वन समूहका उपाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।
स्लाइडिङ तथा पिङलाई थप व्यवस्थित र स्तरीय बनाउने र बालबालिकाको माग अनुसार मिनी ट्रेन थप गर्ने उपाध्यक्ष श्रेष्ठले बताए । आवश्यक सामग्री खरिदका लागि सार्वजनिक सूचना गरिसकिएको र समिति उक्त कार्ययोजना यथाशीघ्र सम्पन्न गर्न लागेको उनले बताए ।
नेपालको पूर्वको फेवाताल भनेर परिचित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र नौजवान, पाका र अधबैंसेका लागि मात्र नभएर बालबालिकाका लागि पनि आकर्षणको केन्द्र बन्दै आएको र हरेक विदाका दिन विभिन्न विद्यालयबाट विद्यालयकै पहलमा सामूहिक रुपमा विद्यार्थीहरु घुमफिरका लागि आउने गरेका वन समूहकी सचिव मनिता राईले जानकारी दिइन् । बालउद्यानलाई थप व्यवस्थित गर्ने कार्ययोजना कनकाई नगरपालिकासँगको साझेदारीमा अघि बढाउन लागिएको कार्यालय सचिव अम्बर चौहानले जानकारी दिए ।
२०५२ सालमा स्थापित जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहले अध्ययन तथा पर्या–पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरी जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र बनाइएपछि यस क्षेत्रको प्रसिद्धि ह्वात्तै बढेको हो । २०७२ सालमा नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयबाट गणेशमासिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बाट २०७३ सालमा प्रकृति संरक्षण पुरस्कार प्राप्त गरिसकेको उक्त वन समूह नयाँ नयाँ कार्ययोजनासहित अघि बढिरहेको स्थानीय शिवकुमार गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com