धिमे बाजा र बासुरीको संरक्षण गर्दै नेवार समुदाय

बिर्तामोड, जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो– नेवार । तर, पछिल्लो समय यही समुदयमा भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।
नेवार समुदायको भाषा र संस्कृति काठमाडौं उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर रहेका नेवार समुदायमा आफ्नै भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देयः दवुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताए । काठमाडौं उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ– अध्यक्ष ताम्राकारले भने– ‘तर उपत्यका बाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।’

 

देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएपछि झापामा बसोवास गर्ने नेवार समुदाय भने आफ्नो भाषा र संस्कृति संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि जिल्लाका विभिन्न ठाउँमा नेवार समुदाय यतिवेला धिमे वाजा संरक्षणमा जुटेको छ । योसँगै नेवार समुदाय भित्रै रहेका युवालाई बाँसुरी वादन सम्बन्धि प्रशिक्षण प्रदान गरिँदैछ ।
‘धिमे बाजा’ नेवार समुदायमा शोक बाहेक अन्य सवै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नहुँदा यो वाजा लोपोन्मुख अवस्थामा पुगेपछि नेवाः देयः दवुले वाजाको संरक्षण थालेको हो । तीन सय ६५ दिनमा ३६६ वटा पर्व हुने समुदायका रुपमा परिचित नेवार समुदायले समयमै भाषा र संस्कृतिको संरक्षणमा गर्न शुरु नगरे आफ्नै भाषा र संस्कृति लोप हुने खतरा देखिएको स्वयम् नेवार समुदायका अगुवाहरु बताउँछन् ।
नेवार समुदायको संस्कृतिले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको नेवाः देयः दवुका केन्द्रीय अध्यक्ष ताम्राकारको भनाइ छ । युवापुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो अहिले धेरै राम्रो काम भएको छ– उनले भने – ‘युवापुस्तामा पश्चिमी संस्कृतिको प्रभाव पर्दा आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा झापावासीको यो उत्साह अनुकरणीय छ ।’
‘धिमे बाजा’ नेवारको विभिन्न चाडपर्वमा बजाउने चलन छ । नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रा लगायत पर्वमा धिमे बजाउने गर्दछन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक पक्ष हस्तान्तरण हुन नसक्दा संस्कृति लोप हुने अवस्थामा पुगेकाले धिमेबाजा संरक्षणमा झापाका नेवार समुदाय लागीपरेको नेवाः देय दवुका बिर्तामोड नगरसमिति सचिव ओमप्रकाश श्रेष्ठले बताए ।
खासगरी धिमे र बाँसुरी पहिले ज्यापू समुदायका पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको प्रशिक्षक कृष महर्जनले बताए । उनले भने – ‘अहिले झापाको बिर्तामोड, मेचीनगर लगायतका स्थानमा यो वाजा सम्वन्धी प्रशिक्षण भइरहेको छ, जहाँ युवतीको पनि उत्साह जनक सहभागिता छ ।’
नेवारी समुदायमा बौयागु ख्वाःस्वयगु, मांयागु ख्वाः स्वयगु, देगु पूजा, गुँ पुन्ही, यँन्यापून्ही, चथा, मोहनी, स्वन्ति, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा नेवारहरूले मौलिक बाजा बजाउँछन् ।
लोकप्रिय रहेको धिमय् (धिमे) बाजा, रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौं उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ । धिमय् राईहरूको च्याबु्रङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ । नयाँ वर्ष, ¥याली, गुठीको भोज तथा नास पूजा गर्ने बेलामा धिमे बाजा बजाइन्छ ।
सिपालु सेविका
बिर्तामोड–५ निवासी सेविका श्रेष्ठ अहिले धिमे बाजा बजाउन पोख्त भएकी छिन् । उनले दुई महिना लगाएर यो बाजा बजाउन सिकेकी हुन् । नेवाः देयः दवु बिर्तामोड नगर समितिले नेवा कला, संस्कृति र सिप संरक्षणका लागि भन्दै आयोजना गरेको दुई महिने तालिममा सहभागी भएर उनले यो बाजा बजाउन सिकेकी हुन् ।
खासगरी नेवार समुदायमा यो वाजा पुरुषले मात्र बजाउनु पर्छ भन्ने मान्यता छ । तर, सेविकाले आफैं आग्रसर हुँदै यो वाजा बजाउन सिकेकी हुन् । उनी अहिले नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै धिमे बाजा बजाउन सिपालु भइसकेकी छिन् । एसईई परीक्षा दिएर खाली समयमा आफूले यो बाजा बजाउन सिकेको उनको भनाइ छ । उनी भन्छिन्– काठमाडौं उपत्यकामा मात्रै यो बाजा बजाइन्छ, तर झापामा यो बाजा नबजाइने भएकाले आफ्नो संस्कार संस्कृतिको संरक्षणका लागि पनि मैले धिमे बाजा बजाउन सिकेकी हुँ ।
उनी मात्रै होइन उनीसँगै बिर्तामोड नगरपालिका–९ निवासी योजना श्रेष्ठले पनि यो बाजा बजाउन सिकेकी छन् । उनी वीवीएस दोस्रो वर्षकी विद्यार्थी हुन् । उनलाई आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्ने औधि रुची छ । आफूमा भाषा र संस्कृतिको संरक्षण र सम्र्वद्धन गर्नुपर्छ भन्ने भावना जागृत भएकाले आफूले धिमे बाजा बजाउने तालिम लिएको उनले बताइन् ।
प्रणेश श्रेष्ठ विर्तामोड–४का युवा हुन् । उनले पनि धिमे बाजा बजाउन सिकेका छन् । नेवार समुदायमा कला र संस्कृति लोप हुँदै गएको भन्दै कला र संस्कृति संरक्षणका लागि उनले पनि यो वाजा बजाउन सिकेका हुन् । शुरु–शुरुमा धिमे वाजा बजाउन असहज भए पनि उनी अहिले सहज रुपमा यो वाजा बजाउन सक्ने भएका छन् । विद्यालयमा विभिन्न जातजातिका धर्म, संस्कृति, कलकौशल र सिपका विषयमा कितावी ज्ञान लिए पनि व्यवहारिक ज्ञान नभएका कारण आफ्नै संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले आफ्नो मौलिक पहिचान कायम गर्न आफूले धिमे बाजा बजाउन सिकेको उनको भनाइ छ ।
धिमे बाजा वजाउन सिक्ने सेविका, योजना र प्रणेश प्रतिनिधि मात्रै हुन् । उनीहरु जस्ता धेरै युवाले अहिले यो वाजा बनाउन सिकेका छन् । जसका कारण झापामा धिमे बाजा बजाउनेको कमी नहुने प्रशिक्षक कृषले बताए । उनले भने– ‘अहिले हामीले झापाका विभिन्न ठाउँमा यो बाजा बजाउन प्रशिक्षण दिइरहेका छौं, युवा पुस्ताको उल्लेख्य सहभागिताले गर्दा केही समयपछि झापामा धिमे बाजा बजाउनेको कमी हुने छैन ।’

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com